प्रकाश दाहाल : स्मरण र अनुभूति

prakash dahal-1
सीपि सापकोटा बसन्त

स्वर्गीय कमरेड प्रकाश दाहाल
बेला बेला तपाईंलाई सम्झिरहेको हुन्छु! दुःख लाग्छ
मैले अझै सम्म कमरेड प्रचण्डलाई भेट्न पाएको छैन। स्वर्गीय प्रकाश दाहालको सबै भन्दा कमी सायद कमरेड प्रचण्डलाई पनि भएको होला। मलाई त्यस्तो लाग्छ।

बाहिर कमरेड प्रकाशबारे आम धारणा गलत बसाल्न कैयौँ प्रयासहरू भएका थिए। पार्टी विभाजन ताका व्यक्तिगत रूपमा मलाई प्रचण्ड कमजोर बन्दै गर्दा भन्दा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक व्यवस्था कमजोर हुन्छ कि भन्ने चिन्ता लाग्थ्यो। दशैं वर्ष संगठनमा इमान्दार भएर काम गरेको भएर होला माओवादी आन्दोलन र नेतृत्व गर्ने प्रचण्ड प्रति धेरै सम्मान जागेर आउँथ्यो।

अहिले पनि नेकपाभित्र देखिएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका नेताहरु त्यसरी नै प्रस्तुत भइरहेका छन्। जसरी युद्धकाल र शान्ति प्रक्रिया लगत्तै उनीहरू माओवादी बिरुद्दमा प्रस्तुत हुन्थे। सामन्ती व्यवस्थाको अन्त्यको लागि सशत्र युद्ध (महान जनयुद्ध)मा ज्यान गुमाउने १७००० जनताको ट्याग माओवादीलाई लगाएर केपी समूह अन लाइन पोर्टलमार्फत् सामाजिक मनोविज्ञान भड्काउने प्रयासमा देखिन्छन्।

त्यसैले पनि अहिले मलाई के लाग्छ भने कमरेड प्रचण्डलाई सबै भन्दा ठूलो कमी भएको भनेको आफ्नै पुत्र प्रकाश हुन जसले प्राविधिक रूपमा व्यवस्थापन गरेर प्रचण्डलाई सहजीकरण गर्नु हुन्थ्यो।

मलाई लाग्छ कमरेड प्रकाशसँग भेट हुन पाएको भए निस्वार्थ भावनाले मैले धेरै कुरामा सुझाव सल्लाह दिन सक्थें। मैले नयाँ जेनेरेशनलाई प्रचण्ड र माओवादी आन्दोलनको प्रभावबारे उहाको टिम मार्फत सुसूचित गराउने अभियानमा सानो योगदान गर्न सक्थेँ। तर न प्रकाश सँग साक्षात भेट भयो, न मैले कमरेड प्रचण्डलाई भेट्ने अवसर पाएँ।

व्यक्तिगत रूपमा लिनु दिनु केही थिएन तर अझै पनि कमरेड प्रचण्डको कद , मान, सम्मान र योगदान घटाउन लागि पर्नेहरू देख्दा र पार्टी कमिटी निष्क्रिय देख्दा कमरेड प्रकाशको सम्झना धेरै आउँछ।

त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गरेर निस्किनु भएका एकजना डाः प्राध्यापकले,(“प्रचण्ड र माओवादी आन्दोलनको सही तरिकाले सैद्धान्तिक व्याख्या गरिएन जसले गर्दा प्रचण्ड र माओवादी आन्दोलनलाई दिनानुदिन कमजोर हुँदै गएको भान हुन्छ“ भनेर भन्नु भएको थियो। मलाई गहिरो सँग यो कुरा बोध भएको थियो र यसको लागि कमरेड प्रचण्डलाई घेरा हालेर जनता सँगको कनेक्सन टुटाउने माओवादी कै नेताहरु देख्दा सार्है दुःख लाग्छ। अझ यो बेला केपी ओलीले गणतन्त्र नै सिध्याउने गरी कदम चालिरहेको बेला खुलेर केपी ओलीलाई साथ दिन त्यही कित्तामा उभिने पुराना माओवादी नेताहरु देख्दा दया लागेर आउछ। यो बेला प्रकाश भएको भए सायद अन्तरविरोध हल गर्न सही सुझाव र सचेत योगदान गर्नु हुन्थ्यो होला।

मैले राजनीतिक सहयात्री कमरेड बाबुराम, वैध र विप्लप को कमी पनि देख्दछु तर मलाई आज नितान्त व्यक्तिगत रूपमा उहाँसँग सम्बन्धित मात्र कुरा गर्न मन लागेको छ। संविधान बनिसके पछिको पहिलो निर्वाचन हुनै लाग्दा कमरेड प्रकाश सँग फोनमा कुरा गर्ने अवसर मिल्यो। प्राविधिक भाषा कक्षा सञ्चालन गरिरहेको बेला उहाले कल गर्न मिल्छ भने पछि क्याफे भित्र छिरेर करिब २५ मिनेट कुरा गरें।

मैले उहालाई माओवादीको आन्दोलनले प्राप्त उपलब्धिहरू कमजोर बन्दै गए, माओवादीका जनवर्गीय संगठनको नेतृत्व गर्ने केन्द्र देखि जिल्लामा सम्मका नेतृत्वहरु जनतासंग घुलमिल हुन छोडे, त्यत्रो जनयुद्धमार्फत् प्राप्त गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक व्यवस्था बारे आम जनताले बुझ्ने गरी सैद्धान्तिक व्याख्या भएको छैन, अन्तराष्ट्रिय जगतलाई माओवादी आन्दोलनको सकारात्मक पक्ष सम्प्रेषण गरिएको छैन।‘मैले यति भन्नासाथ ,-“तपाईं कुन संगठनमा हुनुहुन्छ?“ भन्नु भयो।

“दाजु! म विदेश गएर सानोतिनो कमाई गरेर ऋण तिरेर फेरि मास्टर्स पढ्न काठमाडौं आएको छु, त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स सकिन लागेको छ।“ “ल! भाई! ठीक छ । मैले तपाईंको लागि केही गर्न मिल्छ भन्ने भन्नुस् ?“ भन्नु भयो। मैले झट्ट उत्तर दिएँ,“दाजु! मैले भनेका कुराहरू तपाईंले अलिकति बुझेर प्रचण्ड सामु भन्दिनु भए पुग्छ। प्रचन्ड केन्द्रीय राजनीतिमा यति व्यस्त हुनुहुन्छ कि उहाँलाई थाह छैन नयाँ जेनेरेशनले उहाँलाई चिन्दैन। उहाँ चिनिनु पर्दछ। अझ भनौं, राजनीतिक उपलब्धिको हिसाबले प्रचण्ड स्वर्गीय बिपी कोइराला भन्दा धेरै माथि हुनुहुन्छ तर, कमरेड प्रचण्ड पनि स्वर्गीय बिपी झैँ दिनानुदिन आफ्नै पार्टी र आन्दोलनमा कमजोर हुँदै जानु भएको छ। मलाई यो चिन्ता छ“ मलाई धेरै भन्न मन लागेको थियो तर प्रतक्ष भेट नभएकोले फोन बाट मात्र सबै कुरा कन्भिन्स गर्न गार्हो थियो। “ ल ठिक छ। मिलाएर भेटौं र कुरा गरौं“ उहाले भन्नु भो। मलाई २०६३ साल तिर नै भेट्न तिब्र इच्छा थियो कमरेड प्रचण्डलाई। यो कुरा फोन मै भए पनि उहाँलाई जानकारी गराएँ। “ दाजु! मेरो एउटा इच्छा छ! म २०५९/६० देखि संगठनमा आबद्ध भएर काम गरेको मान्छे, मलाई एक पटक कमरेड प्रचण्डलाई भेट्न मन छ।“

उहाँले,-“आरे ! म सँग यति धेरै मान्छे आउँछन् सबैले मलाई यो मिलाउनुहोस, त्यो गर्दिनुस भन्दै व्यक्तिगत लाभको लागि मरिहत्ते गर्छन् तपाईं कस्तो मान्छे यार! कमरेड प्रचण्ड सँग भेट गराउनुस् रे! तपाईं गज्जबको हुनुहुँदो रहेछ। बुवा चुनावी अभियानमा हुनुहुन्छ, अब भ्याली बाहिर जाने देश दौडाहामा जाने अवस्था छ। उता बाट फर्के पछि मैले भेट मिलाउछु!“ “ओके! हुस्! थ्याङ्क यू! दाजु! “ लगत्तै केही समयमा नै एका बिहानै नवलपुरका एकजना साथीले प्रकाशको बारेमा दुःखद खबर फेसबुकबाट सेयर गरे।

कान्तिपुर अनलाईनले नर्भिक हस्पिटलमा भएको समाचार छाप्यो। पढाउन शुरू मात्र गरेका विद्यार्थीहरुलाई बिदा गरेर नर्भिक अस्पताल बाइकमा गएँ। सँगै धेरै साथीहरु पनि हुनुहुन्थ्यो। तर, नर्भिक अस्पतालमा पुग्ने बित्तिकै कमरेड प्रकाश दाहाल संसारमा नरहेको थाहा पाएँ। बडो निराश भएँ। मलाई उहाँसँग भेट नभएकोमा एकदम गुनासो छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्