मौसम बदलीसँगै चिसो बढ्यो, कहाँको तापक्रम कति ?

mausam
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ। सोमबार विहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ।

त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस छ। विभागका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ।

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। अहिले उपत्यकासहित बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानहरुलगायत गण्डकी, बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनाका रहेको विभागले जनाएको छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्