प्रचण्डले बोलाए नेकपा सचिवालयको बैठक

sachiwalaya
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका छन्। पार्टी विवाद उत्कर्षमा पुगिरहेका बेला प्रचण्डले शुक्रवार केन्द्रीय कार्यालय धुम्बाराहीमा अनाैपचारिक बैठक बोलाएका हुन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन्।

उनले दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन्। बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका थिए। तर प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए। भेटमा अध्यक्ष प्रचण्डले ओलीले बुधवार राजीनामा मागेको अभिव्यक्ति र प्रदेश १ को भेलाप्रति आप्पति जनाएका थिए। सो क्रममा प्रचण्डले पछिल्ला पार्टी कमिटीको बैठक राख्न माग गरेका थिए।

गत आइतबार प्रचण्डले आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए। ६ नेताको भेलाले पार्टी सचिवालय बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो। पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतर समूहबीचको तनाव चुलिएको छ।

कर्णाली प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट लगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको हो। अध्यक्ष प्रचण्डलाई मनाउन प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ शुक्रबार बिहान खुमलटार पुगेका थिए। भेटमा प्रचण्डले आफूले पार्टी विवादका विषयमा बालुवाटार नभई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गर्न बैठक बोलाएको बताएको एक स्थायी कमिटी सदस्यले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्