यस्ताे छ पार्टी फुटाउने याेजनाकाे नालीबेली

KP Oli-Prachanda-Madhav Nepal
दिलनिशानी मगर

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गर्नुको कुनै अर्थ नभएको भन्दै कात्तिक ४ गतेयता प्रचण्ड बालुवाटार छिरेका थिएनन्। बरु ’यसो नगर्नुहोस् न प्लिज’ भन्दै ओलीको दूत बनेर नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली यो बीचमा खुमलटार जानेरआउने गरेका थिए। पौडेल तिनै नेता हुन्, जसले पार्टीलाई पटक-पटक अप्ठ्यारो स्थितिबाट जोगाउन भूमिका खेल्दै आएका छन्।

’भारतीय प्रधानमन्त्री मोदीका दूत रअ प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटघाट गरेपछि तपाईंहरूलाई पनि त्यस्तै दूत बन्ने रहर जाग्यो’ भन्दै प्रचण्डले खुमलटार पुग्ने नेताहरूसँग हाँसीमजाक गर्ने गरेका थिए। तर हाँसीमजाकका बीच नेकपामा ठूल्ठूला काण्ड घटिरहेका थिए, जसले प्रचण्डलाई पीडा दिँदै आएका थिए। जनताहरू अक्सिजन नपाएर छट्पटाइरहेका बेला सरकारले आत्मसमर्पण गरेको थियो, कोभिड संक्रमितको निःशुल्क उपचार नगर्ने भनेर। त्यस्तो घिनलाग्दो सरकारी हर्कत प्रचण्डलाई मन परिरहेको थिएन। अस्ति साँझ मात्रै प्रचण्डले आफू निकटका एक नेतालाई खुमलटारमा बोलाएर दुःखेसो शेयर गर्दै भनेका थिए- ’यो त गणतन्त्रको नै बदनाम हुने काम भइरहेको छ, अर्को चुनावमा जनतासामु कसरी मुख देखाउने।’

यसरी पार्टी अध्यक्षबीचको संवादहीनताको अवस्थामा दूतहरूको अथक प्रयासपश्चात अन्ततः शनिबार दिउँसो डेढ बजे दुई अध्यक्षबीच भेटवार्ता भयो। तर उनीहरूबीच पार्टीभित्रको समस्या समाधान गर्ने विषयमा छलफल प्रारम्भ हुनै सकेन। बरु विगतमा जस्तै नोकझोकको स्थिति बन्यो। प्रचण्ड सोफामा बसेर प्रधानमन्त्री केपी ओलीतर्फ हेरिरहेका थिए। ओली अप्रासंगिक ढंगले जंगिए- ’मलाई मिडियाले यत्रो खेदिरहेको छ। तपाईं उल्टो फेसबूकमा नानाथरी लेखेर बस्नुभएको छ। सिराहाका मुकेश चौरसियालाई कसले मारेको हो प्रहरीले पत्ता लगाइहाल्छ नि। तपाईंकै कमरेड बादल गृहमन्त्री छन्, फेसबूकमा किन लेख्नुभएको हो ? किन छुट्टै विज्ञप्ति निकाल्नुभएको हो ?’

सरकार सञ्चालन र पार्टीका समस्याका बारेमा छलफल गर्न गएका बेला कुनै मन्त्रालयका सचिवलाई जस्तै व्यवहार गरेर एक्कासि ’फेसबूकमा किन लेखेको हो?’ भन्ने ओलीको प्रश्न सुनेपछि शुरूमा प्रचण्ड अक्क न बक्क परे।  अनि प्रचण्डले जवाफ फर्काए, ’तपाईं कस्तो कुरा गर्नुहुन्छ प्रधानमन्त्रीजी, त्यहाँ के भएको छ त्यो भिडियो आइसकेको छ, प्रहरीले जाहेरी लिन मानिरहेको छैन। चौरासिया कात्तिक ६ गते विन्दावासिनी गाउँपालिका पार्टी कमिटीको शपथग्रहण कार्यक्रममै मारिएका छन्। उनी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव थिए। मैले पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले दोषी जोसुकै भएपनि कानूनी कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको हुँ। मैले के अपराध गरें ?’

ओलीले प्रतिवाद गरिहाले– ’मसँग सल्लाह नगरी तपाईंले त्यस्तो विज्ञप्ति निकाल्न मिल्छ?’ ओलीको प्रतिप्रश्न थियो। ओलीले हेपाहा शैलीमा भनेका थिए- ’मैले कर्णाली प्रदेशका मुख्यमन्त्रीका विषयमा धेरै कुरा सुनें। उनी जनताको भावनाविपरीत नाजायज काम गर्दै हिँडेका छन्। हाम्रा मान्छेलाई अनाहकमा दुःख दिएका छन्, पेलेका छन्। त्यही भएर मैले प्रधानमन्त्रीको हैसियतमा ती शाहीलाई बर्खास्त गर्ने पहलकदमी लिएकै हो। तपाईंले फेरि किन लिखित विज्ञप्ति निकाल्नुभयो ? एउटा कार्यकारी प्रधानमन्त्रीले चाहेमा मुख्यमन्त्री परिवर्तन गर्न सक्दैन ?’

प्रचण्डको जवाफ थियो– ’कसले कति गरेको छ त्यो जनतालाई राम्रोसँग थाहा छ। तपाईं देशको प्रधानमन्त्री हो, कुनै गुटको हैन। त्यहाँ के भएको हो त्योबारे म राम्रोसँग अपडेट छु। जे भयो ठीकै भएको छ। मैले आफूलाई लागेको कुरा अध्यक्षको हैसियतले जायज नै गरेको छु।’

प्रचण्डले प्रश्न गरे, बरु भारतीय रअ प्रमुखको नेपाल भ्रमण के कति प्रायोजनका साथ भएको हो ? तपाईंसँगको भेटमा के कस्तो संवाद भएको हो ? नेपालको नयाँ नक्सा भएको पाठ्यक्रम किन रोकियो ? जनताको उपचारबाट सरकार किन पछाडि हट्यो ? यस्ता कयौं विषयमा छलफल गर्नुपर्ने छ । तत्काल पार्टीको बैठक बस्नुप¥यो।’

पार्टीको बैठक बस्नुपर्ने प्रचण्डको माग सुन्नासाथ ओली विगतमा जस्तै झर्किए, अनि भने– ’बैठक किन राख्ने ? बैठकसैठक केही बस्नुपर्दैन। तपाईंसँग नबसेर पनि सरकार चलेकै छ। यो कोरोना महामारीका बेलामा जनतालाई बैठक हैन औषधि चाहिएको छ। बरु त्यतातिर ध्यान दिऊँ। मैले त्यतातिर ध्यान दिएको छु।’

बहुसंख्यक नेताहरूको माग बैठक बस्नुपर्ने भएको भन्दै प्रचण्डले सम्झाउन खोजे तर ओली झर्किन छाडेनन्। बरु झन् झर्किंदै भने- ’बैठकको निर्णय मान्ने मान्छे म हुँ ? मान्ने भएको भए त तपाईंको कुरा पहिले पनि मान्ने थिएँ नि ! तपाईंले के–के भन्नुभयो। मलाई असफल बनाउने रणनीतिमा लाग्नुभयो, तर म आफ्नै ढंगले चलेर सफल भएँ। म सफल प्रधानमन्त्री भएँ ।’

प्रचण्डका सामुन्ने आफ्नो प्रशंसा गर्दै केपी ओलीले थपे, ’म जनताको दुईतिहाइ बहुमतको प्रधानमन्त्री हुँ। तपाईंले जे भन्यो त्यो खुरुखुरु मान्न म प्रधानमन्त्री भएको हैन। म बैठक राख्दिनँ र तपाईंहरूले बैठक राख्नुभयो भने त्यसको निर्णय पनि मान्दिनँ। कसैका टाउको, कसैका खुट्टा गनेर तपाईंहरू बहुमत जुटाएर केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बैठक गर्नुस् तर म मान्दिनँ। मलाई तपाईंहरूको कुनै पनि निर्णय स्वीकार्य हुँदैन। यो सरकार त्यसरी चल्दैन।’

केपी ओलीको पुरानै शैली र तर्क सुनेर प्रचण्ड आक्रोशित बने। उनले भने- ’तपाई एक्लै चुनाव लडेर दुईतिहाइ बहुमत आएको हो ? तपाईं पार्टीविहीन निरंकुश प्रधानमन्त्री हो ? तपाईं विधि, पद्दति नभएको पार्टीको अध्यक्ष हो ? अनि हामीचाहिँ जनताको नेता हैन ? संघीय लोकतान्त्रिक गणतन्त्रका लागि कसको कति योगदान छ, तपाईं भित्रैबाट सोचेर भन्नुहोस्। संविधानको, समावेशी नेपालको सबैभन्दा धेरै माया कसलाई छ ?’

प्रधानमन्त्री ओलीको तर्क सुनेर हार खाएका प्रचण्डले अति गरे खति हुन्छ भन्दै थपे-’ल ठीकै छ, तपाईंलाई जे मन लाग्छ, त्यही गर्नुहोस् प्रधानमन्त्रीज्यू। अब मसँग कुनै संवादको अपेक्षा पनि नगर्नुहोस्। म तपाईंसँग साँच्चै थाकिसकें। तपाईंलाई पार्टीको विधि पद्दति केही लाग्दैन, जनताको जनजीविकासँग पनि कुनै सरोकार छैन। तपाईं मेरो कुरा नै सुन्नुहुन्न भने त म तपाईंको उपदेश पनि किन सुनौं ? तपाई एकल ढंगले चलेपछि त के गर्न सकिन्छ र ? म साथीहरूसँग सल्लाह गर्छु’ भन्दै प्रचण्ड उठेर हिँड्न खोजे।

’तपाईंका साथीहरू मैले नचिनेको हैन, नभोगेको हैन । माधव नेपाललाई प्रधानमन्त्रीको आश्वासन दिनुभएको छ रे, कुरा के हो ?’ उठेर हिँड्न लागेका प्रचण्डलाई अल्झाउन खोज्दै प्रधानमन्त्रीले सोधे। ’तपाईंलाई क-कसले के–के कुरा सुनाउँछ, कसले कान फुक्छ त्यो सबैको मैले जिम्मेवारी लिनुपर्दैन,’ प्रचण्डले थपे- ’भन्ने नै हो भने माधव नेपालजी तपाईंभन्दा धेरै असल नेता हो। नेतृत्व क्षमता भएको नेता हो। उहाँ प्रधानमन्त्री हुँदा आकाश त खस्दैन, बरु तपाईंको भन्दा राम्रो नै हुन्छ। तपाईंले त्यस्तो सुन्नुभएको छ भने, उहाँलाई प्रधानमन्त्री बनाऊँ न त ! बनाउने ? मेरो त उहाँलाई प्रधानमन्त्री बनाउने कुरामा समर्थन रहनेछ।’

’विचरा माधव नेपाललाई किन बोक्नु हुन्छ ? बरु म आफैँ प्रधानमन्त्री बन्न मन लाग्यो भन्नुहोस् न !’ प्रधानमन्त्री ओलीले भने। ’मलाई प्रधानमन्त्री दिने ? ल दिनुहोस्, म कुन आधारमा प्रधानमन्त्री नहुने देख्नुभयो ? चुनाव जितेकै छु, दुईपटक प्रधानमन्त्री भएको अनुभव छ। पार्टी अध्यक्ष हुँ । ओलीको खिस्सीटिउरीबाट रिसाएका प्रचण्डले थपे, ’फेरि तपाईं र मबीच चुनाव र एकताका सन्दर्भमा के सहमति भएको थियो ? के त्यो सहमति अक्षरशः पालना गर्न सक्नुहुन्छ ? तपाईं कति वर्ष भयो प्रधानमन्त्री भएको, बाहिर यो सरकारको बारेमा के कस्ता टिप्पणी छन्, विचार गर्नुभएको छ ?’

’बाहिर केही आएको छैन, सबै राम्रो छ। जनता यो सरकारसँग धेरै खुशी छन्। हामीले रेल पनि उद्घाटन गरिसक्यौं। केही नियोजित मिडिया र फेसबूकरट्विटरको हल्लाको पछाडि नदौडिनुहोस्। बरु सक्नुहुन्छ भने तपाईंले पनि फेसबूकमा लेख्न छाड्नुहोस्। फेसबूक चलाएर काम छैन।’

ओलीले धम्कीपूर्ण भाषामा थपे– ’यदि तपाईंहरूले छुट्टै बैठक गर्नुभयो भने पनि त्यसको बदलामा म ठूलो एक्सन लिन्छु। त्यसैले बरु पार्टी नै अलगरअलग गरौं ।’

पार्टी अलग गरौं भन्ने केपी ओलीको प्रस्ताव सुन्नेबित्तिकै प्रचण्डले भने, ’मैले फेसबूक चलाएको छैन, पार्टीका आधिकारिक विज्ञप्तिहरू सहयोगीमार्फत् सामाजिक सञ्जालमा आउने हुन्। बरु तपाईं नै ट्विटर चलाएर थाक्नु हुन्न। ल यस्ता झिनामसिना कुरा नगरौं। प्रधानमन्त्रीज्यू, यिनै पुराना कुरामा बहस नगरौं। तपाईं पार्टीको सल्लाह नै नमान्ने, विधि पद्दति नै नमान्ने, सधैँ अत्यन्तै ’डिसरेस्पेक्ट’ गरेर संवाद गर्ने। यसरी त कसरी हुन्छ भन्या ? म गएँ, अब यसरी हुँदै हुँदैन।’

लामो समयदेखि रिसाएका प्रचण्ड ’केही नयाँ हुन्छ कि’ भनेर बालुवाटार छिरेका थिए। तर निस्किने बेला पनि केपी ओलीको पुरानै कुरा सुनेर निस्किए। अनि सरासर खुमलटारस्थित निवास गए। ओलीसँगको भेटबारे प्रचण्डबाट यो ब्रिफिङ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले खुमलटारमा सँगै बसेर सुने। फेरि पार्टी फुटाउने कुरा आयो भन्ने सुन्दा नेपाल रातोपिरो भए। खनालले टाउको हल्लाए। श्रेष्ठ मुसुक्क हाँसे। भएको यत्ति हो ! लोकान्तर अनलाइनबाट साभार।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्