राष्ट्रिय जनमोर्चाको सम्मेलन चैत २४ देखि

chitra-bahadur-kc
लाेकपाटी न्यूज

काठमाडौं, २३ कार्तिक। राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म काठमाडौंमाहुने भएको छ।

शनिबार बुटवलमा बसेको पार्टीको बैठकले कोरोना महामारीको समयमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सम्मेलन गर्ने निर्णय गरेको हो।

राजमोको तेस्रो सम्मेलनबाट निर्वाचित नेतृत्वको समयावधि २०७७ फागुनमा पूरा हुँदैछ। बैठकले जिल्ला र प्रदेश समितिबाट सम्मेलनमा भाग लिन जाने प्रतिनिधिको संख्या पनि किटान गरेको छ।

राजमोले मंसिर १४ गते संघीयताविरुद्ध र कोरोना महामारी नियन्त्रणमा सरकारको व्यवहारलाई लिएर देशब्यापी विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको महासचिव जनकराज शर्माले विज्ञप्ति निकालेर जनाएका छन्।

‘जनताको कर संघीयताको संरचनामा लगानी गर्नु परेकोले त्यसको मार जनताको स्वास्थ्य, शिक्षा र रोजगारीमा परेको छ। ठूलो धनराशी संघीय संरचनामा खर्च हुँदा स्थानीय तहको विकास निर्माणमा अवरोध सिर्जना भएको छ । यो दृष्टान्तबाट पनि संघीयताको औचित्य नभएको र त्यसलाई खारेज गर्नैपर्ने आवश्यकता बढेर गएको छ’ राजमोको विज्ञप्तिमा भनिएको छ।

संघीय प्रणालीमा खर्च हुने अर्बौं रकम यदि कोरोना भाइरसबाट संक्रमितहरुको उपचारमा लगानी गरेको भए जनताको जीवन रक्षा हुनुका साथै देशमा आर्थिक संकट पैदा नहुने पनि राजमोले उल्लेख गरेको छ ।

संघीयताले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्दै लगेको र क्षेत्रीय द्वन्द्वलाई बढावा दिएको राजमोले निश्कर्ष निकालेको छ।

उपचार खर्चको अभावमा संक्रमितहरु कोरोना परीक्षणसम्म गर्न नसकेको, परीक्षण गरेकाहरुले आइसोलेशन वेड र हस्पिटलमा भर्ना हुन वा बेड नपाएको भन्दै राजमोले कोरोना उपचारमा मेडिकल माफियाहरुको चलखेल बढेको जिकिर गरेको छ।

‘सरकार कोरोना संक्रमित जनताको अभिभावक नभएर विचौलियाहरुको प्रभावमा पर्न गएको देखिन्छ । सरकारले कोरोना सम्बन्धी उपचार खर्च जनता आफैले बेहोर्नुपर्छ भनी गरेको निर्णयले त्यही कुराको पुष्टि गर्दछ’ राजमोले भनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्