स्थायी समितिका निर्णय मान्न महासचिवले गरेको आग्रह ओलीले लत्याए : प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष केपी शर्मा ओलीबाट स्थायी कमिटीका निर्णय अवज्ञा भएको बताएका छन्। अध्यक्ष ओलीले आफै सहमति जनाएको र स्थायी कमिटीबाट सर्वसम्मत रूपमा पारित भएका पार्टी निर्णयमा फेरि आपत्ति जनाएर उक्त निर्णय नमान्ने सङ्केत गरेको प्रचण्डको आरोप छ।

उनले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘लामो बहस र संघर्षपछि पार्टीलाई फुटबाट बचाउने प्रयासस्वरुप कमरेड महासचिवको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरी त्यसको प्रतिवेदनका आधारमा स्थायी कमिटीले ठोस प्रस्ताव पारित गर्‍यो। तर, कमरेड केपी ओलीले अ.पा.नि. तयार पार्दा नै उक्त निर्णयप्रति मुख्यतः दुई अध्यक्षको कार्य विभाजनमा असहमति जनाएर विरोध गर्नुभयो। आफैँले पहिले सहमति जनाएको, सचिवालय र स्थायी कमिटीबाट सर्वसम्मत रूपमा पारित भइसकेको विषयमा आपत्ति गरेर कमरेड ओलीले स्थायी कमिटीका निर्णय नमान्ने सङ्केत गर्नुभयो।’

पार्टी भित्रको विवाद समाधान गर्न गठित कार्यदलले कुनै विवादास्पद निर्णय नलिन आग्रह गरेको समयमा ओलीले पार्टीका शीर्ष नेता विरुद्ध तल्लो स्तरमा उत्रेर गाली गलौज गर्ने पात्रहरूलाई छानिछानी नियुक्त गरेको प्रचण्डले उल्लेख गरेका छन्। ओलीको उक्त कार्य उनी महासचिव पौडेल नेतृत्वको कार्यदलप्रति गम्भीर नभएको प्रमाण भएको पनि उनको ठम्याइ छ।

मन्त्रिमण्डलको पुनर्गठन र विभिन्न राजनीतिक नियुक्ति गर्दा सहमतिबाट गर्ने स्थायी कमिटीको निर्णयको मर्म र भावना विपरीत एकलौटी रूपमा अन्य पक्षभित्र षडयन्त्रमूलक चलखेल गर्ने प्रयास ओलीबाट भएको अध्यक्ष प्रचण्डको भनाई छ। राजदूत लगायत अन्य राजनैतिक नियुक्तिबारे सचिवालयमा छलफल गरेर मात्र अन्तिम निर्णय लिनुपर्ने आफ्नो प्रस्तावमा सहमति जनाउँदै ओलीले एकलौटी ढङ्गले नियुक्ति गर्ने काम जारी राखेको उनको भनाई छ।

प्रदेश सरकारको पुनर्गठन थपघट सहमतिबाट गर्ने निर्णयविरुद्ध ओलीले कर्णाली प्रदेशमा दल नेताका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कार्यमा परोक्ष प्रोत्साहन गरेर प्रचण्डको आरोप छ। प्रधानमन्त्री ओलीले समस्या समाधान गर्नेभन्दा पनि गुटबन्दी र अराजकतालाई प्रोत्साहन दिने काम गरिरहेको उनको बुझाइ छ। कोभिड-१९ बढ्दा संक्रमण र त्यस सम्बन्धी गलत सरकारी नीतिका कारण जनताले पाइरहेको पीडा तथा गरिब र श्रमजीवी जन-समुदायलाई राहत दिनेबारे छलफल गर्न सचिवालयको बैठकको माग गर्दा समेत बेवास्ता गरिएको उनले उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले पार्टी एकता विरोधी अभिव्यक्ति अहिले खुल्ला रूपमा दिन थालेको उनले बताए। उनले भने, ‘पार्टी एकताका बाँकी काम पुरा गर्ने तिर होइन देशभरि नै फाउण्डेसनका नाममा गुट चलाउने र भोटर लिस्टका आधारमा प्रत्येक जिल्लामा हजारौंका सङ्ख्यामा सदस्यता वितरण गर्ने तथा पार्टी फुटको आधार तयार पार्ने काममा सक्रियता देखाइएको छ। अहिले त उहाँ आफैँ फुटका पक्षमा खुल्ला वकालत गर्न थाल्नुभएको छ। स्थायी कमिटीको बैठक पछिका कमरेड ओलीका उपरोक्त व्यवहारहरूले व्यक्तिवादी अहंकार र गुटबन्दी क्रियाकलाप सच्चाए पार्टी एकता र सहमतिको बाटो तिर होइन गुटवादी र फुटवादी दिशातिर नै अगाडि बढिरहेको तथ्यलाई स्पष्ट गर्दछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्