म्ह पूजामा अन्तर्निहित देहात्मावाद

Ramraj Regmi
लोकपाटी न्यूज
0 Shares

रामराज रेग्मी/जुन समयमा ब्राह्मण क्षेत्री र अन्य जातजातिका मानिसहरूले तिहार पर्व मनाउँछन्, त्यही समयमा नेवार समुदायले ‘स्वान्ति’ पर्व मनाउँछन्। स्वान्ति पर्वमा उनीहरूले लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा गर्दछन्। म्ह पूजा किजा पूजाको अघिल्लो दिन नयाँ नेपाल संबत् मनाएपछि गरिन्छ। यो पूजा नेपालका नेवार समुदायले बाहेक अन्य कुनै समुदायले मनाएको पाइँदैन। यस अर्थमा यो अद्वितीय देखिन्छ। नेवारी भाषामा ‘म्ह’को अर्थ शरीर हुन्छ। त्यसकारण म्ह पूजा भनेको आफ्नै शरीरको अथवा देहको पूजा हो।

संस्कृतिविद् सत्यमोहन जोशीकाअनुसार नेवार कुलमा जन्मने प्रत्येक व्यक्तिले जीवनको प्रारब्धदेखि अन्तिम घडीसम्म प्रत्येक संस्कारजन्य म्ह पूजामा भाग लिन पाएको हुन्छ। नेपालका हिन्दु धर्माबलम्बी र बौद्ध धर्मावलम्बीहरूमाझ परम्परागत रूपमा चल्दै आएका केही संस्कार र संस्कृति बाहिरबाट आएका आप्रवासीहरूले आयात गरेर ल्याएका परम्पराहरूको निरन्तरता या अनुकरण जस्ता देखिन्छन्। तर म्ह पूजा भने संसारमा कहीँ कतै नचलेको नेपालको आफ्नै मौलिक परम्पराका रूपमा देखिन्छ (अर्याल, २०६५ : ६०)। नेवारी समाजमा हिन्दु वा बौद्ध जुनसुकै धर्मकाले पनि त्यस पूजालाई अपनाएको देखिन्छ। अरू पूजा वा संस्कारहरू सुत्केरो परेको अवस्थामा वा आमाबाबुको मृत्यु भएपछि शोक मनाउन आशोच बारिएको समयमा गरिन्न। तर म्ह पूजामा सामेल हुनका लागि त्यस्ता कुनै बार बन्देजले छेक्दैन।

पूजा गर्नुभन्दा पहिले एक दुई दिन अघिबाट पूजामा प्रयोग हुने सामग्रीहरू र पूजाको अवसरमा खाइने विशेष प्रकारका खानाका लागि सामान जुटाइन्छ। पूजा परिवारका सबैजना अटाउने फराकिलो ठाउँमा गरिन्छ। अक्सर यो घरको छिँडी अथवा बुइँगल हुन्छ। पूजा गरिने स्थानलाई माटाले लिपिन्छ र त्यहाँ चामलको पिठाले गोलाकारको मण्डला बनाइन्छ। मण्डलाहरू प्रत्येक परिवारका सदस्यलाई एकएक वटा पुग्ने गरी बनाइनुका साथै थप तीनवटा बनाइन्छ। मण्डलाको घेराभित्र आठवटा पात भएको कमलको फूलको चित्र हुन्छ। मण्डलाको बीच भागमा खाने तेलको घेरा बीचमा पारी त्यसलाई अक्षता, लाभा, कालो भटमास, मास, धान, बेसारले रङ्गाइएको चामलको पिठो, पानी र रङ्गीविरङ्गी फूलका घेराले सजाइन्छ। प्रत्येक मण्डलामा बिमिरो, स्याउ, कटूस, अमला, मौसम, उखु, हलुवावेद, बयर आदि मौसमअनुसारका फलफूल राखिन्छ।

म्ह पूजा अन्य अवसरमा गरिने पूजाभन्दा पृथक चरित्रको देखिन्छ। अक्सर चाडपर्वहरू सार्वजनिक उत्सवका रूपमा मनाउने गरिन्छन् र तिनमा मनोरञ्जन हुन्छ, तर म्ह पूजामा न त सार्वजनिक उपस्थिति हुन्छ न त मनोरञ्जन नै। अन्य चाडपर्वमा झैँ त्यसमा ज्वाईँ, छोरी र भान्जा भान्जिी जस्ता इष्टमित्रलाई समेत डाकिन्न। पूजा विलकुल परिवारको दायराभित्र सीमित हुन्छ (अर्याल, २०६५ : ६०)। म्ह पूजाको दोस्रो विशेषता के हो भने त्यसमा कुनै पुरोहित वा गुरुज्यूको प्रयोग गरिँदैन र त्यहाँ कुनै प्रकारको पाठ वा मन्त्र उच्चारण गरिँदैन। परिवारकी सबैभन्दा जेष्ठ महिला जसलाई नेवारी भाषामा ‘नकीँ’ (मूली महिला) भनिन्छ, उनैबाट पूजा सम्पन्न गराइन्छ। यो प्रचलन नेवारी समुदायमा विगतमा भएको मातृसत्ताको अवशेष हो।

नेवारहरू म्ह पूजा गर्नुभन्दा पहिले नुहाएर आफ्नो शरीरलाई सफा बनाउँछन्। पूजाका अवसरमा परिवारका सबै सदस्यहरू पूर्व या पश्चिम फर्केर सुकुल विछ्याएर पलेटी कसी मर्यादाक्रमअनुसार लस्करै एकएक वटा मण्डलालाई आफ्नो सम्मुख पारी बस्दछन्। त्यसरी बस्नेमा परिवारका केटाकेटीदेखि पाका उमेरका सबैजना सदस्य हुन्छन्। पूजामा सानो ठूलो अथवा महिला पुरुष भनी कुनै भेदभाव हुदैन। बाँकी रहेका मण्डलामा पानी भरिएको गाग्री, नाङलो्, करुवा, सिलौटो र कूचो राखिन्छ। दैनिक जनजीवनमा अति आवश्यक पर्ने ठानी म्ह पूजाका अवसरमा ती वस्तुको पनि पूजा गरिन्छ।

सबैभन्दा पहिले प्रत्येकले आ–आफ्नो मण्डलामा धूप बत्ती बाल्दछन्। मूली महिलाले मण्डलाको मूल पूजा गरेपछि हातमा पूजा थाली र सगुन लिएर एकएक गरी सबै जनालाई उक्त थाली र सगुन ढोग्न लगाउँछिन्। त्यसपछि मूली महिलाले सबैको निधारमा पालैपालो दहीको टीका लगाइदिन्छिन् र दही र अवीरमा मुछेको चामलको अक्षता सबैलाई दिन्छिन्। पूजाका सहभागीहरूले उक्त अक्षता तल भुइँमा, माथि आकासमा र दायावाया छर्कनुका साथै मण्डलामा छर्कन्छन्। त्यसपछि मूली महिलाले सबैलाई त्यही अक्षताको टीका लगाइदिन्छिन्। यति गरिसकेपछि उनले सबै जनालाई एक हात लामो तेलमा भिजाएर बनाएको लामो वत्ती दिन्छिन् जसलाई ‘खेलु इता’ भनिन्छ। पूजकहरूले त्यसलाई बालेर आफूतिर फर्काई मण्डलाको आडमा राख्दछन्। त्यसपछि नकीँले पूजकहरूलाई काँचो धागोमा रङ्गीविरङ्गी कपडाका टूक्रा उनेर बनाएको जनै जस्तो काँचो धागो पनि दिन्छिन् जसलाई ‘क्वखा’ भनिन्छ। सबै जनाले त्यसलाई माला लगाएझैँ आफ्नो शरीरमा धारण गर्दछन्। अर्की एक जना महिलाले उनीहरूलाई माटाको कचौरामा राखेको दही (धौ) दिन्छिन् जसलाई ‘सगुन’ भनिन्छ। सबैले त्यसलाई औँलाले ग्रहण गर्दछन् र मण्डलामा छर्कन्छन्। त्यसपछि पूजाका सहभागीहरू सबैलाई खानाका लागि पहिले फलफूल, त्यसपछि मिठाइ, त्यसपछि अण्डा, बारा र रक्सीको सगुन दिइन्छ। यति गरेपछि मूली महिलाले काठ वा धातुले बनेको पुरानो पाथीमा राखेको फूल, फलफूलका टूक्रा र लावा आदि एकएक गरी सबै जनाको टाउकाबाट शरीरमा खन्याएर अभिषेक गर्दछिन् र पालैपालो सबै जनाको टाउको, कुम र घुँडामा ढोग्दछिन्। आफूभन्दा साना अथवा छोराछोरी भएपनि त्यसरी ढोग्ने प्रचलन छ। त्यो भनेको शरीरलाई दिइएको सम्मान हो। पूजा सकिएपछि सबैलाई विशेष प्रकारको खाना दिइन्छ जसमा मासु, बारा, अण्डा, बफाएको माछा र चामलबाट बनाएको रक्सी हुन्छ।

आफ्ना आमाबाबुको मृत्यु भएपछि शोक मनाउन आशोच बारिएको समयमा पनि म्ह पूजामा सामेल हुनपर्ने नेवारी प्रचलनले यो चाड आपतविपत आइलागेपछि आफ्नो शरीर र मनलाई दह्रो बनाई उभ्याउने र विपदको सामना गरी आफूलाई जीवन पथमा लगाउने साहसिक उद्देश्यले मनाउन थालिएको हो जस्तो देखिन्छ। नेपाल सम्वत्को थालनीकै दिन चाड मनाइने प्रचलनबाट पनि यो एक ऐतिहासिक घटनासँग जोडिएको छ भन्ने कुराको अनुमान सजिलै गरी गर्न सकिन्छ।

नेपालमा सबैभन्दा पहिले शक संवत् चलेको तथ्य मानदेव प्रथमको चाँगुनारायण स्तम्भमा अङ्कित लेखले पुष्टि गर्दछ। लिच्छवी कालमै भौमगुप्त सत्ताको सर्वोच्च स्थानमा हुँदा त्यसलाई विस्थापित गरी नेपाल संवत् (पुरानो) चलाइएको थियो र फेरि ३०४ वर्षसम्म चलेको त्यस संवत्लाई पनि विस्थापित गरी नुवाकोटे वैश्य ठकुरी वंशका राजा राघवदेवको पालामा नयाँ नेपाल संवत्को थालनी गरिएको थियो। पृथ्वीनारायण शाहले नेपाल राज्यको स्थापना गरेपछि नेपाल सम्बत्लाई पन्छाएर गोरखा राज्यलगायत पहाडी राज्यहरूमा प्रचलनमा रहेको शक संवत्लाई चलन चल्तिमा ल्याएका थिए। तर अहिले नेपाल राज्यमा आधिकारिक सम्वत्का रूपमा विक्रम संवत् चलाइएको छ। तर यो नेपालको मौलिक संवत् भने होइन। भारतमा राजा विक्रमादित्यले चलाएको त्यस संवत्लाई राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि हामीकहाँ राष्ट्रिय संवत्को स्थान दिइएको छ। म्ह पूजासँग सरोकार राख्ने नेपाल सम्वत् व्यवहारमा लागु नभएपनि नेपाली पात्रोमा भने त्यसको उल्लेख गर्ने गरिएको पाइन्छ र काठमाडौँवासी जनताले त त्यसलाई राष्ट्रिय सम्वतकाे मान्यता दिनुपर्दछ भनी बारम्बार आवाज उठाउँदै आएका छन्।

राजा राघवदेवको पालामा उही नामको नेपाल सम्वतकाे विस्थापित गरी नयाँ सिराबाट नेपाल सम्वत् किन चलाइयो भन्ने कुरा खोजीको विषय बनेको छ। यस सम्बन्धमा नेवारी समुदायमाझ शङ्खधर साख्वा नामका एक जना व्यापारीले तान्त्रिक विधिद्वारा बालुवाबाट बनाइएको सुनलाई नियन्त्रणमा लिएर त्यसलाई बेची जनतालाई ऋणमुक्त गराएकाले नयाँ नेपाल सम्वत् चलाइएको हो भन्ने किम्बदन्ती पाइन्छ। तर वास्तविक तथ्य त्यसभन्दा बेग्लै हुनुपर्छ। ‘काठमाडौँ नगरायण’ नामक ग्रन्थमा संस्कृतिविद् डा. साफल अमात्यले ठूलो दुर्घटनाबाट आफ्नो ज्यान जोगाउन सफल भएका जनताले म्ह पूजा गर्न थालेको कुरा उल्लेख गरेका छन्। त्यही किसिमको अभिव्यक्ति इतिहासकार मुरारी अर्यालले व्यक्त गरेका छन्। उनी भन्दछन्, “म्ह पूजाको पर्व कुनै ठूलो दुर्घटनाबाट जोगिएको आफ्नो जीवनको सम्मानसँग नै सम्बन्धित देखिन्छ।” (अर्याल, २०६५ : ६०)। नयाँ संवत्को सुरुआतसँगै नेपाली जनजीवनले पुनर्जागरण प्राप्त गर्नु र म्ह पूजाको प्रचलन त्यही अवधिबाट हुनुले यस तर्कलाई अन्यथा मान्न सकिन्न। म्ह पूजामा नेपालको इतिहास प्रतिविम्वित भएको छ। यस सम्बन्धमा तलको ऐतिहासिक घटनाक्रमले केही तथ्यहरूलाई प्रकाशमा ल्याएको देखिन्छ।

लिच्छवी राजा जयदेव (द्वितीय) को शासन कालपछि नेपालको झण्डै ५०० वर्षसम्मको इतिहास गायव भएको पाइन्छ। त्यस अवधिका वास्तविक घटनाहरूबारे कहीँ कतैबाट केही जानकारी पाइँदैन। केही खोजकर्ताहरूले के अनुमान गरेका छन् भने लिच्छवी कालमा नेपाली सभ्यताको विकास भए पनि त्यसको आखिरीतिर जनतामा चर्को कर लगाएर राजाहरूले बिलासी जीवन बिताउदा जनताहरूमा असन्तोष फैलिएर राजसत्ता र जनताबीच डरलाग्दो अन्तर्विरोध पैदा भएकै अवस्थामा एकाएक राज्यमा प्राकृतिक विपत्ति आइलाग्दा केन्द्रीय सत्ताको बिघटन भएर स्थानीय सामन्ती सत्ताहरू क्रियाशील रहेको हुनुपर्छ। अनिकाल, भोकमरी र महामारीका साथै भीषण आगलागीले बुढानिलकण्ठदेखि गोदावरीसम्म फैलिएको प्राचीन शहरिया वस्ती भीषण आगलागीमा परी नष्ट भएको घटनालाई प्राचीन सहर बसेको ठाउँमा छिटफूट वस्तीहरू मात्र देखिने र टुकुचादेखि पश्चिम विष्णुमतीदेखि पूर्व र टेकुदोभानदेखि उत्तर नयाँ सहर जन्मने कुराले पुष्टि गर्दछ (रेग्मी, २०७४ : १०८)। त्यतिखेर जनतालाई विपत्बाट जोगाउन राज्यले कुनै राहत प्रदान गरेको देखिन्न, बरु सहरका व्यापारी समुदायले आफ्नै पहलमा सङ्कटबाट जोगिने उपायहरूको खोजी गरेको पाइन्छ। त्यस घटनालाई लिएर एकथरी विद्वान्हरू तर्क गर्दछन् कि त्यसले जनतामा आफ्नै खुट्टामा उभिनु पर्दछ र आफ्नो समस्या आफैँ समाधान गर्नुपर्दछ भन्ने देहवादी सोच उत्पन्न गराएको हुनुपर्दछ र जनस्तरबाटै नयाँ सालको थालनी गरिनुका साथै म्ह पूजाको प्रचलन सुरुभएको हुनुपर्दछ।

म्ह पूजालाई कतिपयले मानिसको शरीरमा रहेको आत्माको पूजा भनेका छन्। पौरस्त्य समाजमा धार्मिक व्यक्तिहरू चेतनालाई आत्माका रूपमा परिभाषित गरेका छन्। तर त्यो चेतना (आत्मा) को पूजा नभई देहको पूजा हो। संस्कृतिविद् सत्यमोहन जोशी भन्दछन्, “म्ह पूजा भन्ने वित्तिकै त्यसको अर्थ हुन जान्छ – आदर सत्कारपूर्वक गरिने देहप्रतिको अर्चना।” (किरण, २०६५ : ८४)। देहको निर्माण भौतिक तत्वहरूबाट हुने भएकाले देहको पूजा भन्नु नै भौतिक तत्व (पदार्थ) प्रतिको सम्मान हो। म्ह पूजालाई आत्मा पूजा भनी अपव्याख्या गर्नुमा हिन्दु धर्मको आत्मावाद कारण बनेको देखिन्छ। म्ह पूजामा आत्मावादीहरूको विधि अपनाई कुनै देवी देवताको पूजा गरिँदैन, त्यसमा देहका साथै दैनिक व्यवहारमा प्रयोगमा आउने घरेलु सर सामानहरू कुचो, नाङ्लो, गाग्री, करुवा, सिलौटो र चूलो आदि भौतिक वस्तुहरूको पूजा गरिन्छ। पूजा गर्नुभन्दा पहिले आफूलाई पुज्ने र आफूले खाने सामग्रीलाई ढोगिन्छ। पूजा सम्पन्न गराउन पुरोहितको भूमिका खेल्ने घरकी मूल महिलाले पूजाका सहभागीहरू सबैका देह (कुम र घूँडा) मा ढोग्दछिन्। त्यसरी देह र भौतिक सामग्रीहरूलाई ढोग्ने प्रचलनमा भौतिक पदार्थप्रतिको आदर सम्मान देखिन्छ। आत्माको पूजा प्रत्ययवादप्रतिको आस्था हो भने देह पूजा भौतिकवादप्रतिको आस्था हो।

पौरस्त्य समाजमा उपनिषद्कालदेखि नै देह र आत्मा भनेका के हुन् भन्ने विषयमा छलफल र बहस हुँदै आएको छ। मानिसमा जुन चेतन शक्ति हुन्छ, त्यसलाई नै आत्मा भनिएको छ। प्रत्ययवादीहरू आत्मा भनेको देहभन्दा भिन्न रहेको सत्ता हो र त्यसले नै शरीरलाई विभिन्न कार्यमा निर्देशित गर्दछ भन्दछन्। उनीहरू देह नाशवान् छ, मरेपछि यो पञ्चतत्वमा विलीन हुन्छ तर आत्मा एक देहको अवसान पश्चात् अर्को देहमा प्रवेश गरी क्रियाशील भइरहन्छ भन्दछन्। उनीहरू आत्मालाई अजर र अमर मान्दछन्। तर भौतिकवादले आत्मा देह बनेपछि पैदा भएको हो र देहको समाप्ति भएपछि स्वत नष्ट हुन्छ भन्दछ।

छान्दोग्य उपनिषद्मा देह र आत्मा सम्बन्धमा इन्द्र र विरोचनको कथा पाइन्छ। कथाअनुसार देवगणका प्रतिनिधि इन्द्र र अशुर गणका प्रतिनिधि विरोचन आत्मा के हो भन्ने जिज्ञासाको समाधानको सन्दर्भमा प्रजापति (ब्रह्मा) समक्ष जान्छन्। पहिला त प्रजापतिले उनीहरूलाई एउटै भाँडामा पानी भरी त्यसमा आ–आफ्नो स्वरूप हेर्न लगाउँछन्। त्यसपछि भन्दछन्, “तिमीहरूले पानीमा जे देख्यौ, त्यही नै आत्मा हो।” प्रजापतिको त्यस भनाइलाई विश्वास गरी विरोचन फर्कन्छन् र आफ्ना गणहरूमाझ त्यही भनाइको प्रचार गर्दछन्। तर इन्द्र प्रजापतिको कथनमा शङ्का व्यक्त गर्दै फेरि फर्केर उनीसमक्ष जान्छन् र भन्दछन्, “यदि शरीर नै आत्मा हो भने शरीर नष्ट हुँदा आत्मा पनि नष्ट हुने भयो । आत्मालाई अमर भनिन्छ, होइन र ? त्यसकारण वास्तविक तथ्य के हो मलाई बताइदिनुहोस्।“ त्यतिखेर बल्ल प्रजापतिले इन्द्रलाई आत्मा देहभन्दा फरक सत्ता हो जुन अमर हुन्छ भनी बताउँछन्। उनका अनुसार आत्मालाई नदेखिएपनि त्यसलाई अनुभवबाट जान्न बुझ्न सकिन्छ। यसरी एउटै व्यक्तिले फरक ढङ्गले फरक व्यक्तिलाई आत्माबारे फरक जानकारी गराउँछन्। त्यसो किन गरियो त भन्दा प्रजापतिले जानाजान अशुरको मति भ्रष्ट बनाउने जालसाजी रचेका हुन् भनी प्रत्ययवादीहरू भन्दछन्। देवगणले पाएको ज्ञान सही हो र अशुर गणले पाएको ज्ञान भ्रमपूर्ण हो भन्ने तिनीहरूको मत छ। तर भौतिकवादको कसीमा हेर्दा देह र आत्माबारे जुन दृष्टिकोण अशुरमा विकास भयो अथवा गरियो, त्यो नै उपयुक्त देखिन्छ। देवगणले प्रत्ययवादी खेमाको र अशुर गणले भौतिकवादी खेमाको प्रतिनिधित्व गरेको देखिन्छ। भौतिकवाद अनुसार देवगणले पाएको ज्ञान अवास्तविक र अशुरगणले पाएको ज्ञान वास्तविक हो।

हिन्दुहरूका पौराणिक ग्रन्थहरूमा देवगण र अशुर गणको जुन सवाल आउँछ, ती भनेका अरू कोही नभएर सिन्ध उपत्यकामा अतिक्रमण गर्ने आर्यहरू र दक्षिण एशियाली उपमहाद्वीपमा पहिलेदेखि नै बसोबास गर्दै आएका स्थानीय आदिवासी जनजातिहरू हुन्। जनजातिहरूका वस्तिमा अतिक्रमण गर्ने आर्यहरू जो पछि हिन्दुधर्म अपनाउन पुगे, तिनीहरूले आफूलाई देवगण र जनजातिहरूलाई अशुर गणमा राखी पौराणिक ग्रन्थहरूमा विभिन्न घटनाहरू र युद्धका कथाहरू रचेका हुन्। तिनीहरूका ग्रन्थमा आफ्नोभन्दा फरक आचरण, संस्कार र रहनसहन भएका मानिसहरूमाथि आग्रहपूर्ण र अमर्यादित तरिकाले प्रस्तुत भएको पाइन्छ। जनजातिका भौतिकवादी सोचाइलाई तिनले अशुर मत भनी हेयका रूपमा लिएका छन्। चार्वाक मतका अनुयायीहरूलाई अशुर भनिएको हो भन्ने कुरा महाभारतमा वर्णन गरिएको चार्वाक ब्राह्मणको कथाले पुष्टि गर्दछ। तर सिन्ध उपत्यकामा आएर भारतीय भूमिमा विस्तार भएका र पछि वैष्णव र शैव धर्म अपनाउँदै उपनिषद्कालपछि धार्मिक सम्मिश्रणका रूपमा हिन्दु सनातनी बन्न पुगेका वैदिक आर्यहरूभन्दा आद्य अथवा प्राकृतिक भौतिकवादी पृष्ठभूमिका अवैदिक जनजातिहरू सोचाइका दृष्टिले निकै उन्नत देखिन्छन्। पौरस्त्य समाजमा विकास भएका चार्वाक, साङ्ख्य, जैन र बौद्ध जस्ता भौतिकवादी दर्शनहरू तिनै अवैदिक मूलका दार्शनिकहरूको योगदान हो। ती दर्शनहरू कट्टर हिन्दुहरूले अँगालेको आत्मावादको विरोधमा उभिएका छन्। तिनका व्याख्या विश्लेषण हिन्दु प्रत्ययवादीहरूका भन्दा धेरै नै तथ्यपूर्ण र वैज्ञानिक देखिन्छन्।

पौरस्त्य समाजमा आत्मा र देहमा कुन पहिलो हो भन्ने सवाल पनि निकै ठूलो वादविवादको विषय बन्दै आएको छ। प्रत्ययवादीहरू सबैभन्दा पहिले परमात्मा (परम+आत्मा) को उदय भएपछि उनीबाट नै सृष्टिका क्रममा मानव देहको निर्माण भएको हो भनी भन्दछन्। परम आत्म तत्व नै यो सम्पूर्ण जगत्को सृष्टिकर्ता हो भन्ने तिनको कथन छ। तिनीहरू देहले आत्माको निर्देशनमा कार्य गर्दछ भन्दछन्। तिनीहरूको विचारअनुसार देहसँग जोडिएपछि आत्मा बन्धनमा बाँधिन्छ र सुख दुःखबाट छुटकारा पाउन सक्दैन। तर जब शरीरलाई छाडेर आत्मा स्वर्ग पुग्छ, त्यसले मुक्ति प्राप्त गर्दछ र त्यहाँ सुखभोग गर्दछ (दासगुप्त, १९७८ : ५१)। यसरी आत्मावादले काल्पनिक स्वर्गमा सुखभोग हुने प्रलोभन देखाई वास्तविक संसारलाई मिथ्या बताएको छ।

भौतिकवादी चार्वाक दर्शनले भने पदार्थको विकासबाट नै देहतत्वको विकास भएको हो र आत्मा अथवा चेतना शरीरसँगै उत्पन्न हुने विषय हो भन्ने मान्यता राख्दछ। त्यसले देह बन्ने तत्वहरू पृथ्वी, जल, तेज र वायु छुट्टाछुट्टै अवस्थामा छँदा देह, चेतना वा आत्मा केही पनि देखिँदैन तर जब ती तत्वहरूको संयोगबाट देहको निर्माण हुन्छ, तब त्यसमा चेतना पैदा हुन्छ भन्ने दृष्टिकोण अघि सार्दछ। चार्वाक दर्शनअनुसार आत्मा देहभन्दा फरक सत्ता भएको वस्तु होइन, देहकै अभिन्न अङ्ग हो। जसरी उष्णता अग्नीसँगै रहन्छ, उसरी नै आत्मा देहसँग रहन्छ (चट्टोपाध्याय, २०१३ : ३८)। चार्वाक दर्शनको मत के छ भने भौतिक तत्वहरूको मिश्रण हुँदा त्यसमा आफसेआफ क्रिया र प्रतिक्रियाहरू उत्पन्न हुन्छन् जसको परिणामस्वरूप वस्तुहरू स्वतन्त्र अस्तित्वमा छँदा नरहेका गुणहरू पनि स्वतः पैदा हुन सक्छन्। यस कुरालाई पुष्टि गर्न चार्वाक दर्शनले मादक तत्वको उदाहरण प्रस्तुत गर्दछ। दर्शन भन्दछ कि खाद्यपदार्थ र मर्चा छुट्टाछुट्टै अवस्थामा रहँदा तिनमा मादक तत्व पाइन्न। तर जब तिनलाई विशेष ढङ्गबाट मिश्रण गरिन्छ, मादक तत्वको उत्पत्ति हुन्छ। त्यसै गरी चार्वाक दर्शनले पानको अर्को उदाहरण प्रस्तुत गर्दछ। दर्शनअनुसार पान सुपारी, चूना र कत्था छुट्टाछुट्टै वस्तुका रूपमा हुँदा तिनमा कुनैमा पनि रातो रङ्ग देखिन्न। तर जब ती वस्तुको संयोजन गरिन्छ, रातो रङ्गको उत्पत्ति हुन्छ। यसरी सामान्य उदाहरणहरूको सहयोगबाट चार्वाक दर्शनले अचेतन भौतिक तत्वहरूको संयोगबाट चेतना (आत्मा) अथवा जैविक तत्वको उत्पत्ति हुन्छ भनी प्रमाणित गरेको छ। त्यसले के कुरा औँल्याउँछ भने जब पृथ्वी, अन्न, वायु र जल जस्ता भौतिक पदार्थको सम्मिश्रण हुन्छ, प्रतिक्रिया स्वरूप बनेको जैविक शरीरमा चेतना पैदा हुन जान्छ। जीवित प्राणीमा चेतना त्यस बेलासम्म रहन्छ, जबसम्म जीवनको सञ्चार भइरहन्छ। मृत्युपछि जब शरीरका भौतिक तत्वहरूको बिघटन हुन्छ, चेतना पनि नष्ट भएर जान्छ। त्यसैले शरीर मरेपछि पनि आत्मा रहन्छ र त्यसले स्वर्गमा सुखभोग गर्दछ भन्ने भनाइ भ्रमपूर्ण हो। चार्वाक प्रश्न गर्दछ – डढाएर खरानी बनेको देहको पुनर्जन्म कसरी हुन्छ ? (भष्मिभूतस्य देहस्य पुनारागमनम् कुतः ?)

प्राचीन बौद्ध दर्शनले पनि चार्वाकले झैँ बारम्बार देहवादको समर्थन गरेको देखिन्छ (चट्टोपाध्याय, २०१३ : ३९)। बौद्ध ग्रन्थहरूमा अजित केसकम्वली, मख्खली गोशाल र पायसी जस्ता देहवादी विद्वानहरूका धारणाहरूको चर्चा गरिएको छ। उनीहरू देहलाई आत्माको स्रोत र आश्रयस्थल मान्दछन्। बौद्ध दर्शनअनुसार मानिसको व्यक्तित्व जसलाई आत्माका रूपमा प्रस्तुत गरिएको छ, कुनै लामो समयसम्म रहिरहने र नबदलिने विषय होइन। यो भनेको मानिसको शरीर, बुद्धि, स्वभाव, स्नायुतन्त्र आदिको संयोग हो। यदि यौगिक अङ्गहरूमा परिवर्तन हुन्छ भने आत्मामा नहुने कुरा आउन्न। बुद्ध भन्दछन् कि मानिसहरू मिथ्या आत्माको पछि लागेर म, मेरो, मलाई आदि सङ्कीर्ण व्यक्तिवादी आग्रह पालिरहेछन् र त्यही भावनाले गर्दा नै मानिसमानिसबीच स्वार्थको पर्खाल खडा भएको छ । (रेग्मी, २०७७ : १४५)।

नेवार समुदायले तिनै देहवादी चार्वाक र बौद्ध दर्शनहरूबाट प्रभावित भएर नै म्ह पूजाको प्रचलन बसाल्न पुगेको देखिन्छ। केही नेवार विद्वान्हरू म्ह पूजाले देहवादी पञ्चतत्वलाई महत्व दिएको कुरा बताउँछन् । उनीहरू भन्दछन् कि देहमा रहेको मासु पृथ्वी (थल) तत्व हो, रगत जल तत्व हो, श्वासप्रश्वास वायु तत्व हो, शरीरभित्र भएको खाली भाग आकाश तत्व हो र शरीरमा विद्यमान पाचन शक्ति अग्नी (तेज) तत्व हो। उनीहरू पूजाका अवसरमा दिइने सगुनले पञ्च तत्वलाई साङ्केतिक रूपमा जनाउने सवाल अघि सार्दछन्। उनीहरूका अनुसार मासुले थल तत्व, अण्डाले आकाश तत्व, बाराले वायु तत्व, माछाले जल तत्व र रक्सीले तेज तत्वको प्रतिनिधित्व गर्दछ (अमात्य, २०१९ : २)।

लिच्छवी शासनकालमा नेपाली समाजमा बौद्ध र चार्वाक दुवै दर्शनहरूको प्रभाव थियो। यो कुरा राजा नरेन्द्रदेवको पालाको नेपालबारे वर्णन गर्ने क्रममा तात्कालीन नेपालस्थित चिनिया राजदूतले “नेपालीहरू फलित ज्योतिष र भौतिकवादी दर्शनको अनुसन्धानमा संलग्न रहन्छन्” भनी उल्लेख गरेको प्रसङ्गबाट प्रमाणित हुन्छ (किरण, २०६५ : ७१)। हाँडीगाउँमा भेट्टिएको लिच्छवीकालीन गुप्त विद्वान् अनुपरमले सत्यनारायण स्थानको अगाडि रहेको गरुड स्तम्भमा उत्किर्ण गराएको द्वैपायन स्तोस्त्रमा पनि सौगतादी (बौद्धहरू) भनेर बहुबचनको प्रयोग गरी कर्मकाण्ड र यज्ञयज्ञादी कार्यको बिरोध गर्ने भौतिकवादीहरूलाई कुमती, अहङ्कारी, कुतार्किक आदि गालीगलौज गरेकाले पनि त्यतिखेरको नेपालमा देहवादलाई अँगाल्ने भौतिकवादी दर्शनहरू चार्वाक दर्शन र बौद्ध दर्शनको बलियो उपस्थिति भएको बुझिन्छ।

म्ह पूजा बौद्ध दर्शनको तन्त्रवादी बज्रयान शाखाबाट पनि प्रभावित भएको देखिन्छ। नेपालका नेवार समुदायमा वज्रयानीहरूको सङ्ख्या धेरै नै रहेको छ। वास्तविक वज्रयानको मार्ग मोक्ष प्राप्त गर्ने होइन। त्यसको उद्देश्य तीन बज्र (शरीर मन र बचन) को एकत्वलाई पहिचान गर्नु हो। त्यो दर्शन देहसँग सम्बन्धित छ। तन्त्रवाद देहवादको उग्रतम रूप हो। त्यसले भौतिक क्रियाकलापलाई विशेषगरी देहभित्रको तत्व र उर्जालाई महत्व दिन्छ। असली तन्त्र साधकहरूमा आत्मा र परलोक जस्ता कुराप्रति अथवा दैवी शक्तिप्रति आशक्ति देखिन्न। सबै खालका तन्त्रहरूको मूल मन्त्र हुन्छ – “ब्रह्माण्डे ये गुणा सन्ति ते तिष्ठति कलेवरे।” भनाइको अर्थ हो – मानव शरिर नै एउटा सूक्ष्म ब्रह्माण्ड हो। वास्तविक तन्त्र साधकहरू देहवादी नै हुन्छन्। तिनीहरू प्रत्ययवादीहरूले झैँ सांसारिक जगत्बाट मोक्ष प्राप्त गरी स्वर्ग जाने अभिलाषा राख्दैनन्। देहको साधनामा मोक्षको अभिलाषा भनेको सांसारिक विकास र सुखसमृद्धिको प्राप्ती नै हो। तान्त्रिकहरूका दृष्टिमा मोक्षको अर्थ हुन्छ देहको विकास र पूर्णता (चट्टोपाध्याय, २०१३ : २८१)।

हिन्दु धर्ममा पूजा पाठ गर्ने तर मानिसहरूबीच भेदभाव र उचनीचको भावना फैलाउने ब्राह्मण पण्डितहरूका विचार विरुद्धमा जसरी शैव कपालिकहरूले विद्रोह गरी तन्त्रवादलाई जन्म दिए, उसै गरी बौद्ध तन्त्रवाद मठ–बिहारमा ध्यान, जप तप र प्रार्थना गरी बस्ने प्रत्ययवादी भिक्षुहरूको आचरण विरुद्ध अथवा तिनको सामन्तवादी गतिविधि विरुद्ध प्रदर्शित व्यवहारका रूपमा अस्तित्वमा आएको देखिन्छ। त्यसकारण वज्रयानलाई यथास्थितिवाद विरुद्धकोे दर्शनका रूपमा लिइन्छ। नेपालमा वज्रयानको प्रचार गर्ने बौद्ध आचार्य पद्मसंभव हुन्। तिब्बतमा तन्त्रवादी वज्रयानी बौद्ध धर्मको प्रचार गर्ने पनि उनै हुन् । तिब्बतमा उनलाई ‘गुरु रिम्पोचे’ भन्दछन् र बुद्धको अवतारको रूपमा मान्दछन् । लिच्छवी कालीन समयमा नेपाल आई उनी केही समय यहाँ बसोबास गरेका थिए (रेग्मी, २०७४ ः ९८) ।
म्ह पूजा देहवादी वज्रयानीे तन्त्रवादबाट प्रभावित भएको कुराको प्रमाण पूजाका अवसरमा प्रयोग गरिने मण्डला पनि हो । वज्रयानीहरूले तन्त्र साधनामा मण्डलाको प्रयोग गर्दछन् र त्यसलाई ब्रह्माण्ड अथवा संसारको प्रतिविम्बि मान्दछन् । म्ह पूजामा प्रत्येक पूजकका सामुन्ने एकएक वटा मण्डला स्थापना गर्नुको अर्थ देह र ब्रह्माण्डबीच सम्बन्ध छ भनी देखाउनु हो (मानन्धर, २०१८ ः १) । मण्डलामा सम्पूर्ण र अंशबीचको सम्बन्धलाई व्यक्त गरिएको हुन्छ । मण्डलाले विश्व जगत् सम्पूर्ण हो र एक जना व्यक्ति त्यसकै एउटा अंश हो भन्ने भाव व्यक्त गर्दछ । त्यसले शरीर सम्पूर्ण हो भने त्यसका विभिन्न अङ्गहरू हात खुट्टा, टाउको, छाती आदि अंश हुन् भनी बताउँछ । जगत्मा विद्यमान तत्वहरूबाट नै मानव देहको निर्माण भएको हो र मरेपछि मानिस त्यही जगत्को गर्भमा विलीन हुन्छ भन्ने विश्वास देहवादीहरूमा हुन्छ ।
कतिपयले देहवादी म्ह पूजालाई स्वार्थको दर्शन भनेका छन् । यो आफूलाई मात्र ध्यान दिने व्यक्तिवादी दृष्टिकोण हो भनी तिनीहरूले निन्दा गरेको पाइन्छ । देहवादी चार्वाक दर्शनलाई पनि शङ्कर जस्ता आत्मावादीहरूले सुखवादी ९ज्भमयलष्कत० दर्शन हो र त्यस्को उद्देश्य खाने पिउने र मोज गर्ने हो भनी प्रहसनको विषय बनाएका थिए । उक्त दर्शनमाथि प्रत्ययवादीहरूको हमला आजसम्म पनि कायमै छ । चार्वाक मतले ऋण गरेर भए पनि घिउ खाउ भन्दछ भन्दै त्यस दर्शनमाथि मिथ्या आरोप लगाइएको छ । तर चार्वाक दर्शनले मिहेनत र श्रमलाई महत्व दिन्छ । जङ्गली जनावर वा घरपालुवा पशुले बाली नष्ट गर्दछन् भनेर खेती–पाती नगर्ने अथवा माग्नेहरू खाना माग्न आउँछन् भनी खाना नपकाई बस्ने हो भने यस संसारमा मानिसको गुजारा कसरी चल्दछ भनी प्रश्न गर्दै चार्वाक दर्शनले जनतालाई कर्ममा संलग्न हुन अपील गर्दछ । त्यसको मान्यताअनुसार मानव अस्तित्व यसै जीवनमा सीमित छ र वर्तमान नै उपयुक्त अवसर हो । अतीत बितिसकेको छ र भविष्य अनिश्चित छ । हाम्रो अधिकार केवल वर्तमानमा नै छ र यसको भरपूर उपयोग गर्नुपर्दछ । चार्वाक दर्शन भन्दछ कि भोलि मयूरको मासु खान पाइन्छ भनेर हातमा आइपरेको परेवालाई फुत्किन दिनु हुँदैन । ‘‘बरमद्य कपोतः श्वो मयूरात्’’। दर्शनको मान्यता छ कि पछि पाउने सुनको सिक्काभन्दा हात परेको कौडी नै बढी मूल्यवान् हुन्छ अथवा वर्तमानको सुखलाई छाडेर भविष्यको सुखको खोजीमा भौतारिनु अदूरदर्शिता हो (रेग्मी, २०७७ ः १११) । देहवादी दृष्टिकोण अँगालेको हुनाले म्ह पूजामाथि चार्वाक दर्शनलाई झैँ व्यक्तिवादको आरोप लगाइएको छ । देहलाई महŒव दिने सवाल स्वार्थसँग कसरी गाँसिन्छ र ? आफूलाई चिन्नु भनेको अरूलाई पनि चिन्नु हो । आफ्नो शरीरको माया गर्नेले अर्काको शरीरको पनि माया गर्न जान्दछ । नेपालीमा उखान छ – आफू भलो त जगत् भलो । स्वयंलाई जान्नु भनेको अरूलाई पनि जान्नु हो । दोस्रो कुरा देहवाद भनेको केवल शरीरसँग गाँसिएको विचार होइन, यो भनेको भौतिक संसार र वर्तमानलाई महŒव दिने दृष्टिकोण हो । यो भनेको काल्पनिक ईश्वर र काल्पनिक स्वर्ग नरक सम्बन्धी मिथ्या धारणा अँगालेर आफूलाई मिथ्या शक्तिको दास बनाउने कार्य नगरी आफ्नो मिहेनत र प्रयत्नमा भर पर्नु पर्दछ भनी आत्म विश्वास जगाउने दर्शन हो ।
समाजमा आगलागी जस्तो डरलाग्दो दैवी विपत्ति आइलागेको अवस्थामा भौतिक सम्पत्तिको क्षति भए पनि देह बाँकि भएकाले हिम्मत नहारी श्रममा जुटी पुनर्निमाणमा भाग लिने अटोट र मनसायबाट म्ह पूजाको संस्कृतिको आरम्भ भएको तथ्यप्रति बेवास्ता गर्न मिल्दैन । त्यसकारण म्ह पूजालाई सङ्कुचित दृष्टिबाट हेरिनु हुँदैन । म्ह पूजाको तात्पर्य सबैले आफ्नो देहलाई स्वस्थ राखे सम्पूर्ण विश्व नै सुखमय हुन्छ भन्ने हो । त्यसको अभिप्राय व्यक्तिव्यक्तिको प्रगति हुन सके सम्पूर्ण समाजकै प्रगति हुन्छ अथवा प्रत्येक व्यक्तिले समृद्धि हासिल गरे सिङ्गो देशले नै प्रगति गर्न सक्छ भन्ने हो । पूजाका अवसरमा प्रत्येक सहभागीहरूले जुन वत्ती बाल्दछन् त्यसको तात्पर्य आफूले समाज र देशलाई उज्यालो दिनुपर्छ भन्ने हो ।
परलोकप्रतिको विश्वास र ईश्वरभक्तिले भरिपूर्ण भएका हिन्दु चाडपर्वहरूको तुलनामा देहलाई महŒव दिने भौतिकवादी दृष्टिकोणमा आधारित म्ह पूजा धेरै नै प्रगतिशील देखिन्छ । यद्यपि यो पनि कमी कमजोरीबाट मुक्त भने छैन । भौतिकवादी सोचबाट चाडको परम्परा थालनी भएको भए पनि आजसम्म आइपुग्दा यसमा केही मात्रामा अन्धविश्वासमा आधारित गतिविधिहरू समाविष्ट भएका छन् । हिन्दु धर्मको प्रभावले कुनैकुनै नेवारी समुदायले यस अवसरमा अन्य देवीदेवताको पूजालाई समेत समावेस गर्न थालेका छन् । म्ह पूजालाई जनताको संस्कृतिमा विकास गर्नका लागि ती सम्पूर्ण कमी कमजोरीहरू हटाएर यसलाई शारीरिक परिश्रम र मिहेनतको सम्मान गर्ने पर्वका रूपमा आधुनिक वैज्ञानिक ढङ्गबाट मनाउने पद्धति अवलम्बन गर्नुपर्दछ ।

सन्दर्भ सामग्रीहरू
अमात्य, उदयबहादुर, २०१९, म्ह पूजा के हो, कसरी गर्ने र किन गर्ने ?, दगममजबदबलष्।अयm।लउ
अर्याल, मुरारी, २०६५, नेपालमा चलेका तथा नेपालमै उठेका सम्वत् र म्ह पूजाको सांस्कृतिक परम्परा, भृकुटी, वर्ष १, अङ्क ३, भृकुटी एकेडेमिक पब्लिकेसन्स, काठमाडौँ
किरण, २०६५, नेपाली समाज र संस्कृति ः एक संक्षिप्त अध्ययन, विवेक शीर्जनशील प्रकाशन प्रा.लि.
चट्टोपाध्याय, देवीप्रसाद, २०१३, लोकायत, प्राचीन भौतिकवादका अध्ययन, राजकमल प्रकाशन, नई दिल्ली
दासगुप्त,एस.एन., १९७८, भारतीय दर्शनका इतिहास, राजस्थान हिन्दी ग्रन्थ अकादमी , जयपुर, भारत
मानन्धर, आर, २०१८, बज्रयानअनुसार म्ह पूजाको अध्यात्मिक रहस्य, जततउकररदयमजष्तख।तख
रेग्मी, रामराज, २०७४, नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण, जागरण बुक हाउस, बागबजार, काठमाडौँ
रेग्मी, रामराज, २०७७, पूर्वीय दर्शनमा भौतिकवाद, दोस्रो संशोधित संस्करण, जागरण बुक हाउस, वागबजार, काठमाडौँ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्