संसार अघिअघि हामी सधैँ पछि !

Bhimnath_Regmi
लोकपाटी न्यूज
0 Shares

हामी र हाम्रो वर्तमान परिवेश बुझाइ र भोगाइ भन्दा निकै फरक छ। वि.सं. ११९५ तिर जन्मेका हाम्रा राजनीतिज्ञ र समाजका अग्रजहरूले निश्चय नै धेरै भोगे अनि पढे र देखे पनि। यो यथार्थलाई स्वीकारनै पर्छ। उनीहरूले इतिहासमा पाएको पीडाको भोगाइ सुध्रेको छैन बरु बिग्रेको छ।

आजको मुख्य प्रश्न भनेको राजनैतिक परिवर्तन र आन्दोलनसँग फिँजिएका सपनाहरू मरेका छन् कि ती सपनाहरू अझै ताजा छन् भन्ने हो। र, अर्को गहन प्रश्न भनेको ती विषयसँग सम्बन्धित रहेर छलफल भएको छ कि छैन भन्ने नै हो। धेरैलाई लाग्छ त्यस्तो भएको छैन तसर्थ मुख्य कुरा भनेको यो हो कि जे नहुनु पर्ने थियो त्यो भइरहेको छ र जे हुनु पर्थ्यो त्यो पटक्कै भएको छैन। तसर्थ आमजनताका पीडा जस्ताका तस्तै छन्।

माथि नै भनिसकिएको छ कि ११९५ तिर जन्मेका हाम्रा राजनीतिज्ञ र समाजका अग्रजहरूले विगतमा फरक फरक भोगे र वर्तमानमा फरक देख्दै र भोग्दै छन् । १९९५ लाई मानक साल मानेर गणना गर्दा त्यो समूह २००७ सालको आन्दोलनमा १२ वर्षको थियो। २०१७ सालको राजनैतिक ‘कु’को समयमा २२ वर्षको लक्का जवान थिए तिनीहरू। तिनीहरूले बिपी कोइराला र पुष्प लाललाई देखे, पढे र भोगे। २०३६ सालको आन्दोलनमा ४० को पहिलो दशकमा पुगेको त्यो समूह २०४७ मा ५० वर्ष काटिसकेको थियो। २०५२ देखि चलेको हतियारवद्ध आन्दोलनमा ६० वर्ष पुग्न थालेको त्यो राजनैतिक समूह २०६३ को आन्दोलनमा ७० पुग्न थालेको थियो। यसरी बिपी, पुष्पलाल, मदन भण्डारी, गणेशमान र प्रचण्डलाई देखेको, भोगेको र पढेको अहिलेको समाजले किन हाम्रा दुई छिमेकीको जस्तो परिवर्तन र आर्थिक समृद्धिलाई आत्मसाथ गर्न सकेन।

अझ राजनीतिको निकै चाख लाग्ने विषय भनेको २०५२ देखि २०६२ सम्म चलेको नयाँ प्रकारको आन्दोलनमा २०-३० वर्ष सम्मका युवाहरू परिवर्तन र समानताका लागि होमिए। इतिहासमा पहिलो पल्ट सबैभन्दा धेरै वयस्क, महिला, जनजाति, मधेसी, दलित, अल्पसंख्यक आदि समुदाय राजनीतिमा होमिए। २०६३ को अन्तरिम संविधान र २०७२ को नयाँ संविधानले राजनीतिको माथिल्लो संरचनामा परिवर्तन देखियो। तर पनि त्यही वर्ग र समुदायको मन र मस्तिष्क चङ्गा जस्तो रमाएको छैन। दिनानुदिन सामाजिक सञ्जाल, पत्र पत्रिका, न्युज पोर्टल र युट्युबमा सकारात्मक भन्दा धेरै नकारात्मक टिप्पणी देखिन्छ। र, भन्न खोजेको पनि त्यही हो कि जे हुनु पथ्र्यो त्यो नभएर नै असन्तुष्टि बढेको हो।

सिधा कुरा भन्दा सत्य यो हो कि हामी त्यस्तो समयमा बाँचेका छौँ जुन ५० अगाडिको जस्तो छैन। सञ्चार र प्रविधिको क्षेत्रमा आएको परिवर्तनले हाम्रा सामाजिक मानकहरू भत्केका छन्। सन् १९४७ मा स्वतन्त्र भएको भारत र १९४९ मा राजनैतिक परिवर्तन पुरा गरेको चीन अहिले जबरजस्त फरक भूमिका र अवस्थामा छन्।

नेपालका राजनैतिक नेताहरू र समाजका अगुवाहरूले दुवै छिमेकीका आन्दोलनलाई भोगे, देखे र पढे। यो कटु सत्य नै हो। १९४९ को पछौटे चीन अहिले महाशक्ति राष्ट्रको होडमा छ। १९४७ मा स्वतन्त्र भएको भारतको भूमिका फेरिएको अवस्थामा छ। पटक पटक आन्दोलनहरू परिवर्तन कै लागि गर्ने हामीहरू शिक्षा, स्वास्थ्य, पिउने पानी, न्यायको लडाईंमा नै लाग्नु परेको छ। आजको हाम्रो विश्वास त्यस्तो थियो जुन १९४५ पछि अमेरिकाले प्राप्त गर्‍यो।

१९६० तिर मात्र स्वतन्त्र भएका विश्वका धेरै देशले हामीलाई उछिनी सके। हामी भने पराइका रैती नबनेको गाथा गाएर रोबर्ट देशका शक्तिहीन नागरिक बनिसकेका छौ। सन् १९९० पछि एक ध्रुवीय बनेको संसार अहिले त्यही ठाउँमा छैन। पूर्वी युरोप र सोभियत सङ्घमा समाजवादको असफलता पछि इतिहासको अन्त्य भनेर मानिएको बिचार नै असफल जस्तै बनेको छ। गएको २ दशकमा चीनले गरेको प्रगति उसको जमिन मार्फत व्यापारका लागि संसार जोड्ने परियोजनाबाट सिक्नु पर्नेमा हामी निकै पछि परेका छौँ।

हामी २१ औ शताब्दी सम्म पनि सिमानाको राष्ट्रवाद घोकेर समय धकेल्न विवश छौँ। हाम्रो नयाँ संविधानले समाजवाद उन्मुख राजनैतिक प्रणालीलाई स्वीकारे पनि हामी कसरी त्यो बाटोमा जाने बहस र छलफल हुने गरेको छैन। हाम्रो परिवेश त्यस्तो छ र हामी त्यस्तो ठाउँमा छौँ जहाँ छिमेकी देशहरूको प्रगति र उन्नतिबाट सिक्नै पर्छ।

अहिलेको वैज्ञानिक र प्राविधिक क्रान्तिको चुनौतीद्वारा सृजित विकास र चुनौतीलाई थेग्ने प्रभावकारी योजनाको बाटोमा हामी हिँड्नै पर्छ। वैज्ञानिक र प्राविधिक क्रान्तिले थोपरेको उत्पादन प्रणाली र प्रकृति माथिको अनावश्यक चापलाई सामना गर्नु नै छ। पुँजीवादले फाइदा दिएका वर्ग र पुँजीवाद र सांस्कृतिक भूमण्डलीकरणको मारमा परेको समुदाय, वर्गको बिचको असमानतालाई हटाउनै पर्छ।

प्राकृतिक साधन श्रोतको प्रयोगमा हुने दक्षता, जलवायु परिवर्तनको असरबाट हुने क्षतिको न्यूनीकरण, कार्बन उत्सर्जन हटाउने, र जैविक विविधता संरक्षण नीतिहरूको संयोजनको माध्यमबाट हाम्रो अर्थ व्यवस्थामा विकास गर्न सम्भव हुने र यसैबाट अहिलेको चुनौतीलाई सामना गर्न सकिने विषयलाई पक्डिनै पर्छ।

हामीले गर्नुपर्ने कामको चाङ्ग निकै लामो हुँदा पनि कहिल्यै लक्ष्य निर्धारण गरे अनुसार प्रगति नगरेर नै हामी पिछडिएका हौँ। नेपालको संविधान २०७२ ले अधिकारका बारेमा त बोल्यो तर त्यो अझै सम्म पनि बैंकमा रकम नभएको चेक जस्तै छ। समाजवाद उन्मुख प्रणालीमा जाने भनेर संविधानमा भने पनि महंगो स्वास्थ्य दस्तुरका कारण रोग लुकाउनु पर्ने बाध्यता नै छ। शिक्षाको नाममा निकै व्यापार फस्टाएको छ। सडकका जालाहरू साधारण मानिसका लागि मृत्यु रेखा जस्तै छन्। जिम्मेवारी बहन गर्नेहरू नै पन्छिने वा झुट बोलेर सत्यको हत्या गर्ने अवस्थामा हुनु निकै पीडादायी भएको छ।

छिमेकी देश भारत र चीन आआफ्नै तरिकाबाट आर्थिक विकासको लक्ष्यमा हिँडेको बेला हामी बिलखबन्दमा हुनु र सत्ता र शक्तिको लागि छिना झपटी हुन कुनै पनि तरीकाबाट ठिक हैन। करिब ३ वर्ष अगाडि स्थानीय देखी प्रदेश र केन्द्रको चुनावमा राजनीतिक पार्टी देखी नेताले भनेका कति काम पुरा भए वा भएनन् भन्ने कुरालाई पनि आफआफै हेर्दै म प्रस्ट हुन्छ। नेताहरूले मध्य युगिन शैलीमा आफू भित्र भएको समान्तवादलाई नभत्काउने तर पालिरहने र सानो कोठरीबाट बाहिर ननिस्कने हो भने संविधान राम्रो हुनु वा बन्नु सबै कुरा हैन रहेछ भन्ने प्रमाणित अब समय कुर्नु पर्दैन।

सबैले ढल्केको समय सम्झौं, बितेको समयलाई बिर्सौं र अब हिँड्ने यात्राको मात्र कुरा गरौं। अन्यथा २०५२ देखी २०६३ सम्मका घटना र प्रतिघटनामा नेपाली वयस्कले गरेको बलिदान त्यागको कुनै अर्थ हुने छैन। हिजोको राजनीतिक आन्दोलन र त्यसको जगमा बनेको नयाँ संविधानले आशा भन्दा निराशा मात्र दिने छ। सबैले पहल गरौँ र नयाँ नेपालको नयाँ इतिहास निर्माण गर्न लागौं। अन्यथा संसारको गति निकै अघि र हामी निकै पछि हुनेछौं।

(रेग्मी त्रिविमा अध्यापन गर्छन्, bhimnathregmi@gmail.com)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्