सुरेन्द्र पाण्डेविरुद्ध सुनियोजित दुव्यवहार गरियोः प्रवक्ता श्रेष्ठ

NarayanKaji_Shrestha
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन्। उनले नेता पाण्डेमाथि सुनियोजित रूपमा दुर्व्यवहार गरिएको पनि बताए।

श्रेष्ठले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।’

प्रवक्ता श्रेष्ठले सुरेन्द्र पाण्डेविरुद्धमा नाराबाजी गर्न कहिबाट प्रोत्साहित गरिएको आशंका व्यक्त गरेका छन्। उनले यस्ता गतिविधिले कसैको पनि हित नगर्ने बताएका छन्। उनले लेखेका छन्, ‘यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।’

शनिवार चितवनको राप्ती नगर पार्टी बैठकमा मन्तव्य राखिरहेका बेला कार्यक्रममा सहभागी केही व्यक्तिहरूले नेता पाण्डेविरुद्ध नाराबाजी गरिएको थियो। नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताहरूले उक्त घटनाको भर्त्सना गरेका छन्। पाण्डेविरुद्ध सुनियोजित रूपमा केही व्यक्तिहरूले अभद्र व्यवहार गरेको ठहरसहित छानबिन गरी कडा कारबाही गर्न माग उनीहरूले गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्