सचिवालय बैठकको रणनीति तय गर्न नेकपामा दौडधूप

Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको रणनीति बनाउन शीर्ष नेताहरुले दौडधूपलाई तीव्र पारेका छन्। निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला शीर्ष नेताहरुको दौडधूप भने जारी छ। आफूअनुकूल रणनीति बनाउन नेताहरुले भेटघाटलाई तीव्र पारेका हुन्।

मंगलबार महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर पौडेल खुमलटार पुगेका थिए। कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच नेताको मागमा चार दिनअघि बसेको बैठक ‘तनावपूर्ण’ भएपछि ३ मंसिरसम्म स्थगित भएको थियो।

गएको बैठकमा दुई अध्यक्षबीच आदानप्रदान भएका चार पत्र र प्रचण्डको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो। नेताहरुलाई उपलब्ध गराएको पत्र सार्वजनिक सञ्चारमाध्यममा हुबहु प्रकाशित भइसकेका छन्। प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावमा ओली पक्षीय नेताहरुको गहिरो चित्त दुखाइ छ।

प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश ओली पक्षीय नेताहरुले दिइरहेका छन्। सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताहरुले ओलीको भावना प्रतिबिम्बित गर्दै ‘दुराग्रहसाथ प्रस्तुत गरिएका प्रस्ताव’ फिर्ता लिन अपिल गरिसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले टीकाकै दिन साँझदेखि नेताहरुसँगको परामर्शलाई तीव्रता दिएका थिए। टीकाको दिन रातिसम्म इतर समूहका नेताहरु भेटेका थिए। अघिल्लो दिन वामदेव गौतम र माधव नेपाललाई भेटेका ओलीले सोमबार प्रचण्ड निकट नेताहरुलाई भेटेका थिए।

यता अर्को पक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल निकट नेताहरु पनि आन्तरिक भेटघाट र रणनीति बनाउन लागि परेका छन्। बुधबार सचिवालय बैठक बस्ने भएकाले त्यसअघि नै आफ्नो समूह कसरी अघि बढ्ने भन्ने बारेमा ठोस रणनीति बनाउन दुवै पक्षले आन्तरिक छलफल र तयारी तीव्र पारेका हुन्।

अध्यक्ष प्रचण्डले ओलीमाथि आरोप लगाउँदै पेश गरेको १९ पाने राजनीतिक प्रतिवेदनमा एकजुट भएर ओली पक्षलाई दबाब दिने रणनीतिमा लागेका छन्। सचिवालयमा रहेका प्रचण्ड, नेपाल, झलनाथ खनाल र वामदेव गौतम एक ठाउँमा छन्। प्रचण्ड पक्ष सचिवालयमा बहुमत भएकाले थप दबाब दिएर ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्न वाध्य बनाउने रणनीतिमा लागेको छ।

तर ओली पक्ष भने सत्ता र पार्टी दुवै नछोड्ने रणनीतिको खोजीमा छ। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षले बुधबारको सचिवालय बैठकमा ओली पक्ष सामेल नभए पनि सचिवालयको औपचारिक बैठक डाक्ने आन्तरिक तयारी गरेका छन्। ओली पक्षले सचिवालय बैठक नै नराखी टार्न सक्ने उनीहरुको प्रारम्भिक आँकलन छ।

त्यसका लागि प्रचण्ड-नेपाल पक्षले मंगलबार साँझसम्म ओलीपक्षका गतिविधि नियाल्ने, त्यसपछि साँझै या भोलि बिहान अनौपचारिक बैठक बसी सचिवालयको औपचारिक बैठकका एजेण्डा तय गर्ने गरी आन्तरिक तयारी गरेको एक नेताले बताए। प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार पूर्वनिर्धारित समयमा सकेसम्म सहमतिमा बैठक हुने, नभए आफूहरुले बैठक डाक्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्