सिंहदरबारमा भुसाल, रायमाझी र गजुरेलको छुट्टै बैठक

Youth_Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका दोस्रो पुस्ताका नेताहरू पार्टीभित्र देखिएको विवाद समाधानका लागि सक्रियता बढाउन थालेका छन्। नेतृत्व तहमा बढ्दो टकरावले पार्टी विभाजन हुने खतरा देखिएपछि पार्टीका दोस्रो पुस्ताका नेताहरूले सक्रियता बढाउन थालेका हुन्।

नेकपाभित्र विवाद चुलिएका बेला कृषिमन्त्री घनश्याम भुसालको नेतृत्वमा केही नेताहरुले आइतबार सिंहदरबारमा भेटका छन्। दुई अध्यक्षहरुलाई संवाद र सहमतिमा ल्याएर कसरी पार्टी एकता कायम गर्ने विषयमा मन्त्री भुसालसहित टोपबहादुर रायमाझी र हरिबोल गजुरेलले छलफल गरेका छन्।

प्रधाममन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाए लगत्तै दोस्रो तहका नेताहरु पनि छलफलमा जुटेको बुझिएको छ। नेकपा सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले संवादका वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालय पाँच सदस्यहरुले ओलीलाई सचिवालय बैठक बोलाउन शनिबार लिखित आग्रह गरे पनि ओलीले मानेका छैनन्।

उनीहरुका बीच नेकपामा बढेको ध्रुविकरण र आन्तरिक द्धन्द व्यवस्थापनका बारेमा छलफल भइरहेको बुझिएको छ। पार्टीभित्र अल्पमतमा रहेका ओलीले कार्यकारी अध्यक्ष ‘प्रचण्ड’सँग विवाद बढेपछि लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेका छन्। पार्टीभित्र आफूमाथि दबाब बढ्दा ओलीले वरिष्ठ नेताहरुसँग छुट्टाछुट्टै पनि भेट गर्दै आएका छन्।

यसअघि पनि प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए। तर, नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका छन्। नेपालले प्रधानमन्त्री ओलीसँग छलफल गर्न आफूनिकट मानिने नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई साथमा लिएको बताइएको छ। सोही क्रममा मन्त्री भुसालको नेतृत्वमा सिंहदरबारमा दोस्रो पुष्ताका नेताहरुले पनि छलफललाई तिब्रता दिएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्