पोखराको पेट्रोलियम भण्डारण केन्द्र देशकै नमूना केन्द्र हुनेछ : महाप्रबन्धक पौडेल (पूर्णपाठ)

लोकपाटी न्यूज

काठमाडौं। नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृहको शिलान्यास गरिएको छ। निगमले सातै प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने प्रक्रियास्वरूप आज पोखरामा पेट्रोलियम भण्डारण गृहको शिलान्यास गरिएको हो।

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाको रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि सुरु गरिएको निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए। उनले भने, ‘२०५८ सालपछि हामीले क्षमता विस्तारको काम हुन सकेको थिएन। यो सुरुवातलाई हामीले १९ वर्षपछिको निरन्तरताको रुपमा समेत हेरेका छौं। यो योजना २०५८ सालपछि निगमको आफ्नै लगानीमा भएको पहिलो योजना समेत हो।’

यसको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने उनले विश्वास गरे। अहिले देशैभरि पेट्रोलियम पदार्थको खपत बढ्दो क्रममा रहेकोले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन आवश्यक रहेको पौडेलले बताए। उनले पोखराको पेट्रोलियम भण्डारण केन्द्र देशकै नमूना केन्द्र हुने बताए।

उनले भने, ‘यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ। प्रदेशको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कुनै कारणले अवरोध भए प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्छ। नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा ३० दिनको डिजेल र १२ दिनको पेट्रोलको माग धान्ने प्रक्षेपण गरेका छौं।’

यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित डिजल लोड तथा अनलोड सेवा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा बनाइने योजना रहेको उनले सुनाए। डिपो भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागी, आपतकालिन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकिकृत रिमोट नियन्त्तण लगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान गरिने पौडेलले बताए।

उक्त परियोजनाले राजधानिको ब्याकअपको रुपमा पोखरा डिपोले काम गर्नुका साथै गण्डकी प्रदेशलगायत सबै प्रदेशको आपूर्ति व्यवस्था सहज बनाउनु मुख्य योजना रहेको उनले बताए। विशेषगरि ढुवानीमा हुँदै आएको चुहावटलार्इ नियन्त्रण गर्न हाल सञ्चालनमा ल्याइएको लकिङ् सिस्टमलार्इ इ-लकिङमा रुपान्त्रण गर्न, म्यानुअल ढंगबाट हुँदै आएको डिपो अपरेसनका साथै कर्मचारी व्यवस्थापनदेखी लेखा प्रणाली समेत डिजिटाइजेसन गर्नुपर्ने योजना अघि बढाइएका निगमले जनाएको छ।

पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत पाँच हजार/पाँच हजार किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क निर्माण गरिने छ। ७७ करोड ७७ लाख (भूल्य अभिवृद्धि करबाहेक) को लगानीमा ट्याङ्की निर्माण गर्न लागिएको उनले जानकारी दिए। आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि तोकिएको समयअगावै आयोजना सम्पन्न हुने बताइएको छ। यो नेपालकै दोस्रो ठूलो भण्डारण गृह हुनेछ।

सम्बोधनको पूर्णपाठ

नेपाल आयल निगमले गण्डकी प्रादेशिक कार्यालयबाट भण्डारण क्षमता विस्तारको सुरुवात गरेको छ । नेपाल सरकारले लिएको पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिको लक्ष्यलाई पूरा गर्ने अभियानको रुपमा हामीले गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकाको वडा नम्बर २९ र ३० मा पर्ने आफ्नै स्वामित्वको जग्गामा १ करोड लिटर क्षमताको अत्याधुनिक डिपोको निर्माण सुरु गरेका हौं । ठेक्का प्रक्रिया टुंगिएको र साइट क्लियरिङ समेत भइसकेकोले माननीय मन्त्रीज्यूबाट शिलान्यास गर्नुभएपछि अब डिपो निर्माणले तीव्रता पाउनेछ ।

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाको रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि हामीले सुरु गरेका हौं । २०५८ सालपछि हामीले क्षमता विस्तारको काम हुन सकेको थिएन । यो सुरुवातलाई हामीले १९ वर्षपछिको निरन्तरताको रुपमा समेत हेरेका छौं । यो योजना २०५८ सालपछि निगमको आफ्नै लगानीमा भएको पहिलो योजना समेत हो ।

यो डिपो अमलेखगञ्जपछिकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह हो । यसको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने विश्वास गरेका छौं । यो डिपो हामीले चितवनको लोथरमा बन्ने ब्लक भण्डारण गृहको सप्लाइ चेनको रुपमा समेत हेरेका छौं ।

अहिले देशैभरि पेट्रोलियम पदार्थको खपत बढ्दो क्रममा छ । यस्तै अवस्था गण्डकी प्रदेशमा समेत छ । गण्डकी प्रदेशमा अहिले हरेक दिन ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्री भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । प्रदेशको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कुनै कारणले अवरोध भए प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्छ । नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा ३० दिनको डिजेल र १२ दिनको पेट्रोलको माग धान्ने प्रक्षेपण गरेका छौं ।

यो डिपो निर्माणको लागि हामीले अहिले हाम्रै स्वामित्वमा रहेको जमिनको प्रयोग गरेका छौं । गोगनगौंडाको ७७ रोपनी जमिनलाई नै व्यवस्थापन गरेर यो डिपो निर्माण गर्न लागेकोले यसले निगमको दुई अर्ब खर्च बचत भएको छ ।
अहिलेको डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । यो भण्डारण गृहको निर्माणका लागि सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ । परियोजनाअन्तर्गत हालको डिपो हातामा ५० लाख लिटर क्षमताका दुईवटा ठूला डिजेल भण्डारण ट्याङ्क, एउटा नयाँ पहुँच सडक, २ लाख लिटर क्षमताको पानी भण्डारण ट्याङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि पनि नयाँ संरचना निर्माण गरिनेछ ।

इन्धन भण्डारण ट्याङ्क र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटेड हुनेछन् । डिजेल लोड तथा अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुनेछन् ।

डिपोको भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीको कार्य पनि यही परियोजनाकै सिलसिलामा हुनेछ । नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याकंरले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । ट्याङ्कर अनलोडका लागि प्रतिघण्टा १ सय २० किलोलिटर क्षमताका पाँचवटा पम्प जडान गरिनेछ । चारवटा नयाँ ‘वे’ पनि सञ्चालन हुनेछन् । भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागीलगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान हुनेछ । आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकीकृत रिमोट कन्ट्रोल प्रविधि डिपोमा हुनेछ । कुनै पनि कारणबाट डिपोमा आगो लागेको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा हुनेछ । ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसका लागि प्रयोग हुनेछ ।

परियोजना सम्पन्न भएपछि काठमाडौंको ब्याकअपको रुपमा पनि पोखरा डिपोले काम गर्नेछ भने गण्डकी प्रदेशमा पेट्रोलियम वितरणको संरचनासमेत ठूलो सुधार अपेक्षा गरेका छौं ।

हामीले गण्डकी प्रदेशजस्तै सबै प्रदेशको आपूर्ति व्यवस्था सहज बनाउनु पर्नेछ । भैरहवामा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थलको डिपोदेखि लोथरको बल्क डिपोको निर्माणलाई हामीले पूरा गर्नु पर्नेछ । सँगसँगै ढुवानी व्यवस्थालाई सहज र सस्तो बनाउन पेट्रोलियम पाइपलाइनको विस्तार कार्यलाई पनि अघि बढाउनु पर्नेछ । हामीले ढुवानीमा हुँदै आएको चुहावटलाई नियन्त्रण गर्न हाल सञ्चालनमा ल्याइएको लकिङ सिस्टमलाई इ–लकिङमा रुपान्तरण गर्नुपर्नेछ । म्यानुअल ढंगबाट हुँदै आएको डिपो अपरेसनमा पनि डिजिटाइजेसन गर्नुपर्नेछ । कर्मचारी व्यवस्थापनदेखि लेखा प्रणाली व्यवस्थापन समेत अब म्यानुअल ढंगबाट सञ्चालन हुन सक्दैन, डिजिटाइजेसनमा जानैपर्छ । यसका लागि हामीले अहिले इन्टरप्राइज रिसोर्स प्लान (ईआरपी) लागु गर्ने प्रक्रिया पनि अघि बढाइएको छ । यसलाई निष्कर्षमा पुर्याउने जिम्मेवारी समेत छ । यी सबै योजनाहरु हामीले उपभोक्ताको सर्वोपरी हितका लागि अघि बढाइएका हुन् ।

अन्त्यमा, निगमले ल्याएको योजनालाई साथ दिने र सहयोग गर्ने माननीय मन्त्रीज्यू, श्रीमान सतिवज्यू लगायत मन्त्रालयका अधिकारीहरु, निगम सञ्चालक समितिका सबै सदस्यहरु, कर्मचारी तथा मिडियाकर्मी तथा आम सर्वसाधारण नागरिकलाई धन्यवाद ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्