होस्टेलको रकम एकमुष्ट नतिरेको भन्दै एमबिबिएसका दलित विद्यार्थी परीक्षा फारम भर्नबाट रोकिए

money
लोकपाटी न्यूज
0 Shares

सप्तरी। होस्टेलको रकम एकमुष्ट बुझाउन नसकेपछि विशेष छात्रवृत्तिअन्तर्गत एमबिबिएस अध्ययनरत तीन दलित विद्यार्थीलाई कलेजले परीक्षा फारम भर्नबाट वञ्चित गरेको छ।
वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत सप्तरी छिन्नमस्ता गाउँपालिकाका दिनेशकुमार मरिक (डोम), जानकी मेडिकल कलेज जनकपुरमा अध्ययनरत सर्लाहीका निर्मल राम र पतञ्जली आयुर्वेद मेडिकल कलेजमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमार राम परीक्षाको फारम भर्नबाट वञ्चित भएका छन्।

धुलिखेलमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमारको बिल चार लाख ७५ हजार पुगेको छ। ‘चार लाख ७५ हजारको बिल छ, पैसा नतिरेको कारण अहिलेसम्म मेरो रजिस्टेसनसमेत भरिदिएको छैन। कति दिन कलेजले गेटबाट फर्काइदिएको छ,’ उनले भने।

नेसनल मेडिकल कलेजमा अध्ययनरत दिनेशकुमारका बुबा युक्तिलालले ब्याजमा पैसा खोजेर मंगलबार छोराको परीक्षा फारम भर्न कलेजलाई अनुनयविनय गरे । तर, कलेजले पूर्ण भुक्तानी नगरेसम्म फार्म भर्न नदिने अडान कायमै राख्यो । यस विषयमा बुझ्न कलेजका निर्देशक बसरुद्दिन अन्सारीलाई फोन गर्दा उठाएनन्।

त्यस्तै, जानकी मेडिकल कलेजमा अध्ययनरत निर्मल रामलाई पनि कलेजले होस्टेलको खर्च नतिरेको भन्दै परीक्षा फारम भर्न दिएको छैन। ‘मैले कलेज प्रशासनसँग होस्टेल खर्चपछि तिर्ने सर्तमा फारम भर्न दिन चार–चार घन्टा आग्रह गर्दासमेत दिइएन,’ उनले भने, ‘मैले प्रदेश २ का मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयमा गत फागुनमै निवेदन दिएको र त्यहाँबाट सहयोग पाए तत्काल कलेजको रकम तिर्ने प्रतिबद्धता गर्दासमेत कुनै सुनुवाइ भएन।’

दुई वर्षअघि पनि नेसनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनत सर्लाहीको ईश्वरपुर नगरपालिका– १ का रुकेश राम र उनका भाइ प्रमोद राम दोस्रो वर्षको परीक्षा दिनबाट वञ्चित भएका थिए। राम दाजुभाइ त्यसविरुद्ध शिक्षा मन्त्रालय पुगेका थिए। त्यहाँबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न भनियो। तर, प्रमुख जिल्ला अधिकारीले कलेजविरुद्ध उजुरी दर्ता गर्नै मानेनन्।

त्यसपछि राम दाजुभाइले प्रदेश २ सरकारसँग गुहार मागे । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभाअन्तर्गतको महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा गत मंसिर ८ गते उजुरी पनि दिएका थिए ।नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्