विग्रहको दुष्प्रयासलाई आपसी एकताद्वारा पराजित गर्ने छौंः प्रधानमन्त्री

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन्। नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने बताए।

सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताए। प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गरेका छन्।

उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अंकित रहेको उल्लेख गरे। ‘एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं।’

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ। नेपाल सम्वत्को यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गरेका छन्।

आत्म (म्ह) पूजा

नेवार समुदायले आज बेलुकी आत्म (म्ह) पूजा गरी मनाउँदैछन्। आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो। विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन्। नेपाल संवत्कै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन्।

म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवत्सँग जोड्नु नहुने समितिका सदस्य कीर्तिमदन जोशीले बताए। धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्