स्वस्थ रहने सूत्रः सन्तुलित खानपान

सन्तुलित खानपानका लागि जान्नै पर्ने पाँच विधि

Balanced_eating
लोकपाटी न्यूज

एउटा भनाइ छः तिमी त्यस्तै बन्छौ, जस्तो खान्छौँ। हाम्रो शरीरमा ५० मिलियनभन्दा बढी सेल खानाबाट बनेका हुन्छन्। मस्तिष्कका सेल पनि खानाबाट बन्छन्। अब मस्तिष्कको बनावटजस्तो छ, सोच-विचार, कार्य पनि त्यस्तै हुन्छ। त्यसकारण भोजनलाई ध्यान दिनुपर्ने हुन्छ। तर, हामी नेपालीले भोजनमा गल्ती गरिरहेका छौँ, यो मेरो मेडिकल बुझाइ हो। किनकि म अल्टरनेटिभ मेडिसिनमा ट्रेन भएको व्यक्ति हुँ।

जो व्यक्ति प्राकृतिक जीवन होइन, कृतिम वा भौतिक जीवनमा डुब्छन्, उनीहरु स्वास्थ्यप्रति लापरवाही हुन्छन्। यसको कारण शरीरमा रोग लाग्छ। यसमा खानपानको गडबडी एक ठूलो कारण हो। भोजनले शरीरको सात धातु -रस, रक्त, मासु, हड्डी, मज्जा वा शुक्र बनाउँछ। इन्द्रीयलाई उर्जा दिन्छ। भोजनले शरीरको विकास गर्ने र त्यसलाई निरोगी बनाउने काम गर्छ। त्यसैले भोजन गर्नुअघि त्यसको सही चयन गर्न सक्नुपर्छ। भोजनलाई पाँच वर्गमा विभाजन गर्न सकिन्छः कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन्स र मिनिरल्स। यी पाँच वर्गभित्र हामीले खाने सबै भोजन पर्छन्।

१. कार्बोहाइड्रेट

सबैभन्दा बढी कार्बोहाइड्रेट खान्छौँ। कार्बोहाइड्रेट भन्नासाथ जति पनि अन्न वर्ग छन्- गहुँ, जौ, मकै, कोदो, फापर र चामल र आलु-सखरखण्ड पनि कार्बोहाइड्रेटभित्रै पर्छन्। सहर-बजार क्षेत्रका मानिसले प्रायः चामल खान्छन्। नेपालका हुनेखानेले खाने भनेकै ह्वाइट राइस अर्थात् रिफाइन गरिएको चामल हो। डायबिटिज लागेपछि डाक्टरले ह्वाइट राइस खान दिँदैनन्। किनकि यो खायो भने सुगर बढ्छ। धेरै खायो भने त चामलले पनि सुगर जन्माउँछ, अझ सुगर भएका मान्छेका लागि ह्वाइट राइस विष हो।

‘ह्वाइट राइस इज ह्वाइट पोइजन’ भनेर अहिले संसारभरि नै भनिन्छ। वास्तवमा खानुपर्ने ब्राउन राइस अर्थात् नफलेको चामल हो। यदि आफूले बनायो भने, यो तुलनात्मक रुपमा सस्तो पनि हुन्छ। नेपालमा जहिले पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी फेल हुँदै आएका छन्। यसमा दुई कारण छन्, एक त एजुकेसनको क्वालिटी छैन हाम्रोमा, अर्को असन्तुलित भोजन।

ब्राउन राइस वा नफलेको भिटामिन बी वान र बी टु विद्यमान रहन्छ। तर, रिफाइन वा प्रशोधित गरिसकेपछि चामलबाट त्यो भिटामिन हट्छ। यी दुवै भिटामिनको भूमिका मेमोरी, कन्सन्ट्रेसन बढाउने र इनर्जी ल्याउने हुन्छ। मेमोरी, कन्सन्ट्रेसन र इनर्जी नबढाई विद्यार्थीले राम्रो गर्न सक्दैन। त्यसकारण हामीले ब्राउन राइस खान आवश्यक छ। हामीले ह्वाइट राइस खान थालेको धेरै भएको छैन, किनकि मिल आउनअघि हामीले ब्राउन राइस नै खान्थ्यौँ।

चामलभन्दा गहुँ उत्तम

हाम्रो परिप्रेक्ष्यमा ह्वाइट राइस अथवा चामल खाने मान्छेभन्दा रोटी खाने मान्छे बढी शक्तिशाली भएको देखिन्छ। जस्तो, हाम्रो देशमा सबैभन्दा धनी मान्छेको एउटा वर्ग छ, मारवाडी, उनीहरूले रोटी वा गहुँ खान्छन्। त्यस्तै, हाम्रोमा मिहिनेतको काम गर्ने मधेसीहरू पनि रोटी खान्छन्।

रोटी अर्थात् गहुँमा भिटामिन ई बढी हुन्छ। भिटामिन ईको मात्रा बढी हुँदा शरीरलाई पनि बढी इनर्जी प्राप्त हुन्छ। त्यस्तै, भिटामिन ईले सेक्स हर्मोन टेस्टोनटेरोन बनाउन पनि भूमिका खेल्छ। भिटामिन ई बढ्दा सेक्स हर्मोन बढ्छ, सेक्स हर्मोन बढ्दा मान्छेमा सिर्जनशीलता पनि बढ्छ। किनकि सेक्स पनि क्रियसन नै हो।

गहुँ खाँदा शरीरमा गर्मी बढ्छ, तर चामलले चिसो गर्छ। चिसो मान्छे कहीँ पनि काम लाग्दैन। चिसो मान्छे रमाइलो पनि हुँदैन। रमाइलो, क्रियटिभ मान्छे, धेरै काम गर्न सक्ने मान्छे त तातो हुनुपर्छ। भारतीय मूलका नागरिकले भात र रोटी ब्यालेन्स गरेर खान्छन्। तर, हामीले सधैँ भात मात्रै खाइरहन्छौँ। गहुँ नखानुको परिणामस्वरुप हामीलाई इनर्जी प्राप्त भएन।

गहुँभन्दा जौ उत्तम

संसारको परिप्रेक्ष्यमा गहुँ खाने मान्छे भन्दा पनि जौ खाने मान्छे शक्तिशाली भएको पाइएको छ। खासगरी सभ्यता र आधुनिक विज्ञानको विकास गर्ने मान्छेहरूले जौ खाएको पाइन्छ। युरोप, अमेरिकातिर बिहानै ब्रेक फास्ट जौबाट सुरु हुन्छ, उनीहरू जौको ओटमिल खान्छन्। उनीहरू संसारका सबैभन्दा सिर्जनशील देखिएका छन्।

पछिल्लो रिसर्चले यो देखाएको छ कि जौ यस्तो चिज हो, जसले मानिसलाई डिप्रेसन नै हुन दिँदैन, मेन्टल्ली रिल्याक्स गर्छ। जौमा यस्ता तत्त्व हुन्छन्, जुन तत्वले ब्रेनका सेल ड्यामेज हुँदा रिपेयर गर्छ। शरीरमा रहेका विकार फाल्ने काम पनि गर्छ। जस्तो, मानिसलाई रुघा लाग्छ, शरीरमा मुसा आउँछ, यो भाइरल इन्फेक्सनका कारण हुन्छ। भाइरल इन्फेक्सनको औषधि हुँदैन। ब्याक्टेरियल इन्फेक्सन हुँदा एन्टिबायोटिक्स दिइन्छ। तर, जौ खाइरहने मानिसलाई भाइरल इन्फेक्सन हुँदैन।

ह्वाइट ब्लड सेलले भाइरसलाई मार्न सक्छ। ह्वाइट ब्लड सेलको विकासमा पनि जौले काम गर्छ। त्यस्तै, डिप्रेसन हुन नदिने तत्व पनि जौमा पाइन्छ। कार्बोहाइड्रेट पाइनेमा जौ सर्वश्रेष्ठ हो। तर, हामीले जौ खाँदै खाँदैनौँ। यसकारण हामीले भोजनमा परिवर्तन ल्याउँदै जौ नियमित खान आवश्यक छ। जसरी युरोपियन र अमेरिकनहरूले पहिलो ब्रेक फास्ट नै जौ खान्छन्।

मकैले शक्ति दिन्छ

हाम्रो पहाडी भेगमा बढी मकै फल्छ र खाइन्छ। ब्रेनसँग रिलेटेड तत्व मकैमा हुँदैन। मकैभन्दा भात, गहुँ, जौ नै उत्तम हुन्छ। तर, मकैमा जति इनर्जी दिने तत्व चामल, गहुँ, जौमा हुँदैन। त्यसकारण मकै खाने मानिस बडो बलवान हुन्छ। तर, मकै पनि समग्र नेपालीले कमै खान्छन्। कतिले त खाँदै खाँदैनन्।

अमेरिकामा मैले खाने शैली गज्जबको देखेँ, उनीहरू बिहान जे खान्छन्, दिउँसो त्यो खाँदैनन्। दिउँसो जे खान्छन्, बेलुका त्यो खाँदैनन्। त्यस्तै, आइतबार जे खान्छ, सोमबार त्यो खाँदैनन्। उनीहरूले भोजनलाई घुमाइरहन्छन्। हाम्रो के छ त भन्दा भोजनलाई घुमाउने होइन आफैँ एउटै भोजनको वरिपरि घुम्छौँ।

भोजन कसरी गर्ने ?

जौको सातु किन्न पाइन्छ। अथवा जौको चिउरा जसलाई ओटमिल भनिन्छ, बिहानमा जौको परिकार खाँदा राम्रो हुन्छ। यो महँगो चिज पनि होइन। खान पनि सजिलो छ, दूध, हर्लिक्स नभए तातोपानीमा मात्रै पनि भिजाएर खान सक्छौँ । पैसा छ भने, यसमा ड्राइफुड मिसाउन सकिन्छ- छोरा, पेस्ता, बदाम, ओखर आदि।

रिसर्चले के देखाएको छ भने, बिहानको ब्रेकफास्ट नखानेहरू स्वस्थ हुँदैनन्। किनभने ब्रेकफास्ट खाएन भने सुगर लेभल तल-माथि भइरहन्छ। इनर्जी त ब्लड सुगरले नै दिने हो। त्यसैले बिहान ब्रेकफास्ट खाने मान्छे फ्रेस हुन्छ, काम गर्ने मुडमा हुन्छ। लन्चमा हामीले प्रायः ह्वाइट राइस खान्छौँ। तर, हामीले लन्चमा खानुपर्ने ब्राउन राइस हो। यसलाई भिजाएर पकाउनुपर्ने हुन्छ, पकाउनु जान्यो भने यो स्वादिलो पनि हुन्छ। ह्वाइट राइस खाँदा कति बेफाइदा हुन्छ र ब्राउन राइसले कति फाइदा गर्छ भन्ने माथि आइसक्यो।

त्यस्तै, दिउँसो हामीलाई इनर्जी चाहिन्छ। इनर्जी मकैले दिन्छ। गाउँघरमा त मकै नै भुटेर खान सकियो। तर, सहरमा मकै भुट्न, पोल्न झमेला पनि हुन्छ र सधैँ भुटेको-पोलेको मकै किन्न पनि पाइँदैन। सहरमा मकैको रेडिमेट परिकार पाइन्छ- कोर्नफ्लेक्स। अन्य चिजभन्दा यो तुलनात्मक रुपमा सस्तो पनि छ। यसलाई पनि दूध, हर्लिक्स वा तातोपानीमा खान सकिन्छ।

अब आयो, डिनर। डिनरमा रोटी भइदियो भने अति उत्तम। तर, रोटी मैदाको नभएर आँटाको हुनुपर्छ। मैदा पनि ह्वाइट राइसजस्तै हो। किनभने, मैदा रिफाइन गरिएको हुन्छ। रिफाइन गर्दा थुप्रै आवश्यक चिज पनि नष्ट पुग्छन्। गहुँ उसिनेर भातजस्तै पकाएर पनि खान सकियो। दिनभरि यसरी मिलाएर खाँदा हामीले शरीरलाई आवश्यक थुप्रै तत्व खान सक्छौँ। त्यस्तै, कोदो र फापरलाई पनि बेला-बेला, हप्ता-हप्ता खान सक्छौँ। कार्बोहाइड्रेट पाइने यी चिजमा पनि फरक-फरक तत्व हुन्छन्।

त्यसकारण स्वस्थ रहन हामीले मिलाएर अझ भनौँ समावेशी प्रकारको खाना खानुपर्छ। कार्बोहाइड्रेटको कार्य भनेको शरीरलाई इनर्जी दिने नै हो। जसरी मोबाइलले काम गरिरहन ब्याट्री वा इनर्जी चाहिन्छ, त्यसरी नै शरीरले पनि काम गर्न छोड्छ। इनर्जीको मूल स्रोत कार्बोहाइड्रेट नै हो। कार्बोहाइड्रेट पनि रिफाइन वा प्रशोधित होइन, कम्पाउन्ड वा मिश्रति नै खानुपर्छ।

२. प्रोटिन

कार्बोहाइड्रेटमा हामीले जसरी गल्ती गर्यौँ, प्रोटिनमा पनि गरिरहेका छौँ। प्रोटिनमा माछा, मासु, अण्डा, दूध, दही र बोट-बिरुवाबाट आउने गेडागुडी नै पर्छन्। प्रोटिनले शरीरलाई के गर्छ ?

हरेक मिनेटमा शरीरका कोषहरू बिग्रँदै र भत्किँदै गइरहेका हुन्छन्, लाखौँ कोषहरू मरिरहेका हुन्छन्। यदि प्रोटिन पुगेन भने नयाँ सेल बन्दैन। प्रोटिनमा इमिनो एसिड पनि हुने भएकाले यो ब्रेनका लागि आवश्यक छ। यदि इमिनो एसिड ब्रेनमा पुगेन भने मान्छे एकाग्र हुन सक्दैन। एकाग्र हुन पनि आवश्यक मात्रामा भिटामिन बी वान र प्रोटिन चाहिन्छ।

एल-फेनिलालानाइन भन्ने एमिनो एसिडको वर्ग छ, यो पुगेन भने बच्चाहरूले पढ्न-सिक्न सक्दैनन्। किनभने, एकाग्र हुन सक्दैन। रोचक के छ भने, अहिलेसम्म साइन्समा नोबेल पुरस्कार जित्नेहरूमा प्रायः मासु खाने छन्। किनकि, माछामासुमा प्रोटिन पाइन्छ। भन्नुको मतलब, बढी दिमागको काम गर्नेका लागि एमिनो एसिड आवश्यक हुन्छ, यो प्रोटिनमा पाइन्छ।

रातो मासुले रोग हुर्काउँछ

प्रोटिनमा पनि हामीले रेडमिट (रातोमासु) खाइरहेका छौँ, जसमा चारखुट्टे जनावर पर्छन्। कसैले खसी खान्छन्, कसैले राँगा, कसैले सुँगुर-बँदेल खान्छन्। सुँगुर वा खसी खानु एउटै कुरा हो। यी सस्तो-महँगो जे भए पनि, सबै रेडमिटले शरीरलाई एकै प्रकारको असर गर्छ। वैज्ञानिक रिसर्चले रेडमिट शरीरका लागि हानिकारक रहेको देखाएको छ। यो मासु पोलेर खाँदा क्यान्सर हुने सम्भावना हुन्छ। यो मासु पोल्नासाथ क्यार्सिनोमास विकास हुन्छ, यसले क्यान्सर बनाउँछ।

रेडमिटले पाँचभन्दा बढी रोग त सीधै हुर्काउँछ। पहिलो, यसले कोलेस्टेरोल बढाउँछ। कोलेस्टेरोलकै कारण ब्लड प्रेसर बढ्छ। ब्लड प्रेसरकै कारणले मुटुको रोग लाग्ने सम्भावना हुन्छ। मुटुको रोगका कारण पक्षघात हुने सम्भावना हुन्छ। युरिक एसिड बढेपछि दुखाइ बढ्छ। अर्को, क्यान्सर लाग्ने पनि सम्भावना हुन्छ। यी रोग हुर्काउन रेडमिटको भूमिका हुन्छ। तर, हामी नेपालीले प्रायः रेडमिट नै खान्छौँ।

ह्वाइट मिटका फाइदा

हामीले खानुपर्ने ह्वाइट मिट हो- चिकेन, माछा। यो सस्तो पनि छ। चिकेन खाँदा माथिका रोग हुर्कने चान्स कम हुन्छ। विभिन्न पन्छी पनि ह्वाइट मिटमा पर्छन्।

पहिला मानिसहरू जंगलमा बस्थे। मानिसले सभ्यता सिकेको १०-१२ हजार वर्ष मात्रै भयो। जंगलमा बस्दा चारखुट्टे जनावर मारेर खान्थे होला। जब मानिसहरू नदी वा समुद्र किनारमा आएर बस्न थाले, तब सभ्यता सुरु भएको पाइएको छ। किनभने, यिनीहरूले माछा खान थाले। माछा खान थालेपछि मान्छेहरूको बुद्धि र्यापिड्ली विकास भएको पाइएको विभिन्न खोजले देखाएको छ।

अधिकांश ब्रेन फ्याटबाट बन्छ। ब्रेनको फ्याट र माछामा पाइन फ्याट मिल्छ। माछामा पाइने फ्याटलाई ओमेगा थ्री भनिन्छ, यो भनेको तेल वा फ्याटको एउटा जात। ओमेगा थ्री ब्रेन फ्रेन्ड्ली हुन्छ। डिप्रेसन छ, ब्रेनले राम्रो काम गरेको छैन भने ओमेगा थ्रीले राम्रो गर्छ। अहिले माछाको तेल मात्रै पनि पाइन्छ। अब माछाको तेल खानु राम्रो, किनकि यसले ब्रेनको विकास गर्छ। माछा अन्य मासुभन्दा सस्तो पनि छ। तर, नेपालीले माछा कति ठाउँमा पाउँदैनन्, पाउने ठाउँमा पनि खासै खाँदैनन्।

अमेरिकातिर पनि भेजिटेरियन हुन्छन्, तर उनीहरूले अण्डा खाइरहेका हुन्छन्। हाम्रोमा कति भेजिटेरियन अण्डा पनि नखाने हुन्छन्। उनीहरूले गेडागुडी खान सक्छन्। भट्टमासमा सबैभन्दा बढी प्रोटिन पाइन्छ। गेडागुडीमा भिटामिन बी-१२ पाइँदैन। यो माछामासु, दूध-दहीमा पाइन्छ। भिटामिन बी-१२ पुगेन भने पनि ब्रेन सोलो हुन्छ। त्यसैले माछामासु, अण्डा नखानेले दूध-दही खानुपर्छ। यी खाना नखाँदा भिटामिन बी डिफिसेन्सी हुन्छ, यो भनेकै डिजिज अर्थात् रोग हो। भिटामिन बी-१२ को कमीले आउने रोगबाट बच्न पनि माछामासु, अण्डा नखाने हो भने दूध-दही रेगुलर खानैपर्छ।

३. फ्याट

फ्याट भनेको चिल्लो वा तेल। शरीरलाई फ्याट चाहिन्छ, फ्याट भएन भने शरीर न्यानो बनाउँछ, इनर्जी पनि दिन्छ। फ्याट भएन भने शरीरमा आवश्यक हर्मोन बन्दैन, मान्छेको साइकोलजी नै डाउन हुन्छ। यो फ्याट पनि त्यति धेरै होइन, थोरै नै भए पुग्छ। र, फ्याटका स्रोत धेरै हुन्छन्- मकै, चामलमा पनि पाइन्छ।

चिल्लोमा पनि सबैभन्दा घटिया भनेको ट्रान्स फ्याट हो। यो शरीरका लागि अझ भनौँ ब्रेन र बडीका सबैभन्दा हानिकारक हुन्छ। यो फ्याट जनावरको बोसोमा पाइन्छ। जुन हामी नेपालीले प्रायः खाइरहेकै हुन्छौँ। डाइरेक्ट बोसो नखाए पनि मःमः खान्छौँ। मःमःमा बढी नै बोसो हुन्छ। अर्को ट्रान्स फ्याटको स्रोत वनस्पति हो। यो अझ मःमः भन्दा खतरनाक छ। प्रायः बजारमा पाइने मिठाई वनस्पति घिउबाटै बन्छन्। वनस्पति घिउ बनाउन सात सय डिग्री उमाल्नुपर्ने हुन्छ, यसो हुँदा यसमा भिटामिन मिनिरल्स बच्दैनन्, यो घिउ प्लास्टिकजस्तै हुन्छ।

कुन तेल उत्तम ?

भट्टमासको तेल, सनफ्लावरको तेल फ्याटका लागि ठीकै हो, तर उत्तम चाहिँ होइन। बेस्ट तेल भनेको ओमेगा-थ्री नै हो, जसको स्रोत आलस हो। आलस तराईमा उत्पादन हुन्छ, पहाडमा हुँदैन। यो सस्तो पनि छ, तर हामी खाँदैनौँ। तराईमा पनि गरिबले मात्रै खाएको पाइन्छ। हुनेले पनि यो बेचेर अर्कै तेल ल्याउँछ। हामीकहाँ ओमेगा-थ्री विदेशबाट क्याप्सुलमा आउँछ। किनकि डक्टरले यो खान सिफारिस गरिरहेका हुन्छन्। तर, यसको स्रोत हामीकहाँ पाइने आलस नै हो।

हामीले तोरीको तेल खान्छौँ, जुन अमेरिकामा ब्यान छ। अमेरिकामा ल्याब टेस्ट गर्दा तोरीमा युरुसिक एसिड देखियो, जुन स्वास्थ्यका लागि हानिहारक छ। अर्को स्वास्थ्यका लागि फाइदाजनक लिनोलेनिक एसिड पनि पाइयो। तर, एउटा मात्रै राम्रो भएर भएन, अर्को नराम्रोले स्वास्थ्यलाई हानि नै गर्ने भयो। योभन्दा राम्रो त भट्टमास, सन फ्लावर नै हुन्छ। युरोप अमेरिकातिर जैतुनको तेल खान्छन्। तर, जैतुन हाम्रोमा त्यति उत्पादन भइसकेको छैन, यो महँगो पनि छ। त्यसकारणका हाम्रा लागि सबैभन्दा उत्तम आलसको तेल नै हो।

४. भिटामिन र मिनिरल्स

भिटामिन र मिनिरल्सको वर्ग फरक भए पनि काम एउटै हुन्छ। यी दुवैलाई प्रोटेक्टिभ फुड अर्थात शरीरलाई रक्षा गर्ने खाना भनिन्छ। हामीलाई रोग लाग्नै नदिने वा रोग प्रतिरोध गर्ने भिटामिन र मिनिरल्स नै हो। खानामा जति भिटामिन र मिनिरल्स हुन्छ, त्यति नै हामीलाई रोग लाग्दैन। जति कम हुन्छ, त्यति नै रोगले आक्रमण गर्छ।

प्राकृतिक चिकित्साको सिद्धान्तअनुसार रोग भनेको विकार जम्नु र उपचार भनेको विकार फाल्नु हो। तर, मेडिकल साइन्सले अहिले हजारभन्दा बढी रोग पत्ता लगाइसकेको छ। प्राकृतिक चिकित्साले यी हजारभन्दा बढी रोगलाई रोग नभनेर रोगका लक्षण भन्छ। जस्तो, आँखामा समस्या आयो, आँखाका धेरै थरी रोग हुन्छन्। ती रोग भनेकै विकार जमेको हो। विकार फाल्यो भने रोग जान्छ। त्यस्तै घाँटीमा विकार जम्यो भने टन्सिल हुन्छ, यसका पनि धेरै कारण हुन्छन्। भन्नुको मतलब धेरैतिर विकार जमेका हुन्छन्। जेहोस्, शरीरमा विकार जमेर नै रोग देखिने हो। विकार जम्नै नदिने वा जमिसकेको भए हटाउने हो भने स्वस्थ भइन्छ। भिटामिन र मिनिरल्सले शरीरका विकार फाल्ने काम गर्छ।

भिटामिनको मूल स्रोत तरकारी, सलाद, फलफूल हुन्। तर, हामी धेरैको फलफूल खाने सोच नै हुँदैन। जस्तो, बेलाबेला मासु खाएजस्तै बेलाबेला फलफूल खान सकिन्छ, त्यो पनि हामी गर्दैनौँ। सलाद पनि हामी धेरैले खाँदैनौँ। हाम्रोमा एक टुक्रा मुला र एक-दुई टुक्रा प्याजको नाम नै सलाद हुन्छ। तर, गि्रन सलाद हुनलाई झन्डै पाँचथरीका काँचै खान मिल्ने साग र त्यसमा मुला, गाजर, प्याज, लसुन, कागती, खुर्सानी लगायत मिसाएर सलाद बनाउनुपर्छ। यसो भयो भने, खानामा भिटामिन र मिनिरल्सको कमी हुँदैन र हामी स्वस्थ रहन्छौँ। -डा. योगी विकाशानन्द

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्