उपप्रधानमन्त्री चाहिँदैन, राजनीतिक प्रस्ताव फिर्ता हुँदैन : वामदेव गौतम

Bamdev-Gautam
लोकपाटी न्यूज

काठमाडौं। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा देखिएको विवादबारे उपाध्यक्ष वामदेब गौतमसँग छलफल गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब बिहान १ घण्टा छलफल भएको हो।

भेटमा ओलीले गौतमलाई प्रचण्डको एकल प्रस्ताव फिर्ता लिन पहल गरेर सहयोग गर्न आग्रह गरेका थिए। अहिलेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि गौतमसँग ओलीले सुझाव मागेका थिए। गौतमले भने पहिला कार्यशैली सुधार गर्न सुझाएका थिए। उनले ओलीलाई सामूहिक नेतृत्व प्रणाली स्वीकार्न र स्वेच्छाचारी प्रवृत्ति त्याग्न पनि आग्रह गरे।

पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुको मुख्य दोषी ओलीनै भएकाले अरुलाई दोष दिएर उम्कन नपाउने गौतमले बताएका थिए। गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई पार्टीमा देखिएको विवाद कसरी समाधान गर्ने भन्ने मामिलामा छलफल गर्न बालुवाटार बोलाइएको थियो। भेटमा उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई सच्चिनुको विकल्प नभएको भनेको सुवेदीले बताए।

‘अहिले तपाईं सच्चिन जरुरी छ। तपाईं सच्चिएपछि प्रचण्डले राखेको प्रतिवेदन फिर्ता लिनै पर्दैन। त्यो प्रतिवेदन आफै गौण हुन्छ’ गौतमको भनाइ उदृत गर्दै सुवेदीले भने, ‘सचिवालय बैठकमा छलफल गरौँ सबै समाधान त्यही निस्किन्छ।’ नेकपा स्रोतका अनुसार ओलीले आज पनि गौतमलाई सरकारमा आउन र प्रथम उपप्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर गौतमले आफू अहिले सरकारमा नआउने ठाडो जवाफ ओलीलाई दिएका थिए।

सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्न नसक्ने व्यक्ति कम्युनिस्ट हुन नसक्ने भन्दै गौतम बालुवाटारबाट बाहिरिएका थिए। ओलीले शुक्रबार सचिवालयको बैठक सकिनासाथ पनि गौतम र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर आफ्नो समूहका सदस्यसहित छलफल गरेका थिए। त्यो बेला पनि गौतमले ओलीलाई आफ्नो कार्यशैली नसच्याए पार्टीमा संकट बढ्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्