शीर्ष नेताहरुसँग ओली जंगिएः ‘मलाई हटाउन खोजिरहनु भएको छ, बैठक बोलाउँदिनँ’

Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘तत्काल बैठक बोलाउन’ अस्वीकार गरेका छन्। आफूविरुद्ध गुटबन्दी भएको भन्दै अध्यक्ष ओलीले बैठक बोलाउन अस्वीकार गरेका हुन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेका थिए।

उनीहरुले पार्टीभित्र देखिएका समस्या र तत्कालिन राजनीतिक परिस्थितिबारे निक्र्यौलमा पुग्न बैठक अपरिहार्य रहेको निष्कर्शसहित अध्यक्ष ओलीलाई लिखित अनुरोध गरेका हुन। तर लिखित अनुरोध गरेपनि ओलीले भने कुनै निष्कर्श नदिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने, अहिलेसम्मको कामको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिएको उनले जानकारी दिए। ‘हामीले त भोलि वा ढिलोमा पर्सि सोमवारसम्म बैठक बसौँ भनेका छौँ,’ उनले भने, ‘तर कमरेड अध्यक्ष केपी शर्मा ओलीले बैठकका बारेमा आज निष्कर्श दिनु भएको छैन।’

पत्र बुझाउन गएका सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद भएको नेकपाका एक नेताले बताए। ओलीले गुटबन्दी भएको र आफूले बैठक बोलाउन नसक्ने जवाफ दिएको ती नेताको भनाई छ। बैठक बोलाउन अनुरोध गर्न बालुवाटार पुगेका सचिवालयका बहुमत सदस्यलाई ओलीले उल्टै प्रश्न गरे, ‘तपाईंहरुले मविरुद्ध गुटबन्दी गरिरहनुभएको छ। मलाई पदबाट हटाउन खोजिरहनुभएको छ, बैठक किन बस्ने ? मैले बैठक बोलाउँदिनँ।’

बिहीबार बालुवाटारमा प्रधानमन्‍त्रीसँगको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउँदा प्रधानमन्त्री ओलीले भने बैठक जरूरी नभएको बताएका थिए। अहिले पार्टी बैठक बोलाउने र भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने विषय मात्रै आफूहरूले उठाए पनि राजीनामाको उठ्दै नउठेको विषय किन उठाएको भन्दै दाहालले ओलीसँग आपत्ति जनाएका थिए।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्