कपोकल्पित र तथ्यहीन सूचना सम्प्रेषण नगरौंः सञ्चारमन्त्री

Parwat_Gurung
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा आइतबार आयोजित ‘इन्जा ग्लोबल मिडिया कन्फरेन्स २०२०’ विश्व सम्मेलनमा उनले जनतालाई सही सूचना प्रवाह गरी पत्रकारिता क्षेत्रको गरिमा बढाउने पाटोमा विशेष ध्यान पुर्याएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिए।

भर्चुअल माध्यममा भएको सम्मलेनमा मन्त्री गुरुङले भने, ‘जनतालाई जागृत र सुसूचित गर्दै पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ, समाजमा रहेका अनियमिता, बेथितिलाई अन्त्य गरौँ, सूचना कपोकल्पित र तथ्यहीन ढङ्गबाट प्रवाह नहोस्।’

परम्परागत सोच र दृष्टिकोणबाट पत्रकारिता क्षेत्र रूपान्तरित हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व हो। आग्रह र पूर्वाग्रबाट नभई ‘मिसन’ पत्रकारिताका लागि रूपान्तरित सोच बनाउनुपर्छ।’

विश्वमा छरिएर रहेका नेपाली पत्रकारलाई एकीकृत गर्दै संकटमा परेका पत्रकारको हकहित र व्यावसायिक लागि इन्जाले पुर्‍याउँदै योगदानका मन्त्री गुरुङले प्रशंसा गरे। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्र, मानवअधिकार, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आएको नेपाली पत्रकारिता निकै जिम्मेवार रहेकाले यस क्षेत्रलाई थप व्यावसायिक मर्यादित तुल्याउन काम गरिरहेको बताए।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले कोभिड-१९ बाट नेपालमा तीन हजार १०० पत्रकारले रोजगार गुमाएका, पाँच जनाको ज्यान गएको तथा ४०० जना संक्रमित भएको जानकारीमूलक तथ्यांक प्रस्तुत गर्दै स्वच्छ र मर्यादित पत्रकारितालाई अनुशरण गर्न सबैसँग आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्