भेटेजति नेतालाई ओली भन्छन् : ‘महाधिवेशनपछिको अध्यक्ष तपाईलाई बनाउँछु’

Pm_Kp_Oli_office
लोकपाटी न्यूज

काठमाडाैं। प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच नेताले बैठक बोलाउन लिखित माग गरेअनुसार विधानबमोजिम प्रक्रिया अगाडि बढाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले लिखित अनुरोधपत्रलाई विधानबमोजिम प्रक्रियामा लैजान निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीले लिखित अनुरोधपत्रबारे महासचिवलाई बालुवाटारमा बोलाएर केही निर्देशन दिइसक्नुभएको छ । बैठक गरौँ, अघि बढौँ, तर विधानबमोजिम हुनुपर्छ भन्नुभएको छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने । आफ्नो सहमतिविना बहुमतको औपचारिक बैठक बसे त्यही नै पार्टी फुटको बिन्दु र घोषणा हुने ओलीले चेतावनी दिँदै आएका छन् ।

लामै कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले दोस्रोपटक किड्नी प्रत्यारोपणपछि झन् जोस बढेको र स्वस्थ महसुस गरेकोसमेत बताएका थिए । ‘दोस्रोपटक किड्नी फेरेपछि त सेता जुँगा पनि काला भएका छन्, जोस बढिरहेको छ, काम गरिरहेको छु, कपाल पनि कालै भइरहेको छ । हाच्छ्युँ त के ज्वरो पनि आएको छैन, एकदम स्वस्थ छु,’ ओलीको यस्तो भनाइले केहीबेर रमाइलो माहोल बनेको छलफलमा सहभागी एक नेताले बताए ।

तर, प्रधानमन्त्रीका एक सल्लाहकारले भने अब मुलुक र पार्टीको नेतृत्व पुराना, बुढा पिँढीभन्दा दोस्रो तहका युवा पिँढीले गर्दा उपयुक्त हुने अर्थमा त्यस्तो कुरा राखेको दाबी गरे । उनले नेपालसँगको छलफलमा प्रधानमन्त्री ओलीले प्रस्टैसँग पूर्वपार्टी र सरकारप्रमुख भइसकेकाले अबको नेतृत्वको हानथाप छाडेर नयाँ पिँढीलाई अगाडि बढाउनुपर्ने धारणा राखेको बताए । ‘अहिलेको विवाद हामी पार्टीप्रमुख र सरकारप्रमुख भइसकेकाहरूबीचको हो । ३२ वर्ष, १६ वर्ष र १४ वर्ष पार्टीको नेतृत्व सम्हालिसकेकाले हानथाप छोड्नुपर्छ, नयाँ पिँढी अगाडि बढ्ने गरी अगाडि बढ्नुपर्छ, मैले त दोहोरिँदैन भनेकै छु । अबको समाधानको उपाय पनि त्यही हो भनेर प्रस्टैसँग भन्नुभएको छ, सांकेतिक रूपमा पनि बताउनुभएको छ,’ ती सल्लाहकारले भने ।

नेपालसँगको चार भेट, चार प्रस्ताव

२३ कात्तिक : अबको महाधिवेशनबाट पार्टी अध्यक्ष वा चुनावबाट प्रधानमन्त्री बन्न नेपालसमक्ष विकल्पसहित ओलीले प्रस्ताव गरेका छन् । ‘मैले तपाईंलाई पार्टी अध्यक्ष बन्ने हो भने महाधिवेशन पर्खिनुस्, कि चुनावपछि प्रधानमन्त्री बन्नुस् पहिल्यैदेखि भन्दै आएको छु,’ नेपाललाई प्रधानमन्त्री ओलीको प्रस्ताव उद्धृत गर्दै एक नेताले भने, ‘अहिलेलाई मिलेर एकताका साथ अघि बढौँ, पार्टीभित्र देखिएका चुनौती सम्बोधन गर्दै अघि बढौँ ।’ तर, नेता नेपालले पार्टीमा विधि र पद्धतिको खाँचो रहेको भन्दै ओलीको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

११ कात्तिक : ओलीले अब नेकपालाई तपाईंले नेतृत्व गर्ने हो भन्दै पार्टी र सरकार सञ्चालनमा सहयोग गर्न प्रस्ताव गरेका थिए । ‘मुलुकको अवस्था, सरकार र पार्टी सञ्चालनमा सहयोग गर्नुपर्‍याे। अब नेकपालाई तपाईंले नै नेतृत्व गर्ने हो भन्नेबाहेक कमीकमजोरी महसुस गर्दै सच्चिएर अघि बढ्ने र पार्टीलाई एकताबद्ध बनाउने कुनै ठोस प्रस्ताव आएको थिएन,’ नेपालनिकट नेताहरूले भनेका थिए ।

४ कात्तिक : प्रचण्डसँग हिमचिम बढाएर खुमलटार धेरै जाने गरेको भन्दै गुनासो पोखेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । ‘लामो समय भइसक्यो तपाईंसँग भेटघाट हुन सकेन, तपाईंले पनि सम्पर्क गर्नुहुन्न, त्यसैले कुराकानी गरौँ, कतै कमजोरी छन् भने सच्याउने गरी अघि बढौँ भन्ने उद्देश्यले छलफल गर्न खोजेको हुँ, छलफलबाट पार्टीमा समस्या छन् भने पनि हल गरौँ, संवादलाई निरन्तरता दिँदै अघि बढौँ,’ ओलीको प्रस्ताव थियो ।

९ साउन : दल विभाजनसम्बन्धी अध्यादेश प्रकरण हुँदै पार्टीभित्र अन्तर्विरोध उत्कर्षमा पुगकै वेला गत ९ साउनमा राति ९ बजेपछि वरिष्ठ नेता नेपाललाई गोप्य भेटवार्ता भन्दै बालुवाटारमा छलफलका लागि बोलाएका थिए । पार्टीभित्रको अन्तर्विरोधको समाधान, महाधिवेशनको तयारीलगायत विषयमा लामै छलफल भए पनि ओलीले भेटवार्ताकै भोलिपल्ट महाधिवेशन संयोजक वा पार्टी अध्यक्षमा समर्थनका लागि प्रस्ताव आएको भन्दै प्रचार गराएकोमा नेपाल असन्तुष्ट बनेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्