प्रचण्ड दस्तावेजको प्रष्ट सन्देश : ‘ओली कम्युनिस्ट र राष्ट्रवादी दुवै होइनन्’

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति पार्टी एकताको मर्म विपरित रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले खुल्ला रुपमा पार्टी फूटको पक्षमा वकालत गरिरहेको प्रचण्डको भनाई छ। शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली पार्टी फूटको आधार यतार पार्ने काममा सक्रिय रहेको समेत उल्लेख छ।

‘यसबीचमा पार्टी एकताका बाँकी काम पुरा गर्ने तिर होइन देशभरि नै फाउण्डेसनका नाममा गुट चलाउने र भोटर लिष्टका आधारमा प्रत्येक जिल्लामा हजारौंका संख्यामा सदस्यता वितरण गर्ने तथा पार्टी फुटको आधार तयार पार्ने काममा सक्रियता देखाइएको छ। अहिले त उहाँ आफैं फुटका पक्षमा खुल्ला वकालत गर्न थाल्नुभएको छ। स्थायी कमिटीको बैठक पछिका कमरेड ओलीका उपरोक्त व्यवहारहरुले व्यक्तिवादी अहंकार र गुटबन्दी क्रियाकलाप सच्चाए पार्टी एकता र सहमतिको बाटो तिर होइन गुटवादी र फुटवादी दिशातिर नै अगाडि बढिरहेको तथ्यलाई स्पष्ट गर्दछ’, प्रचण्डले पेश गरेको प्रस्तावमा भनिएको छ।

प्रचण्डले स्थायी समितिका निर्णयमाथि पनि ओलीले प्रहार गरेको जनाएका छ्न्। मन्त्रिमण्डलको पुनर्गठन गर्दा सहमतिबाट गर्ने स्थायी कमिटीको निर्णयको मर्म र भावना विपरित एकलौटी गर्ने र अन्य पक्षभित्र षडयन्त्रमूलक चलखेल गर्ने प्रयास भएको उनको आरोप छ। प्रधानमन्त्री ओलीले राजनैतिक नियुक्ति गर्दा पनि एकलौटी ढंगले गर्ने गरेको उल्लेख गरेका छन्।

प्रचण्डले भनेका छन्, ‘स्थायी कमिटीको बैठकले प्रतिष्ठानमार्फत भइरहेका गुटबन्दीजन्य काम रोक्ने निर्णयका वावजुद देशव्यापीरुपमा मदन भण्डारी फाउण्डेसनका नामबाट पार्टी विरोधी प्रचार र गुटबन्दी बढाइनै राखिएको छ। प्रदेश सरकारको पुनर्गठन थपघट सहमतिबाट गर्ने निर्णयविरुद्ध कर्णाली प्रदेशमा दल नेताका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कार्यमा परोक्ष प्रोत्साहन गरेर वा त्यसलाई रोक्ने काममा अरुची देखाएर कमरेड ओलीले गुटबन्दी र अराजकतालाई नै प्रोत्साहन दिने काम गर्नुभयो।’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको प्रोटोकल विपरित भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुखसँग समकक्षीका रुपमा वार्ता गरेर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभीमानमाथि गम्भीर आघात पुर्‍याउने काम गरेको उनको आरोप छ। प्रचण्डले भनेका छन्, ‘यस सम्बन्धी कमरेड ओलीको अपारदर्शी अमर्यादित व्यवहारले उहाँको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छ। यसले पार्टी र सरकारलाई ठूलो क्षति पुर्‍याएको छ।’

मुकेश चौरसियाको हत्यामा संलग्न आपराधिक तत्त्वहरुका विरुद्ध जाहेरी दर्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीले देखाएको व्यवहारले उनी पार्टी एकता विरोधी रहेको पुष्टि हुने कार्यकारी अध्यक्ष प्रचण्डको भनाई छ। उनले भनेका छन्, ‘यसैबीचमा पर्सा जिल्लाको विन्धवासिनी गाउँपालिकाको पार्टी कमिटीको सपथग्रहण कार्यक्रममा केही अवाञ्छित तत्त्वहरुको सांघातिक आक्रमणमा परी त्यसै पालिकाका पार्टी सचिव कमरेड मुकेश चौरसियाको मृत्यु भयो। हत्यामा संलग्न आपराधिक तत्त्वहरुका विरुद्ध जाहेरी दर्ता गर्ने क्रममा प्रदर्शित व्यवहारले पनि कमरेड ओलीको पार्टी एकता विरोधी गुटबन्दी चरित्रलाई नै देखाएको छ।’

ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राखेको पनि उनले बताए। प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा पहिलेको सम्झौताभन्दा राष्ट्रिय हित र स्वाधिनतामा आँच पुग्ने गरी पार्टीबाट गोप्य राखेर कार्यान्वयन सम्झौता गरेको उल्लेख छ। ‘कार्यान्वयन सम्झौताले मूल सम्झौताका कतिपय प्रावधानलाई समेत परिवर्तन गरेको छ। संसदमा अनुमोदनका लागि विचाराधीन सम्झौताबारे निर्णय नहुँदै सम्झौताका प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीद्वारा एमसीसीसँग गोप्यरुपमा पत्राचार गरियो’, अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यसबाट संसदकै विशेषाधिकारको हनन गरियो। एमसीसीसँगको सम्झौताबारे केन्द्रीय कमिटीको दोस्रो बैठकबाट गठित कार्यदलको प्रतिवेदनमा छलफल गर्ने चासो देखाइएन।’

उनले पार्टीको कुनै निकायमा जानकारी नगरी बजेट वक्तव्यमा र १५औँ पञ्चवर्षीय योजनामा एमसीसी अन्तरगतको आयोजनालाई समावेश गरेको भन्दै स्थायी कमिटीको बैठकमा एमसीसीसँगको सम्झौताबारे कार्यसूची रहेको बेला पार्टीमा कुनै छलफल नगरी उक्त सम्झौता अगाडि बढाउन सरकार तयार रहेको र हाल त्यससम्बन्धी काम स्थगित रहेको भन्ने पत्र अमेरिकी सरकारलाई पठाउँदै हठात् संसदको अधिवेशन समाप्त गरेको जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्