प्रधानमन्त्रीको ‘दूत’ बनेर विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई भेटे

bishnu-paudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको सन्देश लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

ओलीले मंगलबार बिहान कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट्न महासचिव पौडेललाई प्रचण्ड निवास खुमलटार पठाएका थिए। ओलीले पार्टीमा उत्पन्न विवाद समाधानको प्रयास स्वरुप पौडेललाई खुमलटार पठाएको बुझिएको छ।

प्रचण्डसँग भेट गरेर पौडेल फर्किएका छन्। उनीहरुबीच विवाद समाधानको प्रयासबारे छलफल भएको बताइए पनि थप कुरा सार्वजनिक भएको छैन। ओलीले यसअघि हिजो प्रचण्ड पक्षका माधव नेपाल र बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

यस्तो बेला खुमलटार पुगेर ओली दूत पौडेलले प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री ओली पक्षले प्रचण्डले गएको शुक्रबार सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक बस्ने अडान लिएको छ।

तर प्रचण्ड पक्षका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव आफूहरुको सामूहिक रहेको बताउँदै आएका छन्।