‘लोपोन्मुख घडियाल गोही संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण’

pic
लाेकपाटी न्यूज

चितवन, २७ कार्तिक। लोपोन्मुख घडियाल गोही संरक्षणमा स्थानीयहरुको महत्वपूर्ण भूमिका हुने यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

बुधबार रत्ननगरमा भएको चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सामुदायिक अपनत्वमार्फत् घडियाल गोही संरक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन्।

बछौली मावि सँगको सहकार्यमा संरक्षणका लागि एकता नामक संस्थाले घडियाल संरक्षणको लागि विद्यार्थीहरुलाई सचेतनासम्बन्धी प्रशिक्षण दिएको हो।  विद्यार्थीमार्फत् संरक्षणको भाव जगाए घडियाल गोही संरक्षणमा प्रभावकारी भूमिका रहने उनीहरुले बताएका थिए।

वक्ताहरुले यसको संरक्षण चुनौतीपूर्ण रहेको भन्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका स्थानीयले अपनत्व लिनुपर्ने बताएका थिए। पर्यटकको रोजाइँमा पर्ने गरेको घडियाल गोही संरक्षणमा स्थानीयको सहभागितामा सबै जिम्मेवार निकाय लाग्नुपर्नेमा जोड दिए। कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर नारायण वनले संरक्षणको क्षेत्रमा नगरपालिकाको तर्फबाट हरेक प्रकारको सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा बछौली माविमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई घडियालको महत्व, पर्यटन र जीविकोपार्जनमा यसले खेलेको भूमिका, संरक्षणको लागि भएका प्रयासहरुको विषयमा साहायक संरक्षण अधिकृत अभिनय पाठकले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पूर्व प्रमुख रामकुमार अर्याल,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ, विद्यालयका प्राचार्य शिवराम मरहठ्ठा, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहा प्रमुख प्रकाश उप्रेती, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. वावुराम लामिछाने, विभिन्न संरक्षणका क्षेत्रमा क्रियासिल संघ संस्था, संरक्षणकर्मी लागयतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्