संघीय गणतन्त्र नेपाल नलेख्ने सरकारी निर्णयको प्रतिवाद गरौंः डा. बाबुराम भट्टराई

Baburam-Bhattarai-1
  • 1.6K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको प्रतिवाद गर्न आह्वान गरेका छन्। यस्तो निर्णय गर्नुमा उनले केही गडबडीको आशंका समेत गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो स्वीकार्य छैन। दालमा कालो छ है! सबैले प्रतिवाद गरौं।’ संयुक्त राष्ट्र संघमा देश र राज्यका नाम संविधान र राज्यप्रणाली अनुरूप हुने आम प्रचलन रहेको नेता भट्टराईले अवगत गराएका छन्। सोही अनुसार नेपालको नाम ‘फेडेरल डेमोक्रटिक रिपब्लिक अफ नेपाल’ रहेको उनले बताए।

गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो। कानुन मन्त्रालयले जारी गरेको परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्न भनिएको छ।

यस्तै अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनईपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको परिपत्रमा उल्लेख छ। साथै ‘विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरूमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘Federal Democratic Republic of Nepal’ लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ लेख्न निर्देशन दिइएको छ।