प्रचण्डको राजीनामा माग्ने ओलीको तयारी

KP_Prachanda
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान नभए पनि केही मत्थर भने भएको छ। गत मङ्सिर ३ गतेको सचिवालय बैठकपछि नेताहरूको गुटगत भेला पातलिएको छ। विवाद समाधान गर्ने सूत्रको खोजीमा नेताहरूको दौडधुप भने जारी छ।

कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव राखेपछि नेकपामा तरंग पैदा भयो। ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रस्तावलाई आरोपत्रको संज्ञा दिएका छन्। उनले त्यसलाई स्वीकारेर जान नसक्ने भन्दै लिखित जवाफ दिने बताएका छन्। उनले जवाफका लागि दस दिनको समय माग गरेका थिए।

१३ गतेको सचिवालय बैठकमा ओलीले काउन्टर प्रस्ताव ल्याउने तयारीमा छन्। अहिले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले लगाएका आरोपको खण्डन सहितको दस्तावेज पेस गर्ने तयारी थालेका छन्। ओलीको बचाउ तथा प्रत्यारोपको फेहरिस्त बनाउन लागिपरेको यस खेमाले अर्का अध्यक्ष प्रचण्डले नै राजीनामा दिनुपर्ने विषयसमेत समावेश गर्दैछ।

यता ओली पक्षीय केही नेताहरुले अध्यक्षद्वयबाट आउने फरक फरक दस्तावेजले एकले अर्कालाई आरोपित गर्ने र अन्ततः पार्टी विभाजनको तहमा पुग्ने भएकोले फरक-फरक प्रतिवेदन भन्दा पनि संयुक्त दस्ताबेज ल्याउनु पर्नेमा जोड दिएका छन्। नेकपाका महासचिव विष्णु पौडेलले प्रचण्डले प्रस्ताव फिर्ता लिनु पर्ने र पार्टी एकता रक्षाका लागि दुई अध्यक्षले संवाद गरेर संयुक्त प्रतिवेदन ल्याउनुको विकल्प नरहेको बताएका थिए। तर सहमतिको साझा दस्तावेज ल्याउने सम्भावना भने क्षीण देखिएको छ।

प्रधानमन्त्री ओलीका केही सहयोगी अहिले प्रचण्डको प्रतिवेदनमा लगाइएका आरोपको खण्डन गर्ने र प्रत्यारोपको फेहरिस्त बनाउन व्यस्त छन्। ओली खेमा प्रचण्डसँग कुनै सम्झौता नगर्ने, बरू झन् आक्रमक बनेर वार कि पारको लडाइँमा उत्रिने तयारीमा देखिन्छ। कात्तिक २८ को सचिवालय बैठकमा दाहालले ओली पार्टी र सरकार सञ्चालनमा अफसल भएकोदेखि सरकार नै भ्रष्टचारमा लिप्त भएको आरोप सहितको दस्तावेज सचिवालयमा प्रस्तुत गरेका थिए।

सचिवालयका बहुमत सदस्यको साझा धारणा भन्दै अघि सारिएको यस दस्तावेजबारे मंसिर ३ को सचिवालय बैठकमा छलफल हुने भनिएको थियो। तर दाहालले आफूमाथि लगाएका आरोपको जवाफ दिन १० दिनको समय लिएका ओली प्रत्युत्तर दिने मात्र हैन, दाहालकै राजीनामा माग्नेसम्मको तयारीमा लागेका छन्। आरोप पुष्टि भए आफू प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन तयार रहेको, नभए प्रचण्डले नै आत्मालोचनासहित तत्काल राजीनामा दिनुपर्ने प्रस्तावलाई ओलीले आफ्नो जवाफमा समेट्ने भएका हुन्।

ओली खेमाले माओवादी लडाकु शिविर घोटाला प्रकरणदेखि विवादित व्यापारीहरूसँगको सम्बन्धसम्मका विषय उठाउने तयारी गरेको छ। शंकर पोखरेल लगायत ओलीनिकट केही नेताले प्रचण्डलाई मनाएर साझा प्रस्ताव सचिवालयमा प्रस्तुत गर्नुपर्ने आवाज उठाए पनि त्यो सम्भावना निकै क्षीण देखिएको छ। प्रचण्डले ओलीमाथि लगाएको आरोपको छिनोफानो नगरी सँगै जान नसकिने अडान ओली खेमाको छ।

अल्पमतमा रहेर पनि पार्टीभित्रको गुट व्यवस्थापन गरी लाभ लिँदै आएका ओलीलाई यस पटकको संघर्ष सहज भने छैन। किनभने पार्टी स्थायी र केन्द्रीय समिति बैठक समेत तय भएका कारण ओलीलाई न बैठकबाट भाग्ने ठाउँ छ, न त बहुमत जुटाउन नै सहज छ। तर पार्टी फुट्ने नै अवस्था आए कुन नेता वा समूह कतातिर लाग्छ, अहिले नै भन्न कठिन छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्