प्रधानमन्त्री ओलीले यी ६ नेतालाई बालुवाटार किन डाके ?

ncp_karyadal
लोकपाटी न्यूज

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित विवाद समाधान सुझाव कार्यदलका सदस्यहरूले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्। सचिवालय बैठक बोलाउन बहुमत सदस्यहरूले ओलीलाई दिएको अल्टिमेटम आज सकिन लागेको सन्दर्भमा कार्यदलका सदस्यहरू सक्रिय भएका हुन्।

यसअघि पार्टीभित्र विवाद बढेपछि समाधानका लागि सुझाव दिन गत साउन ६ गते उक्त कार्यदल बनाएको थियो। कार्यदलमा महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शङ्कर पोखरेल र पम्फा भुसाल थिए। स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्‍याउने क्रममा यही कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो।

कार्यदलको सुझाव परिमार्जनसहित स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि नेकपाको सङ्कट टरेको मानिएको थियो। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा दुई दिनअघि सचिवालय बैठक बोलाउन ओलीसँग लिखित माग गरेका थिए। तर बैठक अझै तय हुन सकेको छैन। पार्टी नेतृत्वबीच फेरि सङ्कटको स्थिति आएपछि कार्यदलका सदस्यहरू सक्रिय भएका हुन्।

यसअघि आजै बिहान महासचिव पौडेलले ओलीको दूतका रूपमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेट गरेका थिए। लगत्तै कार्यदलका सबै सदस्यले ओलीलाई भेटेका हुन्। ओलीसँगको भेटपछि कार्यदलले अध्यक्ष प्रचण्डसँग पनि भेट गर्ने जनाइएको छ। तर भेट्ने समय भने तय भइसकेको छैन।