बागेश्वरी आइसोलेसन केन्द्रबाट २ सय ५० जना फर्किए घर

Bageshwari
लाेकपाटी न्यूज

चितवन, १९ कार्तिक। भरतपुर महानगरपालिका कोभिड( १९ आइसोलेसन केन्द्र बागेश्वरीबाट बुधबार ८ जना निको भई घर फर्किएका छन्। निको भएर घर फकिर्नेहरुलाई भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले गुर्जोको बिरुवा र निरोगिताको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन्।
यो केन्द्रमा हालसम्म ३ सय १० जना भर्ना भएर उपचार लिएका छन् भने अहिलेसम्म २ सय ५० जना निको भएर घर फर्किएका छन्। बुधबारको बिदाई १७ औं भएको चिकित्सालयका पदाधिकारी बताउँछन्।

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर १, बागेश्वरीमा भरतपुर महानगर प्रमुख रेनु दाहालको पहलमा २०७७ कार्तिक १४ गतेदेखि महानगरको सहयोगमा आईसोलेसन केन्द्र सञ्चालन गरिएको हो। यहाँबाट हालसम्म कुनै पनि बिरामी रिफर गरेर बाहिर पठाउन नपरेको चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताए।

यहाँ संक्रमितहरुलाई आवधिक उपवास अर्थात् ८ घन्टा खाना खाने र १६ घन्टा भोकै राखेर उपचार गरिँदै आएको निर्देशक कोइराला बताउनु हुन्छ । भाइरस प्रतिकारी जडिबुटी र उच्च फाइबरयुक्त भोजन गराइने गरेको छ । योग, ध्यान, सत्संग पनि नियमित हुने गरेको कोइराला बताउनु हुन्छ। यहाँको वातावरणले बिरामीको मनोबल उच्च भई बिरामीहरु शत प्रतिशत निको भएको डा. कोइरालाको भनाई छ।

भरतपुर महानगरले सञ्चालन गरेदेखि आजका दिनसम्म प्राकृतिक चिकित्सालय प्रभावकारी रूपमा सञ्चालन भइराखेको र यहाँबाट निको भएर जानेहरुले आफुलाई निकै भाग्यमानी महसुस गर्ने गरेको आईसोलेसन केन्द्रका संयोजक तथा भरतपुर महानगर वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारीले बताए।

यस केन्द्रमा काम गर्ने चिकित्सक, कर्मचारीलाई पारिश्रमिक, बिमादेखि बिरामीहरुलाई खाना तथा यस केन्द्रको संचालनका लागि भरतपुर महानगरपालिकाले सम्पूर्ण ब्यवस्थापन गरेको महानगर प्रमुख रेनु दाहालले बताइन्।

बिरामीको उपचारमा प्राकृतिक उपचार पद्धति सार्थक साबित भएको दाहालको भनाई छ। योग र प्राकृतिक चिकित्सा पद्धतिलाई अझै ब्यापक र बिस्तार गर्न आफू लाग्ने समेत दाहालले बताइन्। यो विश्वब्यापी महामारीसँग लडी महानगरवासीको जीवनरक्षाको लागि भरतपुर महानगरपालिकाले हरसम्भव प्रयास गरिरहेको बताउँदै मेयर दाहालले केन्द्र संचालनको लागि सबै प्ररकारको प्रबन्ध गरेको बताइन्। उनले संघीय सरकारले कोभिडका बिरामीहरुको उपचार राज्यले नगर्ने भनेपनि भरतपुर महानगरपालिकाले यस केन्द्रमा उपचारको लागि आएका बिरामीहरुको पिसिआर परिक्षणदेखि उपचार निःशुल्क रुपमै गर्ने बताइन्।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिकाले संचालन गरेको आइसोलेसन केन्द्र देशकै नमूना भएको दाबी गरिन्। राज्य हुनुको साँचो अनुभूति भरतपुर महानगरपालिकाले देखाएको बताउँदै उनले यो कार्यको लागि आफू यस क्षेत्रको जनप्रनिधिको हैसियतले भरतपुर महानगर प्रमुख रेनु दाहालसहित भरतपुर महानगरपालिका परिवारलाई धन्यवाद व्यक्त गरिन्।

कोरोना संक्रमितको उपचारमा आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धति सार्थक बनेको पोखरेलको भनाई छ। महामारीको अवस्थामा नागरिकको उपचार राज्यले गर्दिन भन्न नपाउने पोखरेलको भनाई छ। नागरिकको जीवनरक्षाको दायित्वबाट राज्य कहिल्यै पछि हट्न नहुने बताउँदै उनले राज्यले गरेको निर्णय सच्याएर नागरिकप्रतिको दायित्व पूरा गर्ने बाटोमा राज्य अगाडि बढ्नु पर्ने तर्क समेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्