मेलम्ची खानेपानी आयोजना : वितरण प्रणाली तयारी अवस्थामा

Melamchi
लाेकपाटी न्यूज

काठमाडौं। मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ। नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ।

पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ। मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ।

मेलम्ची खानेपानी उप आयोजना २ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ। बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता उज्ज्वल प्रजापतीले जानकारी दिए। थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमी सम्पन्न भइसकेको छ। थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ।

चक्रपथ भित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ। दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुनेछ। चक्रपथ बाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ। मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहेको प्रवक्ता प्रजापतीको भनाइ छ।

पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उनको भनाइ छ। यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्