प्रचण्डकाे गल्ती छैन, ओली पार्टी फुटाउँदैछन् : माधव नेपाल

madhav-nepal
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल नेता प्रदीप नेपाललाई भेट्न उनकै घरमा पुगेका छन्। नेता नेपाल सोमबार साँझ गोठाटारमा पुगेका थिए। स्रोतका अनुसार माधव नेपाल र प्रदीप नेपालबीच लामै संवाद भएको थियो।

भेटमा प्रदीप नेपालले पार्टीका वरिष्ठ नेता नेपाललाई ओलीसँग मिलेर जान सुझाव दिएका छन्। एउटै सैद्धान्तिक पृष्ठभूमि र संघर्षबाट आएका नेताहरु मिलेर जानु नै उपयुक्त हुने बताएका थिए। विशेषगरी जनताको बहुदलीय जनवाद (जबज) का लागि पनि मिल्नुपर्ने भन्दै उनले त्यसको वातावरण बनाउने बताए।

माधव नेपालले भने समस्या आफूमा नरहेको जवाफ दिएका थिए। ‘एउटै पार्टीका नेताहरु किन नमिल्ने ? समस्या केपी ओलीमै छ’, माधव नेपालको भनाइ थियो। उनले पार्टी अध्यक्ष ओलीलाई सम्झाउन नेता नेपाललाई आग्रह गरे। नेता नेपालले प्रचण्डमा गल्ती नभएको भन्दै ओलीले पार्टी फुटाउन लागेको बताएका थिए।

शनिबार मात्रै प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रदीप नेपालसँग दुई नेता (ओली(नेपाल) मिलाइ दिन आग्रह गरेका थिए। प्रधानमन्त्रीका तीन सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल प्रदीप नेपालको निवास पुगेका थिए ।