‘केपी ओली समस्या हुन्, प्रचण्ड समाधान हुन्’

KP_Prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व खेलकूदमन्त्री दलजीत श्रीपालीले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रको समस्याको सूत्रधार भएको बताएका छन्। पार्टीमा उत्पन्न समस्याको जरो केपी ओलीको गलत प्रवृत्ति र शैली भएको उनको तर्क छ।

आफूले गरेका गल्ती, कमी कमजोरीलाई अर्कैको टाउकोमा थोपरिदिने, आफू सही छु भनी आत्मरति लिने काम पार्टी र देशको जिम्मेवार पदमा रहेको व्यक्तिबाट हुनु दुःखद भएको श्रीपालीको टिप्पणी छ। सचिवालय बैठकमा पेस गरेको जवाफी प्रतिवेदनमा ओलीले आत्मालोचना र आलोचनाको आभास समेत नदिएको बताएका छन्। एकता, संघर्ष र रूपान्तरणको विषयमा प्रतिवेदन नबोल्नुले ओली प्रवृत्तिलाई छर्लङ्ग बनाएको उनले बताए।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको प्रयत्नबाट पार्टी एकताको रक्षा हुँदै आएको श्रीपालीले बताएका छन्। पार्टीमा उत्पन्न विवाद समाधानमा प्रचण्डले निरन्तर योगदान गरेको उनको भनाई छ। उनले भनेका छन्, ‘पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने काममा कार्यकारी अध्यक्ष र उहाँको टिम निरन्तर लागिरहेको कुरा पनि प्रस्टै छ।’

यस्तो छ श्रीपालीको विचारः

मंसिर ३ गते, नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदन ‘आधिकारिक प्रतिवेदन’ थियो। यसलाई बहुमत सचिवालय सदस्यले हाम्रो साझा दस्ताबेज भनेका थिए। बैठकमा उपस्थित अर्का अध्यक्षको लागि पनि यो राजनैतिक प्रतिवेदन थियो।

राजनैतिक, सैद्धान्तिक, विधान, पद्धति र प्रणालीमा आधारित उक्त राजनैतिक प्रतिवेदनले ‘केपी प्रवृत्ति’लाई पनि उजागर गरेपछि अतालिएर अर्का अध्यक्षले १० दिनको समय मागेर समय किल गर्ने, आफ्ना कमजोरी पैल्याई दिने विरोधीहरुलाई तह लगाउने र रिस पोख्ने कुत्सित मनसायका साथ ‘जवाफी प्रतिवेदन’ ल्याउने तयारी गरे। यसैअनुसार प्रतिवेदन लेख्न आफ्ना गुटका ‘राजनैतिक खेताला’हरूलाई खटाउनु भएको जगजाहेरै छ।

बहुप्रतिक्षीत मंसिर १३ गते शनिवारको नेकपा-सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीबाट राखिएको स्पष्टीकरण सहितको धारणाबाट पार्टी एकता सुदृढ हुने अपेक्षा सबैले गरेका थिए। दुर्भाग्य: ओलीको दम्भ, अहमता, घमण्ड, प्रतिशोध, आक्रोश, रिस, धम्कीले भरिएको पार्टी फुटतर्फ धकेलिएको प्रस्तावले ८ लाख पार्टी सदस्य, नेता, कार्यकर्ता र शुभचिन्तक जनतालाई निराशाको सन्देश प्रवाह गरेको छ। प्राविधिक रूपमा पार्टी एकता र सत्ताका बनावटी शब्द जालमा आधारित प्रतिवेदन देश, जनता, पार्टी र स्वयंको लागि पनि हितकर छैन।

अध्यक्ष केपी शर्मा ओली साँच्चिकै पार्टी फुटाउन निकै सक्रियतापूर्वक लागेका छन् भन्ने सत्य तथ्य प्रमाण हो-३८ पेज-५३ बुँदे प्रस्ताव। केही समय यता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन गरेका सत्य तथ्य प्रमाण छन्- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रीय कमिटीको सफल बैठकपछि आफ्ना गुटको भेला गरेर प्रचण्ड र माओवादीलाई एकल्याउन पर्छ र आफ्नो गुटको गतिविधिलाई व्यवस्थित रूपमा अगाडि बढाउनु पर्छ भनेर निर्णय गर्नु, कोरोना कहरबीच दल विभाजनको अध्यादेश ल्याएर पार्टी फुटाउने कदम चाल्नु,निर्वाचन आयोगमा-नेकपा (एमाले) दर्ता गर्नु,स्थायी कमिटीको बैठकका निर्णयलाई उलंघन गरी मदन भण्डारी फाउन्डेसनको नाउमा गुटको बैठक, भेला प्रशिक्षण जस्ता गतिविधिलाई वडासम्म सञ्चालन गर्नुले पनि अध्यक्ष केपी शर्मा ओली पार्टी फुटको नेतृत्व गरिरहेका छन् भन्ने कुरा प्रष्टै छ। पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने काममा कार्यकारी अध्यक्ष र उहाँको टिम निरन्तर लागिरहेको कुरा पनि प्रष्टै छ।

अध्यक्ष केपी शर्मा ओली नै पार्टी भित्रको समस्याको सूत्रधार हुन्, उहाँका गलत प्रवृत्ति र शैली नै जिम्मेवार छन्, समस्याको जरो केपी नै हुन। जवाफी प्रतिवेदन नाम दिइएको स्पष्टीकरण र उहाँका धारणाहरूमा आत्मालोचना र आलोचनाको आभासै छैन। एकता,संघर्ष र रुपान्तरणको उच्चारण नै छैन।

पार्टी र देशको राजकीय पदमा रही जिम्मेवारी बोध गर्नेतिर नभई आफूले गरेका गल्ती, कमी कमजोरीलाई अर्कैको टाउकोमा थोपरिदिने र आफू सही छु भनी आत्मरति लिने काम उहाँबाट भएको कुरा दिउँसोको घाम झैँ छर्लङ्गै छ।
अध्यक्ष नछाड्ने र प्रधानमन्त्री बनिरहने योजनाका साथ रहेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष क.प्रचण्डले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनलाई अस्वीकार गर्छु भन्दै यति उच्च पदमा आसीन नेतृत्वले “बालपन” देखाएका छन्।

कार्यकारी अध्यक्ष क. प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई राजनैतिक, सैद्धान्तिक बहसको चुनौती समेत दिइसकेका छन्। अर्का अध्यक्षले बैठक बसाल्दैन, निर्णय मान्दैन त भनिरहेका थिए- फेरि पार्टी विधान विपरीत बोल्दै बहुमतको निर्णय नमान्ने धम्की समेत दिन पछि परेका छैनन्। जहिले पनि आफूसँग असमहती राख्ने,प्रतिवाद गर्न सक्ने जो कोहीलाई पार्टी एकता विरोधी बिल्ला भिराई सिध्याउने काममा अध्यक्ष केपी शर्मा ओली खप्पिस छन्।

यसैको ताजा प्रमाण हो-मंसिर १३ गते शनिवार बसेको नेकपा सचिवालय बैठकमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको जवाफी प्रतिवेदन। यसले पार्टी फुटको संकेत गरेको छ, यसलाई ‘नेकपा विभाजनको लिखित पत्र भन्न सकिन्छ’।

राजनैतिक, सैद्धान्तिक बहसलाई केन्द्रित गर्दै देश र जनताको भाग्य र भविष्यको फैसला गर्ने,सुखी नेपाली समृद्ध नेपालको योजना पूरा गर्न, जनताको जनवाद हुँदै समाजवाद/साम्यवादको रणनीतिक कार्यदिशा कार्यान्वयनमा कार्यकारिणी अध्यक्ष क. प्रचण्डको राजनैतिक प्रतिवेदन नै आधिकारिक र महत्त्वका साथ लिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्