सचिवालय बैठक भोलीः नेकपामा के गृहकार्य भइरहेको छ ?

Nepal_Communist_Party_Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक भोलि बुधबार बोलाइएको छ।लामो रस्साकस्सी र विवादपछि कात्तिक २८ मा बसेको सचिवालय बैठकले बुधबार अर्को बैठक बोलाउने निर्णय गरेको हो।

सचिवालयको अघिल्लो बैठकले उत्कर्षमा पुगेको नेकपा विवाद साम्य पार्ने अपेक्षा लिइए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको १९ पृष्ठ लामो प्रस्तावले विवाद झनै बल्झाइदिएको छ। राजनीतिक प्रतिवेदनमा एकजुट भएर ओली पक्षलाई दबाब दिने रणनीतिमा लागेका छन्। सचिवालयमा रहेका प्रचण्ड, नेपाल, झलनाथ खनाल र वामदेव गौतम एक ठाउँमा छन्।

बहुमत सचिवालय सदस्यहरु बैठकबाट थप दबाब दिएर ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्न वाध्य बनाउने रणनीतिमा लागेको छन्। प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश ओली पक्षीय नेताहरुले दिइरहेका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक केही दिन सार्नुपर्ने प्रस्ताव गरेका छन्।

मंगलबार बिहान ओलीले नेकपा महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उक्त प्रस्ताव गरेको बुझिएको छ। पार्टीभित्रको जारी विवादको समाधानको सूत्र खोजेर मात्रै पार्टी कमिटीका बैठक बस्नुपर्ने अध्यक्ष ओलीको प्रस्ताव महासचिव पौडेलमार्फत आएको नेकपाका एक नेताले जनाएका छन्। ‘महासचिव पौडेलले भोलिका लागि बोलाइएको बैठक केही पर सारौं र सहमतिका लागि छलफल गरौं भन्ने अध्यक्ष ओलीको प्रस्ताव ल्याउनुभएको थियो,’ ती नेताले भने।

तर, अध्यक्ष प्रचण्डले भने विवादका सबै विषयमा छलफल गर्नका लागि एजेण्डासमेत तय गरेर सचिवालय बैठकले नै मिति तोकेकाले अहिले आएर सार्न नमिल्ने बताएको ती नेतको भनाई छ। नेकपाको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ। यसअघि लामो समयको रस्साकस्सीपछि कार्तिक २८ गते सचिवालय बैठक बसेको थियो। सचिवालय बैठकअघि अध्यक्षद्वयबीच पत्रमार्फत एकअर्कालाई आरोप-प्रत्यारोप गर्ने क्रम चलेको थियो।

सचिवालय बैठकमा पेस भएको प्रस्तावमाथि गम्भीरता साथ छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने आफूहरूको अडान अझै कायम रहेको नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ बताउँछन्। ‘पाँचजना सचिवालय सदस्यको सहमतिमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्ताव पेस गर्नुभएको हो,’ श्रेष्ठले भने, ‘बुधबार बस्ने सचिवालय बैठकमा प्रस्तावमाथि छलफल हुन्छ।’

‘उहाँहरूले प्रस्ताव फिर्ता लिन आग्रह गर्नु ठूलो कुरा भएन। तर, पेस भइसकेपछि छलफल गर्ने हो, ठिक छैन भने गलत भन्न सक्नुपर्‍यो,’ उनले भने, ‘हामीले बुझेअनुसार प्रस्ताव पेस भइसकेपछि छलफल हुनुपर्दछ। फिर्ता हुन्छ वा हुन्न आधिकारिक रूपमा अध्यक्ष प्रचण्डले मात्र भन्न सक्नु हुन्छ।’ सचिवालय बैठकमा पेस भएको प्रस्ताव फिर्ता हुने कुनै सम्भावना आफूले नदेखेको श्रेष्ठले बताए।

नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि पछिल्लो विकसित घटनाक्रमपछि पार्टी एकता अप्ठ्यारोमा परेको बताएका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा ज्ञवालीले ‘पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ’ लेखेका छन्। ज्ञवालीले आरोप-प्रत्यारोप छोडेर नीतिगत बहस गर्न नेताहरूलाई आग्रहसमेत गरेका छन्। ‘कमरेडहरूलाई आग्रह छ, नीतिगत बहस गरौं, आरोप–प्रत्यारोप नगरौं, एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ,’ ज्ञवालीले लेखेका छन्, ‘आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्