राष्ट्रियताको साँचो परिभाषा

nepal
कुसुम केशव पराजुली

तत्कालीन एकीकृत नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि सबैले केही गर्छ भन्ने ठानेका थिए। राष्ट्रियता, जनजीविका र आम नागरिकको सामाजिक आर्थिक समुन्नतिको आशा बढ्यो। राजनीतिक लडाई समाप्त भयो अब आर्थिक सांस्कृतिक क्रान्तिको तयारी गर्नु पर्छ भनेर राजनेताहरू टुँडिखेलमा कुर्लिए। माओवादीको हेटौडा राष्ट्रिय भेला हुँदै थियो, त्यहाँ पनि त्यही कुराले प्राथमिकता पायो। कैयौँ राजनीतिक प्रस्तावहरू सहमति असहमतिका बिच पारित भए पनि कमरेड प्रचण्डले ‘उत्पादन ब्रिगेड’ को कुरा उठान गर्नुभयो। उक्त सम्मेलनको सहभागी म थिइन तर कमरेड प्रचण्डले हाम्रो बिचारको प्रतिनिधित्व गरेर उत्पादन ब्रिगेडको घोषणा गरेकोमा बधाई र धन्यवाद ज्ञापन गर्‍यौं।

त्यससँगै कमरेड प्रचण्डलाई जनादेश साप्ताहिक पत्रिका मार्फत उहाँले उठाउन खोज्नु भएको उत्पादन ब्रिगेड स्वयम उहाँकै राजनीतिक दल, प्रतिपक्षीहरू र राज्यका धेरै निकायबाट सफल पार्न यस कारणले दिने छैनन् भनेर ठोकुवा लगाएको थिए। आखिर उत्पादन ब्रिगेड निर्माण र राष्ट्रको समाजवाद उन्मुख समुन्नति बिस्तारै छायामा पर्दै गयो। राष्ट्रिय पूँजीको निर्माण र परनिर्भरताको न्यूनीकरण उत्पादन ब्रिगेड निर्माणसँग जोडिएका थिए। हाम्रो जस्तो आर्थिक विपन्नता र पछौटे मुलुकमा त्यस्तो उत्साही कार्यक्रम विदेशी पूँजीका दलालले किन लागु गर्न दिन्थे र ? परिणाम समाजवाद उन्मुख राज्य व्यवस्था अर्थात् वर्तमान नेकपाले भनेको जनताको जनवाद वा प्रतिपक्षी दल नेकाले भनेको लोकतान्त्रिक समाजवादमा पुग्नै नदिने चक्रव्यूहमा नेपाललाई फसाइएको छ।

पहिलो जन आन्दोलन भनिएको २०४५/०४६ को राजनीतिक आन्दोलन निर्दलीय पञ्चायती व्यवस्थाको ठाउँमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र थियो। निरङ्कुश राजतन्त्रबाट वाक्क भएका राजनीतिक दलले बहुदलीय व्यवस्था भए पनि ठिकै छ भनेर फुक्न थाले। नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले जताततै बोल्दै हिँड्दा अबको पालो आर्थिक सामाजिक क्रान्ति नै हो भन्ने गर्नु हुन्थ्यो। नेपालको मात्रै होइन विश्वको सर्वोत्कृष्ट राज्य व्यवस्था भनेर बताइरहने धेरै राजनेताहरू अहिले सत्ताको केन्द्रमा वा वरिपरि छन्। अहिलेका प्रतिपक्षी भन्नु ता नाम मात्रै हो, उनीहरूले त्यति बेला बहुदलीय व्यवस्थालाई प्रजातन्त्र, जनजीविका र उन्नतिको साध्य हो भनेर समेत बताएका थिए।

बहुदलबादीहरुको तत्कालीन बिचार, सिद्धान्त र समुन्नतिको व्यवहार केही टाठाबाठामा सीमित थियो। वास्तवमा बहुदलीय व्यवस्थाका पक्षधरहरूले राजनीति र आर्थिक लाभका सबै पद, अवसर केवल आफूहरूका लागि हो भन्ने सम्झिए। हिजो राजतन्त्र कालमा दरवारीया र दरबारले पत्याएका मान्छेहरूले राज्यको दोहन गरे भनेर आरोप लगाउने गरेका कतिपय लोकतन्त्रवादी वा कम्युनिष्टहरुले राज्यको ढुकुटी आफ्ना हातमा आए पछि आफै दोहन गर्न थाले। त्यो देखि नसहनु भएपछि सबैभन्दा उत्कृष्ट भनिएको संविधानको एउटा धारा प्रयोग गरेर राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए। सत्ताबाट बाहिरिँदाको पिडा नेपाली काँग्रेसले मात्रै बुझेको हुन्थ्यो, कम्युनिस्ट भन्नेहरूले समेत बेहोरेका थिए।

तत्कालीन राजा ज्ञानेन्द्रको लातबाट अत्तालिएका काँग्रेस एमालेहरूले आन्दोलन गर्ने घोषणा गरे। आन्दोलनले धेरै समय थेग्न सक्ने अवस्था थिएन। आन्दोलनकारी कुनै नयाँ शक्ति थिएनन्, जनताबाट परीक्षित बहुदलीय व्यवस्थाका हिमायती राजनीतिक दलहरू नै थिए। उनीहरूलाई मात्रै जनताले बलिदानी दिने गरी साथ दिन सक्ने अवस्था थिएन। रुचे पनि नरुचे पनि, समर्थन गरे पनि नगरे पनि माओवादी शक्ति दश वर्ष यता जनताबाट परीक्षित थिएन। यस कारण माओवादी तिर जन आकर्षण नभएको होइन भन्ने कुरा संविधान सभाको पहिलो निर्वाचनले देखायो। संविधान लेखनमा संघीयता र गणतन्त्रका बाहेक अहिलेको राज्य व्यवस्थामा कुनै परिवर्तन आएन भनेर जनताले भन्न थालेका छन्।

क्रान्तिकारी माओवादीहरू राज्यसत्ताको केन्द्रमा आइसकेपछि पनि सामाजिक आर्थिक परिवर्तन महसुस गर्न नपाएकोमा अहिले समीक्षा गर्न थालिएको छ। माओवादीमा राज्यसत्ता सञ्चालन गर्ने अनुभवको कमी, पुराना राजनीतिक दलका धेरै नेता कार्यकर्ताहरू दलाल पूँजीवादी वर्गमा रूपान्तरण हुनु र आमूल परिवर्तनका लागि आवश्यक पर्ने क्रान्तिकारी राज्य संयन्त्र नहुनु साथै क्रान्तिका लागि अन्तर्राष्ट्रिय परिस्थिति नहुनुका कारण जनयुद्ध र जन आन्दोलनको उद्देश्य असफल भयो भन्ने आंकलन गर्न थालिएको छ। राजनीतिक सपना न त विपी कोइरालाको पुरा भयो, न गणेशमानको न मदन भण्डारीको सपना पुरा हुँदै छ, न त पुष्प कमल दाहाल ‘प्रचण्ड’को। विपी कोइरालाले भन्नु भएको राजनीतिका भुईँफुट्टा वर्ग वा कम्युनिष्टहरुले भन्ने गरेका दलाल पूँजिवाद हाबी भइन्जेल उहाँहरूका सपना पुरा हुने वाला छैनन्।

सरकार वा राजनीतिक दलहरूले जति मिठा कुरा गरे पनि भोका नेपालीको पेट अघाएको छैन। नांगा जनताको आँग ढाकिएको छैन। औषधि मुलो गर्न नसक्ने निम्न वर्गका नागरिकहरूको अकालमा मृत्यु भएको छ। निम्न मध्यम वर्गकालाई यहाँको शिक्षा प्रणाली आकाशको फल बनेको छ। विदेशमा गोठालो बस्न नतम्सिए सम्म आमाबाबु र छोराछोरी पाल्न धौ धौ परेको छ। के यो व्यवस्था नै सर्वोत्कृष्ट राज्य व्यवस्था हो ? केही ईमान्दार र मुलुकप्रति कर्तव्यनिष्ठ भएका राष्ट्रिय पूँजीपति, किसान, श्रमजीवी, राष्ट्रसेवक र मजदुर बाहेक नेतृत्व तहमा पुगेका टाठाबाठाहरुले मुलुक लुटिरहेको आरोप लाग्न थालेको छ। स्तस्फुर्त रूपमा साना र घरेलु उद्योग स्थापना गरेर, सिप र सानो लगानीबाट व्यवसाय गर्न थालेका नेपालीहरूलाई उनीहरूको उद्यमशीलतामा किन समर्थन र काम गर्ने वातावरण बनाउन सक्दैन राज्यले ?

दलाल नोकरशाही राज्य व्यवस्थामा राष्ट्रिय उत्थानका लागि जन्मिएका निजी क्षेत्र, सहकारी वा समुदायमा आधारित व्यवसायलाई किन दुरुत्साही पारिन्छ ? नीति बन्छ, नियम कानुन बन्छन्, कार्यक्रम लागू हुन्छ तर त्यही दलाल नोकरशहीले अनुदान दिँदा, सहुलियत दरको कर्जा दिँदा किन तोवाह खेलाउँछन् ? प्रधानमन्त्रीसँग कृषि, युवा स्वरोजगार कार्यक्रम, गरिबी निवारण आयोजना राजनैतिक दलका कुनै नेताको नाम जोडेर गरिन्छ। त्यहाँ संलग्न किसान वा उद्यमीको दुःखको कहानी बेग्लै हुन्छ किन ? के यो लोकतान्त्रिक समाजवाद उन्मुख व्यवस्थाको पूर्वाधार हो ? सबै राजनीतिक कर्मीहरू दोषी छैनन् तर पनि यस्तो हर्कत किन हुन्छ ? हामीले पोखराको आमा एग्रो (प्रा.लि.)मा यसबारे अनुसन्धान गर्न चाह्यौं। महिलाहरू मात्रै सञ्चालक भएको यो खाद्य बस्तुको प्याकेजिङ्ग र बजारीकरण गर्ने निकाय अहिले सरकार र समुदायको साथ खोज्दै छ।

गाउँका किसान, बेरोजगार महिला, नेपाली मात्रको स्वास्थ्य रक्षाका खातिर गर्न खोजिएको क्रियाशील महिलाको उत्साहलाई सलाम ठोक्नु पर्दथ्यो। आमा एग्रोका अध्यक्ष तथा अधिवक्ता गीता लामिछानेले आफूहरू आर्थिक सामाजिक क्षेत्रमा केही गर्न सकिएला भन्ने जोस लिएर यो सानो जमर्को गरेको बताउनु हुन्छ। उहाँको यो व्यावसायिक क्षेत्र पक्कै होइन तर पनि व्यावसायिक सिप भएका दिदीबहिनीहरूलाई साथ लिएर उहाँले काम गर्दै हुनुहुन्छ। साथ दिने महिला मात्रै होइनन् पुरुष व्यवसायीहरूले समेत सक्दो समर्थन गरेको पाइयो। व्यवसायमा लगानी, प्रविधि, बजार, व्यवस्थापकीय कमी होलान् तर त्यसको परिपूर्ति गराउन राष्ट्रको अभिभावक राज्यले किन सकिराखेको छैन ? आफ्नो जस्तै सबै राष्ट्रिय उद्यमशीलतामा सरकार र समुदायको साथ महसुस हुनु पर्ने बताउनुहुन्छ आमा एग्रोका प्रबन्ध निर्देशक राधा पौडेल। यो ता एउटा नमुना र उदाहरण मात्रै हो।

राष्ट्रिय अर्थतन्त्र प्रवर्द्धन गर्न चाहने पोखराको अग्रणी लघु उद्योग पदमावति हस्तकला आफ्नै बलबुतामा अगाडि बढेको देखिन्छ। लगानी, व्यवस्थापकीय क्षमता र राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा महिलाहरूबाट उत्पादित हस्तकलाका सामान बेच्दै आएको उक्त उद्योग सजिलै अहिलेको अवस्थामा आएको होइन। पदमावति हस्तकला उद्योगका प्रबन्ध निर्देशक हिरा भट्टराई भन्नु हुन्छ ‘उद्योग स्थापना गर्न र यसको विकासको दुई दशक मलाई निकै कठिन भयो। घरपरिवारको हेरचाह, उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको जोहो, दक्ष श्रम शक्तिको अभाव, लगानी र बजार व्यवस्थापन सम्मको जिम्मा लिनु कम जोखिमपूर्ण थिएन। सरकारी नीति प्रोत्साहनयुक्त बनाइएको भए पनि कार्यान्वयनमा सरकारी कर्मचारीहरूको सहयोग सहज थिएन।’ सरकारबाट हुन सक्ने सहयोग पाउनका लागि राजनीतिक नेता र कर्मचारीलाई खुवाई पियाई गरेर खुसी बनाउनु पर्ने चलन उहिले र अहिले पनि उस्तै छ। विदेशी मालको बजार बनाउँदा आउने कमिशन, गैरकानुनी आम्दानीबाट राज्यसत्तामा बसेकाहरू रमाउने गर्दथे। उनीहरूलाई नेपाली जनताको राष्ट्रिय अर्थतन्त्रलाई प्रोत्साहन गरेर नेपालको विकास गर्नुपर्छ भन्ने के थाहा ?’

सिप विकास र हस्तकला नेपालको अर्को लघु उद्यमको नमुना बन्न सक्दछ। उद्यमशीलता र जाँगर उमेर समूहले मात्रै छेक्दैन। यो ता सक्रिय जीवन र परिश्रमी वर्ग एवम् समुदायको चासोको विषय बन्दो रहेछ। पोखरा वृद्धाश्रममा विगत डेढ दशक देखि बस्दै आउनु भएकी सावित्री बराल भन्नु हुन्छ ‘मलाई उद्योग गरेर पैसा कमाउँछु भन्ने थाहा छैन, मैले प्रयोग गर्दै आएको सिप एवम् हस्तकला म आफैले प्रयोग गर्ने साधन बनेको छ। यही मेरो सिपलाई नयाँ पुस्तालाई हस्तान्तर गर्न पाए मलाई आनन्द लाग्दथ्यो।’ उमेरले असी पुग्दै गर्नु भएकी सावित्री आफूले जानेका कुरा सिकाउने वातावरण र अवसर पाए नयाँ पुस्तालाई फाइदा हुने बताउनु हुन्छ। व्यक्ति व्यक्तिमा रहेको यस्तै कला, सिप र प्रविधिलाई प्रोत्साहन गर्ने राज्य र समुदायको दायित्व थियो। व्यक्तिमा अन्तर्निहित सिप र जाँगर राष्ट्रिय उद्यमशीलता सँग जोडेर दिगो अर्थतन्त्रको जग बसाउन सकिन्थ्यो। वर्तमान दलाल पूँजीवादी चिन्तन र राज्यव्यवस्थाले यस्ता राष्ट्रिय उद्यमशीलताको विकासमा बाधा पुर्‍याई रहेको छ। विदेशी बस्तु बेचेर बिचौलियाको मुनाफा कमाई रहेका दलाल पूँजीवादका हिमायतीहरूलाई के थाहा राष्ट्रियता के हो ?

(लेखक प्रेस स्वतन्त्रता सेनानी एवम् वामपन्थी सामाजिक अभियन्ता हुनुहुन्छ)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्