बालुवाटारमा नेकपा सचिवालय बैठक, के भन्छन् नेताहरु ?

Nekapa_Sachibalaya
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। १ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्।

प्रचण्डसहित बहुमत सचिवालय सदस्यले बैठक नसार्ने अडान लिएपछि अन्ततः ओली पनि बैठकमा सहभागी भएका हुन्। पछिल्लो बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि ओलीले बैठक केही अघि सार्न खोजेका थिए।

आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावको जवाफ अध्यक्ष केपी शर्मा ओलीले दिने बताइएको छ। सचिवालय बैठक अगाडि अध्यक्ष दाहाल र ओलीले छुट्टछुटै राष्ट्रपति विद्या भण्डारीलाई भेटेका थिए। नेकपामा संकट बढ्दै गएपछि मंगलबार चिनियाँ राजदूत हाउ यान्छीले समेत ओलीलाई भेटेकी थिइन्।

नेकपाभित्र आन्तरिक कलह सुरु भएसँगै नेताहरु पक्ष विपक्षमा उत्रन थालेका छन्। नेकपा स्थायी कमिटी सदस्य भीम रावलले फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न आग्रह गरेका छन्। उनले नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएको बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन, ‘बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।’ नेकपा नेतृ एवम् सांसद रामकुमारी झाक्रीले पार्टी एकता जोगाउने हो भने पार्टीका सदस्यहरूले बैठकबाट भाग्ने नभइ बैठकबाट निकास निकाल्न दवाब दिनुपर्ने बताएकी छन्। उनले कार्यकर्ता होईन पार्टीका सदस्य बन्ने प्रयास गर्नुपर्ने धारणा राखेकी छन्।

‘बैठक, विधि छोडेर अध्यारो कोठाका स्वार्थ समूहसँग गरेको लेनदेनमा खाएको धोका कम्तिमा कमरेड प्रचण्ड, कमरेड बामदेव र कमरेड माधवले नभुलुन।’ उनले ट्वीट गर्दै लेखेकी छन्, ‘आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस्। समस्याको पहिचान गरिएको छ, संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र वैध विकल्प हो।’

नेकपाको यो सकसले निकास पाउनुपर्ने उनको तर्क छ। झाक्रीले व्यक्तिका लेनदेनले मिल्ने होईन मिल्ने बिन्दु पार्टीको विधि र पद्धति भएकाले प्रक्रियामा गएर मिल्नुपर्ने धारणा राखेकी छन्। उनले लेखेकी छन्, ‘यो दल सामाजिक संस्था र सामाजिक पूँजी दुबै हो। त्यसैले जनताप्रति जवाफदेही देखिनु पर्ला: “मिल्ने” व्यक्तिका लेनदेनले मिल्ने होईन मिल्ने बिन्दु पार्टीको विधि र पद्धति हो। त्यही विधि प्रक्रियामा गएर मिल्नुपर्छ।’

नेकपा केन्द्रीय सदस्य माधव ढुंगेलले एकताको महाधिवेशन अगाडि पार्टीका निर्णयहरु बहुमत अल्पमतका आधारमा नभई सहमतिमा हुने भनिएको स्मरण गराएका छन्। उनले विचारका आधारमा नभई स्वर्थ केन्द्रित दाउपेचको राजनीतिको हिसाब किताब गर्ने हो भने त्यस्तो प्राविधिक बहुमत कतिबेला कस्को पक्षमा हुन्छ भन्न नसकिने तर्क गरेका छन् ।

उनले लेखेका छन्, ‘पार्टीलाई एकताको महाधिवेशनतर्फ डोर्याउनुपर्छ। अल्पमत र बहुमतको खेलमा लागेर महाधिवेशन अलमल्याउने र पार्टीको संगठनात्मक शक्ति कमजोर बनाउने काम गर्नु हुदैन।’ उनले आरोपपत्र फिर्ता लिनुपर्ने र भदौ २६ को निर्णयमा टेकेर बैठक आयोजना गर्नुपर्ने धारणा राखेका छन्।