ओलीले भेट्न निम्तो दिएपछि बालुवाटार पुगे प्रचण्ड

Oli_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीभित्रको जारी विवादबारे छलफल भइरहेको बताइएको छ।

पछिल्लो समय पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने अडान लिएका प्रचण्ड र ओलीबीच विवाद बढिरहेको छ। कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक माग गर्ने चार नेतालाई अपराहृन ४ बजे सचिवालयका धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका छन्। शनिबार कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाएका थिए।

प्रधानमन्त्री ओलीको सन्देश बोकेर मंगलबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए। प्रचण्डसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर सचिवालय बैठक बोलाउने वातावरण तयार गर्न आग्रह गरेका थिए। अध्यक्ष प्रचण्डले पार्टी भित्रको समस्या समाधानका लागि नै सचिवालय बैठक आवश्यक रहेको बताएका थिए।

पोखरेल खुमलटारबाट फर्किएको केही घण्टामै प्रचण्डलाई प्रधानमन्त्रीले भेटका लागि बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्री ओलीले भने विधान बमोजिम सचिवालय बैठक बोलाउने भन्दै महासचिव विष्णुप्रसाद पौडेललाई सोमबार पनि प्रचण्डसमक्ष सन्देश पठाएका थिए। उनले बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्डले केही बेरमै सचिवालय बैठक बोलाउने तयारी गरेका हुन्। सचिवालय बैठकको औपचारिक जानकारी नेतासम्म पुग्न नपाउँदै ओलीले प्रचण्डलाई बालुवाटारमा निम्तो गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्