सचिवालयले भन्यो : ‘वामदेव गौतम प्रचण्डको प्रस्तावमा दृढ हुनुहुन्छ’

Bamdev-Gautam
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको सचिवालयले गौतम कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावको पक्षमा रहेको पुन स्पष्ट पारेको छ। केही सञ्चार माध्यममा गौतमको नाम जोडेर गोयवल्स शैलीमा प्रचण्डले पेस गरेको उक्त प्रस्ताव फिर्ता हुनुपर्ने कपोलकल्पित समाचार प्रकाशित गरेर पूर्णतः झुटको प्रचार गर्न खोजिएको प्रति आपत्ति समेत जनाएको छ।

गौतमको सचिवालयले आज एक विज्ञप्ति जारी गरेर भनेको छ, ‘प्रचण्डले पेस गर्नुभएका प्रस्तावहरू क.वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ। यसबीचमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि उहाँले यो कुरा व्यक्त गरिसक्नुभएको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रचण्डले पेस गर्नुभएका प्रस्तावहरू नेकपाका समस्त एकता प्रेमी, परिवर्तनकारी एवं विधि र पद्धति पक्षधर नेता-कार्यकर्ताको सामूहिक आवाज हो। केपी ओलीलाई धरातलीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्‍याउने काम तुरुन्त रोकियोस्। उहाँलाई खुसी पार्ने नाममा अरू नेताको बदनामी गर्ने, भ्रम सिर्जना गर्दै अरू नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस्।’

गौतमको सचिवालयले आजको पार्टी सचिवालय बैठकमा प्रचण्डले पेस गरेको उक्त प्रस्तावमाथि छलफल नभएको पनि उल्लेख गरेको छ। आजको पार्टी सचिवालय बैठक सौहाद्रतापूर्ण तवरले सञ्चालन भएको पनि विज्ञप्तिमा उल्लेख छ। गौतमलगायत अन्य नेताहरूले सौहाद्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति नदिएको पनि बताइएको छ। बैठकमा चर्काचर्की, धम्साधम्सी भयो भनेर प्रकाशित भएका समाचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्