भरतपुर अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

चितवन, १७ कात्तिक। चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका ३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

भरतपुर महानगरपालिका १० बस्ने ७९ वर्षीय पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई सोही दिन कोभिड आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो।

सबै उपायहरु गर्दा गर्दै आइतबार राति १ः२० बजे उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए। यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङको निलकण्ठ नगरपालिका ३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखी उपचार गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्