संसद बिघटन गरे ओलीको भविष्य समाप्त हुनेछ : भीम रावल

Bhim_Rawal
  • 295
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले संसद विघठनको कुरा कल्पना भन्दा बाहिरको विषय भएको बताएका छन्। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले प्रतिनिधि सभा विघठनको संभावना नरहेको प्रस्ट्याएका हुन्। संविधान बमोजिम निश्चित समय पुरा नगरी प्रतिनिधि सभा विघटन गर्ने सोच्नु आफूलाई समाप्त पार्नु सरह भएको उनको भनाई थियो।

प्रधानमन्त्रीले संसद विघठन गर्ने विकल्पको चर्चाबारे सोधिएको प्रश्नमा रावलले भने, ‘मैले त त्यो सुनेको छैन तर म के कल्पना गर्न सक्दिन भने यो प्रतिनिधि सभा नेपालको संविधान बमोजिम जसरी गठन भएको छ, यो एउटा निश्चित समय नपुगेसम्म कसैले विघठन गर्ने कुरा सोँच्नु हुन्छ। आवेश उत्तेजनामा पाइला चालिहालेमा पाइला अगाडि बढ्न सक्छन् भन्ने कुरामा मलाइ विश्वास छैन।’

कसैले चाहदैमा पार्टी नफुट्ने पनि नेता रावलले दावी गरे। ‘पार्टी फुट्छ भन्ने कुरालाई प्रतिकात्मक रूपमा भन्दा यो कुनै माटोको हाँडी होइन, कसैले लौरीले हानेर प्याट्ट फुटाएर ल आजका मितिबाट फुट्यो भन्नलाई,’ उनले भने, ‘त्यसका लागि प्रक्रिया चाहिन्छ, यो कुनै कमजोर आधारमा बनेको पार्टी होइन।’

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलालीलाई आफूले बोलेका कुरा कार्यान्वयन गरेर देखाउन नेता रावलले चुनौती पनि दिए। नेकपामा आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले ‘अब नेतृत्व युवालाई सुम्पनुपर्छ’ भनेर दिएको प्रसंगमा उनले भने, ‘प्रधानमन्त्री ज्यूले पटक-पटक नेतृत्व युवालाई सुम्पिनुपर्छ भन्दै युवामाझ लोकप्रिय बन्ने प्रयत्न गरिरहनु भएकोछ। यदी प्रधानमन्त्री साच्चै त्यसका लागि तयार हुनुभएकोहो भने पार्टीबाट निर्णय गरेर सो निर्णय कार्यान्वयन गर्न म चुनौती दिन चाहुन्छु, अन्यथा बोलेर लोकप्रिय हुनेकुरा भ्रमम मात्रै हो।’

नेता रावलले नेतृत्व युवालाई हस्तान्तर गर्न पार्टीले औपचारिक निर्णय गरेको खण्डमा आफू पनि राजनीति त्याग्न तयार रहने बताए। ‘मेरो उम्मेर ६५ वर्ष भएको छ,’ रावलले भने, ‘पार्टीले ६५ वर्षपछि राजनीति गर्न नपाईने भने निर्णय गरेमा सबैभन्दा पहिला राजनीति त्याग्न म नै तयार हुनेछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्