भारतीय सेना प्रमुखलाई मानार्थ महारथी उपाधि

  • 58
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आज एक कार्यक्रमको आयोजना गरी नरवणेलाई राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदवीले सम्मान गरेकी हुन्।

कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई खड्ग तथा सनद-पत्र पनि प्रदान गरिएको थियो। प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपाली सेनाको मानार्थ उपाधि लिन तीन दिवसीय नेपाल भ्रमणमा नरवणे बुधबार काठमाडौं आइपुगेका हुन्। नेपाल र भारतबीच सेनापतिले एक अर्को देशको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्ने प्रचलन रहेको छ। उनी शुक्रबार स्वदेश फर्कने छन्।

सम्मान ग्रहण गरेपछि भारतीय स्थल सेनाध्यक्ष नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचर भेटवार्ता गरेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ। ‘सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई नेपालको राष्ट्रपतिद्वारा एक भव्य समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान,’ काठमाडौं स्थित भारतीय दूतावासले ट्वीटर मार्फत भनेको छ, ‘अन्य कुनै मुलुकमा नभएको एक विशिष्ट परम्परा जुन दुवै देशले अनुसरण गर्दै आएका छन्।’

नेपाली सेनाको मानार्थ महारथीको पदवीबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख के. एम. करिअप्पा हुन्। उनलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो। गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्