सन् २०३४ सम्मको मागअनुसारको भण्डारण केन्द्र बन्छ : आपूर्तिसचिव डा. अर्याल

लोकपाटी न्यूज

पोखरा। पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ। तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले यो भण्डारणको निर्माण भएपछि पेट्रोलियम पदार्थको ३ महिनासम्मको माग धान्ने आपूर्ति केन्द्र बन्ने बताए। इन्धन भण्डारण क्षमता विस्तार गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाका रूपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि सुरु भएको उनको भनाई छ। आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त भण्डारण केन्द्रलाई सम्पूर्ण उपकरण र मापदण्ड पुर्‍याएर निर्माण गरिने अर्यालको भनाई छ।

‘हामीले १ करोड लिटर क्षमताको भण्डारण केन्द्र बन्नेछ। यो अत्याधुनिक प्रविधिको भण्डारण गृह हो,’ उनले भनेका छन्, ‘हामीले सुरक्षाका उपकरण पनि थप गरेका छौँ। सुरक्षा सम्पूर्ण उपकरण र मापदण्ड पुर्‍याएर निर्माणको काम हुनेछ। यसले दुर्घटना र आगलागीका भवितव्यहरू सम्बोधन गर्नेछ।’ उनले केही समयपछि चितवनको लोथरमा पनि प्रादेशिक भण्डारण केन्द्र बनाउन प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्