’मैले सचिवालय बैठक बोलाए पार्टी फुटको घोषणा हुन्छ रे !’

Prachanda
लाेकपाटी न्यूज

काठमाडौं, २१ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा सकिएको छ। सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पटकपटक आग्रह गरे पनि सहमति नभएपछि शुक्रबार प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन्।

अध्यक्ष प्रचण्डले बोलाएको उक्त बैठकमा अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षका ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएनन्।

झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए।

बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सहमति नभएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाएर बस्नुभयो भने त्यो नै पार्टी फुट घोषणाको बिन्दु हुने भनेर भन्नु भएको कुरा अध्यक्ष प्रचण्डले आज जानकारी दिनुभयो।’

सचिवालयका सबै सदस्यलाई जानकारी दिएर कार्यकारी अध्यक्षले आज अनौपचारिक बैठक राखेको उनले बताए। बिहीबार बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउँदा प्रधानमन्त्री ओलीले भने बैठक जरूरी नभएको बताएका थिए। बिहीबारको बालुवाटार सम्वाद थप तिक्कतापूर्ण भएपछि प्रचण्ड सचिवालय बैठक बोलाउने निष्कर्षमा पुगेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्