प्रचण्ड सचिवालयको टिप्पणी : ‘भद्र नेतामाथि अभद्र व्यवहार निन्दनीय छ’

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ। प्रचण्डको सचिवालयले नेता पाण्डेले भद्र शैलीमा सम्बोधन गर्ने क्रममा एक समूहबाट भएको दुर्व्यवहारको प्रयासलाई अराजनीतिक गतिविधि भनेको छ।

‘अराजकताको पराकाष्ठा, नेकपाका स्थायी समिति सदस्य कमरेड सुरेन्द्र पाण्डेद्वारा आफ्नो क्षेत्र चितवनको राप्तीमा पार्टी बैठकलाई भद्र शैलीमा सम्बोधन गर्ने क्रममा एक समूहबाट अराजनीतिक गतिविधि गरी दुर्व्यवहारको प्रयास भएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ।

पाण्डेमाथि दुर्व्यवहारको प्रयास गर्ने कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको माग पनि गरिएको छ। प्रचण्डको सचिवालयले भनेको छ, ‘यो गैर राजनीतिक कार्यसँग संलग्न व्यक्ति माथि छानबिन गरी कारबाही होस्।’

शनिवार चितवनको राप्ती नगर पार्टी बैठकमा मन्तव्य राखिरहेका बेला कार्यक्रममा सहभागी केही व्यक्तिहरूले नेता पाण्डेविरुद्ध नाराबाजी गरिएको थियो। नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपालसहितका नेताहरूले उक्त घटनाको भर्त्सना गरेका छन्।

पाण्डेविरुद्ध सुनियोजित रूपमा केही व्यक्तिहरूले अभद्र व्यवहार गरेको ठहरसहित छानबिन गरी कडा कारबाही गर्न माग उनीहरूले गरेका छन्।