प्रचण्ड-नेपाल पक्षले ओलीलाई बुझाएको पत्रमा के छ ?

Madhav-nepal-and-prachanda-11 (1)
लाेकपाटी न्यूज

काठमाडौं, २२ कार्तिक। नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तत्काल बैठक बोलाउनुपर्ने माग गर्दै शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा पुगेका थिए।

पाँचै जना नेताले २ पृष्ठ लामो पत्रमा हस्ताक्षर गरेर ओलीलाई बुझाएर फर्केका छन्। बैठक बोलाउन ओली सहमत भएपनि कहिले बोलाउने भन्ने कुनै निष्कर्ष ननिस्केको प्रवक्ता श्रेष्ठले बताए।

पत्रमा के छ ?

पत्र दुई पृष्ठको छ। त्यसमा पार्टी एकताको पृष्ठभूमि देखि लिएर भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलसँगको भेटमा केके कुरा भए, त्यो बताउन आग्रह गरिएको छ। पार्टी एकतालाई ऐतिहासिक आवश्यकताको रूपमा चित्रित गर्दै त्यसलाई जोगाएर अघि बढ्नुपर्ने विषय पार्टी एकताको महत्त्व शीर्षकमा समेटिएको छ।

त्यसपछि पत्रमा स्थायी कमिटी बैठकले गरेका निर्णयहरूमा ध्यानाकर्षण गराइएको छ। ‘गत भदौ २६ गते बसेको स्थायी कमिटीले गरेका प्रमुख निर्णयहरू कार्यान्वयन गर्न असहज परिस्थिति निर्माण भएको छ,’ पत्रमा भनिएको छ, ‘ती निर्णयहरूको अबिलम्ब कार्यान्वयनका लागि पनि कमिटी बैठक आवश्यक छ।’

पत्रमा पार्टी निर्णय कार्यान्वयन नहुनुको कारण नै प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कार्यशैली रहेको भन्दै ओलीको आलोचना गरिएको छ। त्यस्तै पत्रमा गत असोज १५ गते मन्त्रिपरिषद बैठकले गरेको राजदूत सिफारिसको निर्णय, २५ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गरिएको असफल ‘कू’को प्रयास, २८ गतेको मन्त्रिपरिषद बिस्तारको निर्णय र कात्तिक ५ गते नेकपाकै कार्यकर्ता मुकेश चौरासियाको हत्यामा संलग्नलाई माथिबाटै जोगाउने प्रयास भएको विषयमा चर्चा गरिएको छ।

पत्रमा ‘रअ’प्रमुख गोयलसँग भेटघाट भएको विषयलाई छुट्टै टपिकमा उठाइएको छ। प्रधानमन्त्री ओलीले अर्को देशको जासुसी संस्थाको प्रमुखसँग भेट्नुले नेपालको कूटनीतिक छबीमा प्रश्न उठेको पत्रमा उल्लेख छ। पत्रमा ओलीसँग यस विषयमा स्पष्टिकरण मागिएको स्रोतले दाबी गर्यो ।

त्यस्तै पत्रमा प्रधानमन्त्री ओलीले प्रदेशका नेताहरूलाई मदन भण्डारी फाउन्डेसनका नाममा गतिविधि गर्न उक्साएको आरोपसमेत लगाइएको छ। पत्रमा कोरोना महामारीका कारण उत्पन्न संकट समाधानका लागि छलफल गर्न पनि बैठक आवश्यक रहेको तर्क गरिएको छ।पत्रको अन्तिममा सबै समस्याको समाधानका लागि पार्टी कमिटीको बैठक अनिवार्य रहेको र त्यसका लागि अध्यक्ष ओली तयार हुनुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्