बढ्दो मानव तस्करी : १२ युवतीको उद्धार

pic 1
लाेकपाटी न्यूज

पर्सा, २४ कार्तिक। कोराना महामारीको विषम परिस्थितिमा पनि विभिन्न बहानामा मानव तस्करी भइरहेको पाइएको छ। यही क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा फरक फरक समयमा १२ युवतीहरुको उद्धार गरिएको हो।

सिराहाको लहान र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनि विभिन्न जिल्लाबाट पर्साका वैकल्पिक नाका हुँदै भारतसम्म पुर्याइएका ११ युवतीहरुको उद्धार गरिएको हो। ती युवतीहरु हाल आफन्त नेपालको संरक्षणमा रहेका छन्।

ती युवतीहरुलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक २ हजारको दरले रकम दिने भनि काठमाडौंको बालाजुबाट लगिएको थियो। पथलैयाको जंगलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सीमानामा पुर्याइएको थियो। सीमा कटाउने क्रममा ४ जनालाई सीमानाकाबाट र अन्य ७ जनालाई भारतको उद्धार गरिएको हो। ती युवतीहरु १६ देखि २५ बर्ष उमेरका र धेरैजसो विद्यालय तथा कलेज अध्ययनरत छन्। ती युवतीहरुसँगै रहेका ती युवक पक्राउ परेका छन्। यस घटनाको मानव बेचबिखन अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय पर्साद्वारा अनुसन्धान भइरहेको छ।

कोरोना महामारीका कारण बेरोजगारीको चपेटामा परेर नागरिकले अस्तब्यस्त दैनिकी गुजारिरहेको कारण मानव तस्करहरु सक्रिय बनेको आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले बताए।

उद्धार गरिएकी एक युवतीले भनिन्, “म सुटिङ युनिटमा नृत्य गर्थें, अहिले सबै काम बन्द छ। दैनिक गुजारा चलाउन कठिन भएकोले यस्तो प्रलोभनमा परियो। झण्डै जीवन बर्बाद भएको थियो। उद्धार भएकोमा खुसी छु।’

उपचारका नाममा तस्करी

यसैगरी वीरगंजको राम्रो डाक्टरसँग उपचार गराइदिन्छु भनि पर्सा छिपहरमाई गाउँपालिकामा रहेको वैकल्पिक नाका पार गराउने क्रममा सिन्धुपाल्चोक जिल्लाकी १९ वर्षीय किशोरीलाई प्रहरीको सहयोगमा आइतबार उद्धार गरी हाल आफन्त नेपालको संरक्षणमा राखिएको आफन्त नेपाल पर्सा संयोजक मनु रानाले बताइन्।

करिब एक महिना अगाडि काम लगाइदिने प्रलोभनमा भारतको गाजियावाद पुर्याइएका १९ बालकहरूको पनि उद्धार गरी नेपाल फर्काइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्