सरकारमा आउन देउवालाई ओलीको प्रस्ताव

KP_DeuBa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई शनिबार बालुवाटार बोलाएर छलफल गरेको बताइएको छ। पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेर फुटको संघारमा पुगेकै वेला प्रधानमन्त्री ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति देउवासँग गोप्य भेटवार्ता गरेका हुन्।

पार्टी फुटाएर पनि प्रधानमन्त्री भइरहने प्रयासका लागि ओलीले कांग्रेसको साथ खोजेको कांग्रेसका एक नेताले बताए। ती नेताका अनुसार भेटमा ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेका थिए। उनले भने, ‘सरकारमा गएर ओलीको नेतृत्व कांग्रेसले स्वीकार्ने/नस्वीकार्ने प्रधानमन्त्रीले बुझ्न खोजेको देखियो।’

पार्टी विवाद गहिरिएपछि ओली पक्षका र देउवा निकटका नेताहरु प्रत्यक्ष तथा अप्रत्यक्ष संवादमा जुटेको देउवानिकट स्रोतले जनाएको छ। मंसिर १३ मा बोलाइएको सचिवालय बैठकअघि नै भावी दिशा तय गर्न प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलको राय बुझेका हुन्। पार्टी फुटकै विन्दुमा पुगे पनि प्रधानमन्त्रीमा ओलीले सोही पदमा दोहोरिने गरि कांग्रेससँग संवाद अघि बढाएको बताइएको छ। देउवा निकट नेता भन्छन्,‘भोलि पार्टी फुटे पनि सरकारको नेतृत्व गर्न पाए फुटेको दललाई निर्वाचनपछि शक्तिशाली बनाउन सकिन्छ भन्ने प्रधानमन्त्रीमा छ।’

संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। करिब डेढ घन्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भए पनि नेताहरूले भेटलाई गोप्य राखेका छन्। कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद भएको पुष्टि गरे।

‘बाहिर हल्ला भएकोजस्तो कुरा भएको होइन, आवश्यकताभन्दा बढी महत्व दिइएको हो,’ उनले भने। उनले संवाद भएको भए पनि के-के कुरा भएको भन्नेबारे खुलाउन चाहेनन्। यसअघि शुक्रबार साँझ कांग्रेस सभापति देउवासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेका थिए। लगत्तै प्रधानमन्त्री ओलीसँगको भेटलाई लिएर कांग्रेस नेताहरू नै आशंका व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्