मोबाइलबाटै आकर्षक फोटो यसरी खिच्नुहोस्

mobile_photography_
लाेकपाटी न्यूज

काठमाडौं । राम्रो फोटोग्राफी केवल महंगा स्मार्टफोन वा डीएसएलआर क्यामेराबाट मात्र गर्न सकिन्छ भन्ने छैन। बरु साधारण स्मार्टफोनबाट समेत निकै आकर्षक फोटो खिच्न सकिन्छ। तर त्यसका लागि तपाईंले केही ट्रिक्स भने अपनाउनुपर्ने हुन्छ।

फोकस मिलाउनुहोस्

यदि तपाईं युनिक फोटोग्राफी गर्न चाहनुहुन्छ भने फोटोमा फोकसका लागि म्यानुअल फोकसको प्रयोग गर्नुहोस्। राम्रो फोटो क्लिक गर्नका लागि सकेसम्म अटो फोकस प्रयोग नगर्नुहोस्।

किन कि अटो फोकसले हरेक समय उचित किसिमको फोकस मिलाउन सक्दैन। म्यानुअल रुपमा फोकस सेट गर्न निकै सहज छ।

यसका लागि फोटो खिच्दैगर्दा सब्जेक्टमा ट्याप गर्नुहोस्। यसरी तपाईं जुन स्थानमा फोकस गर्न चाहनुहुन्छ, त्यही स्थानमा ट्याप गरेर मिलाउन सक्नुहुन्छ। बाँकी भाग भने फोकसभन्दा बाहिर बस्नेछ।

राम्रो ब्राइटनेसका लागि एक्सपोजर मिलाउनुहोस्

फोटोग्राफीका लागि प्रकाशले अहम मूमिका राख्दछ। फोटोग्राफीको समयमा यदि धेरै वा थोरै मात्रामा प्रकाश भएको खण्डमा तस्वीरको गुणस्तर खराब हुनसक्छ। यस्तोमा राम्रो फोटोका लागि सही मात्रामा लाइटको आवश्यकता पर्दछ। यसका लागि फोटो क्लिक गर्नु अघि एक्सपोजर मिलाउनुपर्ने हुन्छ।

यो काम पनि निकै सहज छ। फोटो खिच्दाको समयमा स्क्रिनको बीच भागमा ट्याप गरेर औँलाले तल माथि स्वाइप गरेर एक्सपोजर मिलाउन सकिन्छ।

यद्यपी म्यानुअल रुपमा फोटोको ब्राइटनेस मिलाउने तरिका स्मार्टफोनअनुसार फरक हुन सक्छ। यदि सही रुपमा एक्सपोजर मिलाउन सकियो भने फोटोको कलर डिटेल स्पष्ट देखिनेछ।

पोट्रेट मोड

यदि तपाईं आकर्षक ब्लर ब्याकग्राउण्ड सहितको फोटो खिच्न चाहनुहुन्छ भने तपाईंले पोट्रेट मोड प्रयोग गर्न सक्नुहुन्छ। सामान्यतया ब्लर ब्याकग्राउण्ड भएको फोटो डीएसएलआर क्यामेराबाटै खिच्न सम्भव हुन्छ।

तर यस्तो फोटो अबका स्मार्टफोनबाट समेत सम्भव भइसकेको छ। यदि तपाईंको फोनको क्यामेरामा पोट्रेटमोड छ भने एउटा राम्रो ब्लर ब्याकग्राउण्ड भएको फोटो खिच्न सक्नुहुन्छ।पोट्रेट मोड प्रायः क्यामेरा एपमा ब्युल्ट ईन रुपमा उपलब्ध हुने गर्दछ। जसलाई तपाईं क्यामेराको तल्लो भागमा फेला पार्न सक्नुहुन्छ। ६ देखि ७ फिट दूरीबाट पोट्रेट मोडमा फोटो खिच्नुपर्ने हुन्छ। यसबाट फोटोमा राम्रो डेप्थ मिल्नेछ।

क्लियर फोटो निकाल्न के गर्ने ?

यदि तपाईं एक क्लियर तथा स्पष्ट फोटो खिच्न चाहनुहुन्छ भने फोटोग्राफीको समयमा फोनलाई स्टिल अर्थात स्थिर अवस्थामा राख्नुहोस्। धेरै हलचल गराउने काम नगर्नुहोस्। यदि फोनमा स्टडी क्यामेरा मोड वा सुपर स्टडी क्यामेरा मोड दिइएको छ भने त्यसको प्रयोग गर्नुहोस् । यसले तपाईंलाई स्पस्ट फोटो खिच्न सघाउनेछ।

यसरी बनाउनुहोस् राम्रो फ्रेम

फोटोमा राम्रो फ्रेमका लागि रुल अफ थर्डको प्रयोग गर्नुपर्ने हुन्छ। यसबाट व्यवस्थित तथा सुन्दर मोबाइल फोटो प्राप्त हुनसक्दछ। यो फोटो सानदार एक्सपोजरका साथै उचित कम्पोजिसनमा रहनेछ । एउटा राम्रो फोटोका लागि कम्पोजिसन निकै महत्वपूर्ण हुने गर्दछ।

त्यसैले सधैं सब्जेक्ट तथा फोकल प्वाइन्टका लागि रुल अफ थर्डको प्रयोग गर्नुहोस्। यसको मतलब मूख्य अब्जेक्ट वा वस्तु अर्थात जसको फोटो खिच्दै हुनुहुन्छ, त्यसलाई फ्रेमको बीच भागमा नराखेर अर्को स्थानमा राख्नुहोस्।

अर्थात फोटो फ्रेमलाई तीन भागमा विभाजन गरेर अब्जेक्टलाई सकेसम्म छेउको एक भागभित्र समेन्टेन कोसिस गर्नुहोस्। यसका लागि तपाईंले सामान्य क्यामेरा ग्रिडको प्रयोग गर्न पनि सक्नुहुन्छ।

क्यामेरा ग्रिडको प्रयोग गर्नका लागि तपाईंले सेटिङमा गएर त्यसलाई इनेबल गर्नुपर्ने हुन्छ। यसबाट भ्यू फाइन्डर फ्रेममा तपाईंले ठाडो तथा तेर्साे लाइनहरु देख्न सक्नुहुनेछ। टेकपानाबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्