संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : उपेन्द्र यादव

Upendra Yadav
लाेकपाटी न्यूज

जनकपुरधाम, २५ कार्तिक। जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहको आरोप लगाएका छन्।

जसपा निकटका युवा संघले मंगलवार जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले वर्तमान सरकारले संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन्।

नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने चेष्टा गरेको उनले बताए।

मुलुकले कोरोना महामारीको संकट झेलिरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनु पर्नेमा सरकार त्यसबाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागि दुर्भाग्य रहेको यादवले बताए।

जनताको जिउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको भन्दै उनले आफूहरु सरकारविरुद्ध सबै मोर्चामा लड्ने उल्लेख गरे।

विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेकोले मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडि बढ्न यादवले आग्रह समेत गरे।