बालुवाटार बोलाइएका ६ नेताले ओलीलाई भेटेनन्

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित विवाद समाधान सुझाव कार्यदलका केही सदस्यहरू अनुपस्थित भएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँगको भेट स्थगित भएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि अध्यक्ष ओलीसँगको भेट स्थगित भएको हो।

अध्यक्ष ओलीसँग छलफल गर्न विघटित कार्यदलका सदस्य शंकर पोखरेल, विष्णु पौडेल र नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए। कार्यदलका थप दुई सदस्य जनार्दशन शर्मा र पम्फा भुसाल अनुपस्थित थिए। नेता जनार्दशन शर्मा आइसोलेसनमा रहेको र पम्फा भुसाललाई राज्यव्यवस्था समितिको बैठकमा जानु परेकोले बालुवाटार जान नसकेको नेकपाका एक नेताले जानकारी दिए।

शर्मा र भुसाल बैठकमा उपस्थिति हुन सक्ने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै ओलीसँग छलफल गर्नुको अर्थ रहेको भन्दै बालुवाटार पुगेका अन्य सदस्यहरु त्यहाँबाट फर्किएका छ। नेता रावलले आफूहरुले छलफलका लागि ओलीसँग समय मागेको तर बालुवाटार छिरेपछि मात्रै नेता शर्मा र भुसालले खबर गरेको जानकारी दिए। आफूहरुले उनीहरुको उपस्थितिबिना प्रधानमन्त्री ओलीसँग छलफल गर्न नचाहेको नेता रावलले बताए।

यसअघि पार्टीभित्र विवाद बढेपछि समाधानका लागि सुझाव दिन गत साउन ६ गते उक्त कार्यदल बनाएको थियो। कार्यदलमा महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शङ्कर पोखरेल र पम्फा भुसाल थिए। स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्‍याउने क्रममा यही कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो।

कार्यदलको सुझाव परिमार्जनसहित स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि नेकपाको सङ्कट टरेको मानिएको थियो। पार्टी नेतृत्वबीच फेरि संकटको स्थिति आएपछि कार्यदलका सदस्यहरूले आज अध्यक्षद्वयलाई भेट्ने तयारीमा थिए। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा दुई दिनअघि सचिवालय बैठक बोलाउन ओलीसँग लिखित माग गरेका थिए। तर बैठक अझै तय हुन सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्