हङकङस्थित नेपाली रेष्टुरेण्टमा आगलागी, ७ नेपालीको मृत्यु

लोकपाटी न्यूज

काठमाडौं। हङकङको याउमातेइस्थित एक नेपालीको रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात नेपालीको मृत्यु भएको छ। आइतबार राति यस्तो घटना घटेको राजकुमार राईले जानकारी दिए।

आगलागीमा परी १७ जना घाइते हुनुका साथै ७ जना गम्भीर घाइते भएको उल्लेख गरिएको छ। घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन।

हाल हङकङ सरकारका प्रमुख कार्यकारी क्यारी लाम निरीक्षणको क्रममा घटनास्थलमा रहेको राईले फेसबुकमार्फत् जानकारी दिएका छन्। नेपालीको एक समूहले बर्थ डे पार्टी मनाई रहंदा आगलागी भएको बताइए पनि आगलागीको कारण भने खुल्न सकेको छैन। एक पुरुष झ्यालबाट हाम्फालेर र अन्य तीन जनाले भागेर ज्यान जोगाएका छन्। घाइतेहरु अधिकांश नेपाली छन्।

घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा लगिएको छ। प्रत्यक्षदर्शीका अनुसार आगलागी जिरे खुर्सानी नाम गरेको नेपालीद्वारा संचालित रेष्टुरेण्टमा भएको हो। करीव ८:३५ बजे शुरु भएको आगलागी नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो।

आगो द्रुत रूपमा फैलिदै गएपछि धेरै पटक विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताए। फायरफाइटर र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन्। हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्। लामले सम्बन्धित विभागहरुलाई बचेकाहरूलाई मद्दत गर्न र आगलागीको कारण पत्ता लगाउन निर्देशन दिएकी छन्।

गैर आवासीय नेपाली संघ, हङकङका महासचिव गोकर्ण ढकालले उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्