नागरिक जनप्रतिनिधिसँग डराउने अवस्था आउनुहुँदैनः मन्त्री अर्याल

Padma_Aryal
लोकपाटी न्यूज
0 Shares

स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नभएर आवश्यकताका आधारमा विकास हुने बताएकी छन्। मन्त्री अर्यालले भनिन्, ‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन। जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ।’

उनले विकासको दृष्टिकोणबाट निकै अघिरहेको बताइन्। उनले विकासको वर्गीकरण गरेर तीन तहका सरकारबीच समन्वयमा विकासका कार्यक्रम अघि बढाउनु पर्ने उनको भनाई थियो। ‘सरकार तीव्र विकासको गतिमा हिँडेका छ। यो हामीले मात्र भनेका हौईनौं। यो त अन्तर्राष्ट्रिय मुल्यांकनले नै भनेको छ,’ उनले भनिन्।

मन्त्रीअर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत गरेको बताइन्। उनले भौतिक संरचनासँगै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरणसमेत व्यवस्थापन हुने र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच पुग्ने बताइन्। मन्त्री अर्यालले आजै वालिङ र भीरकोटमा समेत अस्पताल शिलान्यास गर्ने कार्यक्रम छ।

उनले भनिन्, ‘आज एकै दिन ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ। स्वास्थ्य क्षेत्रमा यति ठूलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ति हो। स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने सुरुवातको सरकारले उद्घोष गरेको छ।’ भौतिक संरचनासँगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुने उनले बताइन्। उनले स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने बताइन्।

मन्त्री अर्यालले जनताको सेवकका रुपमा काम गर्न पनि जनप्रतिनिधिसँग आग्रह पनि गरिन्। ‘सबै जनप्रतिनिधिलाई पद जनताले दिनुभएको हो। हामी जनप्रतिनिधि ठूला मान्छे होइनौँ, पद त जिम्मेवारी हो,’ उनले भनिन्, ‘जनता हामी देखि डराउने, कुरा गर्न नसक्ने हुनुहुँदैन। हामी त जनताको सेवक हौँ। उहाँहरूको सेवा गर्न उहाँहरू ले नै हामीलाई यो पदमा पठाउनु भएको हो। यो स्थानमा पठाउनुभएको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्