बलात्कारका घटनामा विद्यमान कानुनको पालन गराउन भूमिका खेलौं

ऋदम पौडेल
लाेकपाटी न्यूज

ऋदम पौडेल

आजकल दिनहुँ जसो बलत्कारका घटना बढिरहेका छन् । घटना पनि अचम्म लाग्दा । पत्याउनै मुस्किल हुने । आङ नै सिरिङ्ग पार्ने खालका छन् । आफ्नै बुवा, हजुरबा, काका, दाजुभाईबाट चेलीहरु बलात्कृत हुन थाले । अझ आफ्नै छोराबाट आमा बलात्कृत भइन् ।

कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भयो । दोषी अझैसम्म पत्ता लागेको छैन । तिमालकी १३ बर्षीय एलिशा तामाङको पनि बलात्कार पछि हत्या भयो । कास्की ढिकुरपोखरी गा.वि.स की १० वर्षीय बालिका बलत्कार पछी हत्या भएको अवस्थामा भेटिइन् । जनकपुरमा १२ वर्षीय बालिकाको बलात्कार पछि नर्मम हत्या गरियो । बझाङकी १२ बर्षकी बालिका सम्झना कामीको मन्दिर भित्रै बलात्कार गरी हत्या भयो । जाजरकोटमा ५ बर्षिय एक बालिकालाई बलत्कार गरेको आरोपमा १३ बर्षिय बालक पक्राउ परेका छन् । धरानमा बावु द्वारा आफ्नै छोरी बलात्कृत भइन् । भोजपुरमा २० वर्षीय छोरा ले ६२ बर्षकी आफ्नै आमालाई बलत्कार गरे ।

यि त केही प्रतिनिधि घटना मात्रै हुन् । माथिका घटनाहरूले हाम्रो समाजको यथार्थ चित्रण गर्दछ । बुवाले छोरी, हजुरबुवाले नातिनि, छोराले आमा, भाईले बहीनीलाई बलत्कार गरेका घटनाले साँच्चै नै मान्छेलाई नरपिचास बनाएको आभाष हुन्छ । महिलाहरू कोही कसैबाट सुरक्षित नरहने देखिएपछि यस्ता घटनाले हरेक पुरूष बलत्कारी जस्तो लाग्न थालेको छ । यसरी मनै हल्लाउने बलात्कार र घटना दबाउन गरिने हत्या प्रयासबाहेक सरदरमा हरेक दिन तीन जना महिला तथा बालिका बलात्कार को सिकार हुने गरेको नेपाल प्रहरीको तथ्याङकले देखाउँछ ।

प्रहरीमा आएका उजुरीका घटना हेर्दा बलत्कारबाट पीडित हुनेमा १८ बर्ष भन्दाकम उमेरका धेरै छन् । त्यसमा पनि अभिभावकबाट टाढा रहेका, पारिवारिक बिखण्डन भएका, गरिब तथा विपन्न परिवारका बालबालिका उच्च जोखिममा रहेका छन् । बलात्कारका घटना अपरिचित भन्दा चिने जानेकै आफन्तबाट बढी हुने गरेको पाईएकोले अनुसन्धान गर्न कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । दाजुबाट बहिनी बलात्कार भएका घटना छन् भन्दैमा दाजुसँग बजार गएकी बहिनी असुरक्षित छ भनेर कसरी भन्ने ? बाबुद्वारा छोरी बलात्कार भएका घटना छन् भन्दैमा छोरीलाई स्कूल छाड्न गएका बाबुलाई कसरी शंका गर्ने ? यी र यस्तै जटिलताहरु अनुसन्धानमा नभएका होइनन् ।

हिजो राजा महाराजा र राणाहरूले गाउँगाउँबाट राम्रा–राम्रा केटीहरू छानेर लान्थे र दरबार भित्र रखेल बनाएर राख्थे । हिंजो गाउँका मुखिया जिम्वाल र पञ्चहरूले छोरीचेली माथी हातपात गर्थे । त्यतिबेलाको समाजले बहुविवाहलाई स्विकार गरेको थियो । अब त्यो मान्यताले हुँदैन । नेपाली समाज सामन्तवादी स्वरूपबाट पुँजीवाद हुँदै समाजवादको यात्रामा अघि बढेको छ । पछिल्लो समय महिलाहरूमा अन्याय सहेर बस्नु हुँदैन भन्ने ज्ञान र आत्मविश्वासको विकास भएकाले पनि बलात्कार सम्बन्धी उजुरी नेपाल प्रहरीमा बढेको देखिन्छ । विगतमा महिला हिंसाका घटनालाई गाउँघरमा ढाकछेप गर्ने चलन थियो तर नेपाल प्रहरी र विभिन्न महिला अधिकार सम्बन्धि काम गर्ने संस्थाको जागरूकताका कारण सचेतना बढेको छ । जसकाकारण, बलात्कारबाट पीडित भएकाहरुले उजुरी गर्ने हिम्मत बढाएका छन् ।

अझै पनि धेरै स्थानमा घटनालाई दबाउने तथा पीडितले सामाजिक अपहेलना बेहोर्नुपर्ने अवस्थाका कारण पनि कतिपय घटना बाहिर आउन सकेका छैनन् । नेपाली समाजमा महिलालाई घर तथा समाजको इज्जतको रूपमा हेरिन्छ । महिलाको योनिकतालाई इज्जतसँग तुलना गरिन्छ । जब एक महिला बलात्कृत हुन्छिन् उनले न आफ्नो परिवारलाई भन्न सक्छिन् न त अरू कसैलाई । जब कुनै महिलाले म बलत्कृत भए भन्छिन्, उनले आफ्नो परिवारको इज्जत फालेको ठहरिन्छ । समाजको आँखो बन्छिन् । समाजमा उसलाई हेयका दृष्टिले हेरिन्छ । त्यसैले पनि महिला आफू बलात्कृत भएको विषय आफू सँगै राख्न विवश हुन्छिन् ।

जुनसुकै पद, उमेर र व्यक्तित्वका पुरूष पनि बलात्कारीको रूपमा प्रकट भएका छन् हाम्रो समाजमा । पुरूषभित्र आखिर त्यस्तो के तत्व छ जसले महिला देख्ने बित्तिकै झम्टिहाल्छ ? आखिर कुन तत्वले पुरुषलाई बलात्कार गर्न उक्साउँछ ? आखिर कुन तत्वले गर्दा पुरूषले आफ्ना सबै मान मर्यादा भुलेर आफ्नै छोरी, आफ्नै बहिनी, आफ्नै आमालाईसमेत बलात्कार गर्ने हिम्मत गर्छ ? आउनहोस् त्यसका सम्भावित कारण र समाधान बारे चर्चा गरौ ।

बलात्कार गर्ने अपराधिक मानसिकता कुनै क्षणभरको आवेगमा उत्पन्न हुन्छ वा यो अपराधिक प्रवृत्ति छिपेर स्थायी रुपमै व्यक्ति विशेषमा लुकेको हुन्छ ? बलात्कारको प्रयास गर्ने बलात्कारीलाई जवान महिलाले प्रतिकारमा हत्या गरिदिएको, लिङ्ग काटिदिएको, बलात्कारीको पञ्जाबाट फुत्किएको र प्रहरीमा उजुरी गर्ने गरेका खबर आउने गरेका छन् । यसकारण पनि जवान महिलाभन्दा कलिला बालिकाहरूतर्फ बलात्कारीहरू आकर्षित भएको हुन सक्छ । आफ्नो कामवासना सकिएपछि बलात्कारीलाई बालिकाले हल्ला फिँजाईदिने आफू कानुनि कारबाहीमा पर्ने डरले घटनालाई दबाउन बालिकाको हत्या गर्ने गरेका छन् । कतिपय बालिकाको बलात्कारको पीडा खप्न नसकेर पनि मृत्यु भएको छ ।

पछिल्लो समय बलात्कार र त्यसपछि हत्या हुने क्रम बढेसँगै नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज वृहत रूपमा उठेको छ । महिला हिंसा र बलात्कारका विरुद्ध गरिने प्रदर्शनमा ‘बलात्कारीलाई फाँसी दे’ भन्दै नारा लगाएको देख्न र सुन्न सकिन्छ । मृत्युदण्डको सजायले मात्र बलात्कारपछि हत्याका घटना कम हुने जनविश्वास छ तर के मृत्युदण्ड सम्बन्धी कानुन भएका देशमा बलात्कारका घटना भएका छैनन् र ? तपाईंलाई यो जान्दा हैरान हुन सक्छ कि

सबैभन्दा धेरै महिला बलात्कार हुनेमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र स्वीडेनजस्ता देश पर्छन् । तथ्यांक अनुसार थोरै बलात्कार हुनेमा मुश्लिम देशको बाहुल्यता छ । एसियामा बङ्लादेश, श्रीलंका र भारत अगाडी छन् भने नेपाल उनीहरुलाई पछ्याउँदैछ । यही तथ्याङ्लाई आधार मानेर नै गृहमन्त्री राम बहादुर थापा बादलले अन्य देशको तुलनामा नेपालमा बलत्कार कम छ भनेका हुनक्छन् । तर बलत्कारजस्तो जघन्य अपराध तुलना गर्ने कुरा होइन । एक हिसाबले, खुल्ला समाजमा बलात्कार कम हुनुपर्ने हो । तर, तथ्याङकले त्यस्तो देखाउँदैन । मुश्लिम देशमा बलात्कारीलाई सजायस्वरुप टाउको काटेर तत्काल मृत्युदण्ड दिने व्यवस्था छ । त्यसबाहेक, ती देशमा महिला र पुरुषबीच प्रत्यक्ष भेटघाट र संवाद हुन सजिलो छैन । पश्चिमा देशमा झैं बलात्कार भइहाले प्रहरीमा उजुरी गर्ने वातावरण भने मुश्लिम देशमा अलि कमै छ । तर, कानुन अत्याधिक कठोर छ । स्त्री–पुरुष भेटघाट र नजिकिने अवसर पनि कमै छन् ।

अमेरिकामा पहिले बलात्कारीलाई फासीको सजाय दिइन्थ्यो । सन् २००८ को केनेडीका विरुद्द लुसियाना को मुद्दामा मृत्युदण्ड लाई अवैध घोषणा गरिदियो । अदालतका अनुसार जुन मुद्दामा मृत्यु भएको हुदैन त्यसमा मृत्युदण्ड दिनु अन्याय हुन्छ । मृत्युदण्ड सजाय अपराधभन्दा ठुलो हुन्छ भन्ने अदालतको तर्क थियो । यद्दपि अमेरीकामा राज्य अनुसार बालिका बलात्कार सम्बन्धी छुट्टाछुट्टै कानुन रहको छ । जहाँ मृत्युदण्ड सजाय छैन ।

भारतमा एकदमै दुर्लभ घटनाको लागि मात्र मृत्युदण्डको व्यवस्था छ । भारतमा बालिका बलात्कारका लागि ‘पोक्सो एक्ट’ अन्र्तगत मुद्दा दायर गर्ने गरिन्छ । जस अनुसार १० बर्ष देखि आजीवन कैद सजाय दिइन्छ । तर मध्यप्रदेश, राजस्थान, हरीयाणा सरकारले १२ बर्ष भन्दा कम उमेरको बालिकालाई बलत्कार गरेको खण्डमा फाँसी दिने विधेयक पास गरेको छ ।

नेपालको संविधानले कसैलाई पनि मृत्यु दण्डको सजाय दिने गरी कानुन बनाउन रोक लगाएको छ । संविधानको भाग ३ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकको उपधारा २ मा ‘कसैलाई पनि मृत्यु दण्डको सजाय दिईने छैन’ भन्ने शब्द उल्लेख छ । नेपालले विभिन्न अन्तरराष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । जसका कारण मृत्युदण्डको कानुन बनाउन प्रतिबन्ध छ। नेपालमा मृत्युदण्डको सजाय दिनको लागि संविधान संशोधन गर्दै अन्तरराष्ट्रिय सन्धि सम्झौता परिमार्जन गर्नु पर्दछ जुन जटिल छ।

नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ मा जबरजस्ती करणीसम्बन्धी कानुनको व्यवस्था गरेको छ । जसमा कुनै पनि प्रकारको करकाप, प्रलोभन, धम्की, करणी गरेमा घटनाको प्रकृतिअनुसार सजायको व्यवस्था गरेको छ । दस वर्षभन्दा कम उमेरको बालिकालाई जबरजस्ती करणी गरेको पाइएमा १६–२० वर्ष, १०–१४ वर्ष उमेर समूहको बालिकाको हकमा १४–१६ वर्ष, १४–१६ वर्ष उमेर समूहको बालिकाको हकमा १२–१४ वर्ष, १६ देखि १८ वर्ष सम्मको बालिकाको हकमा १०–१२ वर्ष र १८ वर्षदेखि माथि उमेरको महिलाको हकमा १० वर्ष सजाय तोकिएको छ । उमेर समूहअनुसार फरक फरक सजायको व्यवस्था आफैमा परिपक्व देखिदैन । तर, कानुनमा जे–जस्तो लखिए पनि यसको कार्यान्वयनको पक्ष भने निरिह छ । समग्रमा यसको कायान्वयनमा नै समस्या छ । कतिपय अवस्थामा त प्रहरीले जाहेरीसमेत लिन नमानेका उदाहरण छन् । कानुनको दुरूपयोग गरेर, न्यायलयलाई प्रभावमा पारेर, घटनालाई राजनीतिकरण गरेर पीडितलाई सम्पतिको प्रलोभन देखाएर वा घाउ निको नहुँदै अपराधीहरू खुलेआम हिंडेका धेरै उदाहरण छन् । बलात्कार गरेर मलाई केही हुन्न, म फुत्किइहाल्छु, केटीले केही गर्न सक्दिन’ भन्ने सोचाई कयौं बलात्कारीमा अहिले पनि छ ।

‘बलात्कारीलाई फाँसी दे, दोषीलाई कारबाही गर’ भन्दै नाराजुलुस लगाउने वा धर्ना दिने गतिविधिले मात्र बलात्कारका घटना कम हुनेछैनन् । बालिका वा वयस्क नारीलाई कुनै पुरूषदेखी खतराको पूर्वाभाष हुँदा सम्भावित आक्रमणबाट बच्न उनले के–के साबधानी अपनाउन सक्छिन् ? क–कसलाई गुहार्न सक्छिन् भनेर महिलालाई आत्मरक्षाको कला सिकाउनु जरूरी छ । बलात्कृत व्यक्तिलाई समाजमा आत्मसम्म्मानका साथ बाँच्न दिने सोचको विकास जबसम्म गरिन्न अनि बलात्कार पछि पनि जीवन बाँकी रहन्छ भन्ने कुरा स्वीकार गरिन्न, तबसम्म घटनाहरु बाहिरै आउँदैनन् । आएका घटनाको व्यवस्थापन र मेलमिलाप नभएर पीडकलाई कडाभन्दा कडा कारबाही गरिनु अनिवार्य आवश्यकता हुन्छ । बढ्दो बलात्कारका घटनाबाट तर्सिएर बलात्कारीलाई कडा कानुनको माग त गरिरेका छौं तर बिडम्बना भइरहेको कानुनको पालन गराउन र बलात्कृत महिलालाई समाजमा स्वीकार गर्नसमेत सकेका छैनौं । महिलामाथि हुने सामान्य दुव्र्यवहारमा जबसम्म हामी चुप लागेर बस्छौं तबसम्म अपराधीको मनोबल अझ बढ्न । त्यसैले सामान्य दुव्र्यवहारलाई पनि समयमै प्रतिवाद गर्न सके मात्रै बलात्कारका घटनामा कमि आउने थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्