सामुदायिक बीउ बैंक : अवसर र चुनौतीहरु

seed_bank
रामचन्द्र जोशी

सामुदायिक बीउ बैंक नेपालका लागि नौलो अवधारण होइन। नेपालमा युएससी क्यानडाको पहलमा वि.सं. २०५१ मा यस कामको थालनी भएको हो। तर यसको व्यवस्थित विस्तारका अभावमा यो अवधारणा अझ पनि नेपालका बहुसङ्ख्यक कृषकहरु तथा कृषि क्षेत्रमा काम गर्ने व्यक्ति तथा सङ्घसंस्थाहरुका लागि नयाँ नै छ।

Ramchandraसामुदायिक बीउ बैंकलाई छोटकरीमा कृषक समूहले सामूहिक रुपमा व्यवस्थापन गरी राखेको बीउको भण्डार भनेर बुझ्न सकिन्छ। तर कस्तो बीउउत्पादन गर्ने, के–केको बीउ राख्ने, सामूहिक रुपमा नै बीउको भण्डारण किन गर्ने, बीउ–उत्पादन तथा भण्डारणप्रक्रिया के हुन्छ, भण्डारण गरिएको बीउको विक्रीवितरण कसरी गरिन्छ भन्ने जस्ता कुराहरु सामुदायिक बीउ बैंकका महङ्खवपूर्ण पाटाहरु हुन्।

सामुदायिक बीउ बैंकलाई स्थानीय जातका बालीहरुको यथास्थानीय संरक्षण तथा निरन्तर उपयोग प्रवद्र्धन गर्ने विधि वा पद्धतिका रुपमा बुझ्नुपर्दछ। कृषकहरुलाई आवश्यक पर्ने थरीथरीका बाली तथा जातहरुको शुद्ध तथा गुणस्तरीय बीउ र ती बीउहरुका बारेमा जानकारी पाइने थलो हो सामुदायिक बीउ बैंक। यसको स्थापना तथा व्यवस्थापन कृषक समूह, सहकारी वा संस्थाले गर्दछन्। कृषकहरुको समूह वा सहकारी वा संस्थाले स्थापना तथा व्यवस्थापन गर्ने र बीउको कारोबार गरिने अर्थात् आवश्यकता अनुसार बीउ लिने र दिने काम गरिने भएकाले नै यसलाई सामुदायिक बीउ बैंक भनिएको हो। अतःस्थानीय कृषकहरु मिलेर आफनो गाउँ तथा वरपर पाइने वा खेती भइरहेका र पहिला खेती गरिने तर हाल त्यस गाउँबाट हराएका थरीथरीका स्थानीय जातहरुको खोजी गरी ती जातहरु तथा कृषकहरुलाई आवश्यक पर्ने अन्य बीउहरु नियमित रुपमा उत्पादन, सुरक्षित भण्डारण र सुलभ रुपमा विक्रीवितरण गर्ने व्यवस्थालाई सामुदायिक बीउ बैंक भनिन्छ।

सामुदायिक बीउ बैंकको स्थापना तथा व्यवस्थापन प्रक्रिया

१) कृषक समूह, सहकारी वा संस्थाको गठन तथा सशक्तिकरण : सामुदायिक बीउ बैंकको परिभाषाअन्तर्गत नै सामुदायिक बीउ बैंक स्थापना तथा व्यवस्थापनका लागि कृषक समूह सहकारी वा संस्था अनिवार्य हुने कुराको चर्चा गरिसकिएको छ। नेपालका सन्दर्भमा प्रायजसो सामुदायिक बीउ बैंकहरु गैरसरकारी सङ्घसस्थाको सहयोगमा र केही जिल्लाहरुमा जिल्ला कृषि विकास कार्यालय र नेपाल कृषि अनुसन्धान परिषद्को सहयोगमा स्थापना गरिएका छन्। सामुदायिक बीउ बैंक स्थापना गर्दा नेपालका कतिपय गैरसरकारी सङ्घसंस्थाहरुले परियोजनाका अन्य क्रियाकलाप र सामुदायिक बीउ बैंकका बीचमा फरक छुट्याउन नसक्दा शुरू गरिएका सामुदायिक बीउ बैंक पूर्ण रुपमा सञ्चालन नहुँदै बन्द भएका उदाहरणहरु पनि छन्। त्यसैले सामुदायिक बीउ बैंक स्थापान गर्ने कृषक समूह, सहकारी वा संस्था र सहयोग गर्ने सरकारी वा गैरसरकारी निकाय सबैले कृषि विकाससम्बन्धी सञ्चालन गरिने अन्य क्रियाकलाप र सामुदायिक बीउ बैंक नितान्त फरक हुन् भन्ने कुरा बुझ्नु जरूरी छ। अतः सफल सामुदायिक बीउ बैंकको स्थापना तथा सञ्चालनका लागि सफल कृषक समूह, सहकारी वा संस्था घरको जग जत्तिकै महङ्खवपूर्ण हुन आउँछ । जसरी जग बलियो भएको घर बलियो हुन्छ, त्यसै गरी समूह, सहकारी वा संस्था बलियो वा सशक्त भए उनीहरुले सञ्चालन गर्ने सामुदायिक बीउ बैंक पनि दिगो र सफल रुपमा सञ्चालन गर्न सक्छन्। कृषक समूह, सहकारी वा संस्थाको स्थापना भएपछि क्रमशः यसका सदस्यहरुको क्षमता र संस्थागत विकासमा ध्यान दिनुपर्छ। सामुदायिक बीउ बैंकमा विभिन्न बालीहरुका स्थानीय जातको संरक्षणकार्यलाई केन्द्रविन्दुमा राखेर ती जातहरुको शुद्ध बीउ–उत्पादन, सुरक्षित भण्डारण, उमारशक्ति परीक्षण, बजार व्यवस्थापन आदि विषयमा नियमित रुपमा तालिम, भ्रमण, गोष्ठी र छलफलको आयोजना गरी समूह, सहकारी वा संस्थामा आबद्ध सदस्यहरुको क्षमताको विकास गर्नुपर्दछ। तालिम वा छलफल गरेपश्चात् जुन सदस्यले जे विषयमा तालिम लिएको हो सो कामको थालनी तालिम गरेको दिनबाट नै शुरू गर्नुपर्दछ। यस्तो अभ्यासले मात्र वास्तविक रुपमा सदस्यहहरुको क्षमताको विकास र सशक्तीकरण हुन सक्छ।

 कृषक समूह, सहकारी वा संस्थाको सशक्तीकरणको अर्को महङ्खवपूर्ण पाटो भनेको यसको संस्थागत विकास हो। यो क्रमशः हुँदै जाने कुरा भएतापनि निम्न पाँच कुराहरुमा शुरूदेखि नै ध्यान पुर्‍याएर काम गर्दै जानु आवश्यक हुन्छ।

 क) विधान तथा वैधानिकताः सामुदायिक बीउ बैंक सञ्चालन गर्ने समूह, सहकारी वा संस्था दर्ता भएको हुनुपर्दछ। समूह भए जिल्ला कृषि विकास कार्यालयमा, सहकारी भए डिभिजन सहकारी कार्यालयमा र संस्था भए जिल्ला प्रशासन कार्यलयमा दर्ता गर्नुपर्दछ। यसको विधि तथा प्रक्रिया आआफनै हुने भएकाले सम्बन्धित कार्यालयमा समन्वय गरी विधान तयार गरी दर्ता गर्ने कार्य सम्पन्न गर्नुपर्दछ। विधानको उद्देश्य खण्डमा सामुदायिक बीउ बैंक सञ्चालन गर्ने कुरा अनिवार्य उल्लेख गर्नुपर्दछ।

ख) काम तथा जिम्मेवारीको बाँडफाँडः कुनै पनि समूह, सहकारी वा संस्थाको नियमित मासिक बैंठक अनिवार्य रुपमा बस्नुपर्दछ र मासिक बैठकमा छलफल भएका विषयवस्तुको राम्रोसँग अभिलेखीकरण गर्नुपर्दछ। यसमा समूहले अघिल्लो महिनाको प्रगतिको समीक्षा, आगामी महिनामा सम्पन्न गर्नुपर्ने कामको निर्णय तथा जिम्मेवारीको बाँडफाँड गर्नुपर्दछ भने अघिल्लो महिनामा भएको आर्थिक कारोबारको फरफारक गर्ने काम पनि गर्नुपर्दछ। त्यसै गरी नियमित मासिक बैठकमा सदस्यहरुको रुचि र क्षमता अनुसार व्यक्तिगत एवं सामूहिक रुपमा काम तथा जिम्मेवारीको बाँडफाँड गर्नुपर्दछ भने जिम्मेवारी पाएका सदस्यहरुले समयमा नै आफनो जिम्मेवारीको काम पूरा गर्ने परिपाटीको पनि विकास गर्नुपर्दछ।

ग) सामूहिक भावनाको विकासः प्रायःजसो सामुदायिक बीउ बैंकहरु बाहिरी सङ्घसंस्थाको सहयोगमा शुरूवात हुने भए तापनि यो समुदायका लागि हो, समुदायका मानिसहरुले नै यसको स्थापना तथा सञ्चालन गर्ने हो र यस कामले मूलतः त्यसै समुदाय र वरपरका मानिसहरुको तत्कालीन आवश्यकता र दीर्घकालीन फाइदा पुर्‍याउँछ भन्ने कुरा सामुदायिक बीउ बैंक सञ्चालन गर्ने कृषक समूह, सहकारी वा संस्थाका सदस्यहरुले मनन गर्नु जरूरी हुन्छ। यसका लागि समूह, सहकारी वा संस्थामा हामी भन्ने भावनाको विकास गर्नुपर्दछ र सामूहिक निर्णय र कार्यान्वयन गर्ने परिपाटीको पनि विकास गर्नुपर्दछ।

घ) आर्थिक तथा कर्मचारी प्रशासन नियमावलीः आर्थिक तथा कर्मचारी प्रशासन सञ्चालन नियमावलीबिना सहकारी वा संस्था सञ्चालन गर्नु भनेको लगामबिनाको घोडा कुदाउनु जत्तिकै हो। यो जुनसुकै बेला जता पनि जान सक्छ र दुर्घटनामा पर्न सक्छ। अतः सहकारी वा संस्थामा अनिवार्य रुपमा कर्मचारी प्रशासन तथा आर्थिक नियमावली बनाई साधारणसभाबाट पारित गराएर अक्षरशः कार्यान्वयन गर्नुपर्दछ। यसले सहकारी वा संस्थाका सदस्य एवं कर्मचारीलाई पारदर्शी तथा जिम्मेवार बनाउँदछ र सहकारी वा संस्थालाई दिगो बाटोतर्फ उन्मुख गराउँछ।

ङ) वार्षिक साधारणसभाः समूह, सहकारी वा संस्थाले वार्षिक रुपमा अनुमानित बजेटसहितको कार्ययोजना, वार्षिक प्रगतिप्रतिवेदन, लेखा परीक्षण तथा आर्थिक प्रतिवेदन तयार गरी साधारणसभाको आयोजना गर्नुपर्दछ। समयमा नै विधिपूर्वक साधारणसभाको आयोजना गर्न सक्नु भनेको त्यो सहकारी वा संस्थाको सफलताको सूचक पनि हो।

सामुदायिक बीउ बैंक व्यवस्थापनमा देखिने समस्या तथा चुनौतीहरू

केही सदस्यहरुकाे मात्र सक्रियता

सामुदायिक बीउ बैंक कृषक समूह, सहकारी वा संस्थाले व्यवस्थापन गर्दछ। कृषक समूह, सहकारी वा संस्थामा धेरै जना कृषकहरु आबद्ध हुन्छन्। सामान्यत कृषक समूह, सहकारी वा संस्थाले धेरै किसिमका काम गर्दछ तर पनि प्रायःजसो समूह वा सहकारी संस्थाका केही व्यक्तिहरुले धेरैजसो काम गर्ने र बाँकी धेरै सदस्यहरु बचत जम्मा गर्ने र अरूले गरेको निर्णयमा सही मात्र गर्ने गरेका छन्। यो प्रवृत्ति सामुदायिक बीउ बैंकका हकमा पनि त्यतिकै लागू भइरहेको छ। संस्थामा ७०० जना भए पनि ७ जनाले मात्र सामुदायिक बीउ बैंकका बारेमा राम्रोसँग बुझेका हुन्छन्। यसो हुनाको मुख्य कारण सामुदायिक बीउ बैंक हामी सबैको हो, यसको स्थापना गर्न सबैले उत्तिकै सहयोग तथा सहभागिता जनाउनुपर्दछ र त्यसबाट हुने फाइदा पनि धैरै जनामा पुग्नुपर्छ भन्ने भावनाको कमी भएर हो। त्यसै गरी कार्यसमितिमा बस्ने पदाधिकारी वा व्यक्तिहरुले पनि सामुदायिक बीउ बैंकको व्यवस्थापन कार्यमा समूहका धेरै जनालाई सहभागिता गराउन नसक्नु हो। लामो समयसम्म केही सदस्यहरुले मात्र सामुदायिक बीउ बैंक व्यवस्थापनको कार्य गर्दा अरूले काम सिक्ने मौकै पाउँदैनन् र ती सदस्यहरु आफनो जिम्मेवारीबाट बाहिरिंदा सामुदायिक बीउ बैंक पनि धरापमा पर्ने सम्भावना हुन्छ।

 स्थानीय जातहरुप्रतिको घट्दो आकर्षण

धेरै कृषकहरुमा स्थानीय जातहरुले थोरै उत्पादन दिन्छन्, ढल्छ, बाली तयार हुन लामो समय लाग्छ भन्ने धारणा व्याप्त छ। हाम्रा सञ्चार माध्यमहरुमा पनि उन्नत जात लगाएमा बढी उत्पादन र फाइदा लिन सकिन्छ भन्ने कुराहरु मात्र आउँछन्, स्थानीय जातका बालीहरुको महङ्खव र संरक्षणको आवश्कयताबारे कमै मात्र सुन्ने गरिन्छ। कतिपय स्थानीय जातहरु आकर्षक नदेखिने हुनाले बजारमा विक्री पनि कम हुन्छन्। अर्को कुरा एक दुई जना कृषकहरुले मात्र खेती गर्दा टाढाको बजारसम्म लान परिमाण पनि पुग्दैन वा व्यापारीहरु पनि आउँदैनन्। यी कारणहरुले गर्दा पनि स्थानीय जातहरुप्रति कृषकहरुको आकर्षण घट् दो छ। तर वास्तविकता के हो भने सबै उन्नत जात राम्रा हुँदैनन् र सबै स्थानीय जात नराम्रा हुँदैनन्। केही स्थानीय जातहरुमा केही कमीकमजोरी भए तापनि ती जातहरु रोगकीरा कम लाग्ने वा नलाग्ने, खान मीठो, अडिलो, स्वादिलो र पोषिलो हुने, फल लामो समयसम्म टिपिरहन मिल्ने, चाडपर्वमा काम आउने, औषधीय गुण पनि भएका हुन्छन्। यो कुरा सबै कृषकहरुले बुझ्नु जरूरी छ।

बीउको सुरक्षित भण्डारण 

बीउ जीवित वस्तु हो र यसलाई भण्डारणमा जीवितै राख्ने कार्य निकै चुनौतीपूर्ण हुन्छ। सामुदायिक बीउ बैंकमा बीउको सुरक्षित भण्डारणका लागि निकै सावधानी अपनाउनुपर्छ। सामुदायिक बीउ बैंकका सदस्य तथा कर्मचारीहरु यस विषयमा जानकार हुनुपर्दछ। खास गरी बीउमा चिस्यानको मात्रा बढ्न नदिन, भण्डारणमा लाग्ने कीरा तथा ढुसीहरु नियन्त्रण गर्न र चरा मुसा आदिबाट बीउ जोगाउने आवश्यक विधि तथा उपायहरु अवलम्बन गर्न नसकिएमा बीउ बीउका रुपमा रहँदैन र सामुदायिक बीउ बैंकको उद्देश्य पनि पूरा हुँदैन। त्यसै गरी बीउ भण्डारण तथा व्यवस्थापन गर्दा राख्नुपर्ने अभिलेख चुस्तदुरूस्त राख्न पनि समुदायले निकै मिहिनेत गर्नुपर्दछ।

 विविधता प्रदर्शनी स्थलको स्थापना तथा व्यवस्थापन

 सामुदायिक बीउ बैंकमा संरक्षण गरिएका स्थानीय जातका सबै बालीहरुको बीउ हरेक वर्ष उत्पादन गर्नुपर्दछ। कतिपय बीउहरु कृषकहरुले आफनो खेतबारीमा उत्पादन गर्न सजिलै लैजान्छन् भने कतिपय जातहरु रोप्न कोही पनि तयार हुँदैनन्। कतिपय बीउ कृषकहरुले बीउउत्पादन गर्न लगे पनि विभिन्न कारणले असफल हुन्छन् र अपेक्षा गरेबमोजिमको बीउ सामुदायिक बीउ बैंकमा आउँदैन। अतः सामुदायिक बीउ बैंकमा संरक्षण गरिएका स्थानीय जातका मुख्य बालीहरुको बीउउत्पादनका लागि विविधता प्रदर्शनी स्थलको स्थापना गर्नुपर्दछ। यसका लागि प्रत्येक वर्ष सामुदायिक बीउ बैंकलाई केही आर्थिक स्रोतको आवश्कता पर्दछ। यदि सामुदायिक बीउ बैंकको नियमित आर्थिक स्रोत छैन भने यो कार्य सञ्चालन गर्न मुस्किल पर्दछ। त्यसै गरी यसका लागि पनि सामुदायिक बीउ बैंकका सदस्यहरुको तत्परता तथा श्रमदान आवश्यक हुन्छ। यस्तो अवस्थामा केही सदस्य काममा लागिरहने र केही सदस्य कहिल्यै पनि देखा नपर्ने हुन्छन्।

(रामचन्द्र जोशी/कृषि तथा पशु वन विज्ञान संस्थान, लमजुङ क्याम्पस)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्